वर्ल्डलिंकले भित्र्यायो नेपालकै द्रूत इन्टरनेट सेवा, गति अब कम्तिमा पनि १५० एमबीपीएस

नेपालको सबैभन्दा ठूलो ईन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले नेपालमै पहिलो पटक ६ सय एमबीपीएस गतिको ईन्टरनेट भित्र्याएको छ। 

उपभोक्तालाई सुपथ मूल्यमा उच्च गतिको ईन्टरनेट सेवा दिने उद्देश्यसहित यो प्याकेज ल्याइएको वर्ल्डलिंकले जनाएको छ। यसमा नोकिया बेकन ३.० राउटर प्रयोग हुनेछ।

योसँगै वर्ल्डलिंकको ईन्टरनेटको स्पिड अब कम्तिमा पनि १५० एमबीपीएस गतिको हुने कम्पनीले घोषणा गरेको छ। उपभोक्ताले पहिलाको भन्दा पनि सस्तो मूल्यमा कम्तिमा पनि १५० एमबीपीएस गतिको ईन्टरनेटको अनुभव गर्न पाउने छन्।

घरायसी उपभोक्ताले अब वार्षिक १४ हजार ४ सय रुपैयाँ अर्थात् मासिक एक हजार दुई सय रुपैयाँमै १५० एमबीपीएस गतिको ईन्टरनेट उपभोग गर्न पाउने छन्। १५० एमबीपीएस सहित २२५ एमबीपीएस र ३ सय एमबीपीएस गतिको ईन्टरनेट पनि पहिलाको भन्दा कम मूल्यमा उपभोग गर्न पाइने कम्पनीले जनाएको छ।

‘वर्ल्डलिंक सधैं उपभोक्तालाई सस्तो मूल्यमा गुणस्तरीय ईन्टरनेट सेवा दिन तल्लिन छ। नेपालको ईन्टरनेट स्पिडलाई विश्वमै प्रतिस्पर्धी योजना बनाउने अनुरुप हामीले नयाँ योजना सार्वजनिक गरेका हौं,’ वर्ल्डलिंकका निर्देशक मनोज अग्रवालले भने।

विभिन्न तथ्यांकले देखाए अनुसार विश्वमा औसत ईन्टरनेटको स्पिड ८० एमबीपीएस हारारारीमा छ भने नेपालमा ईन्टरनेटको औसत स्पिड २२ एमबीपीएस छ। साढे पाँच लाख परिवारलाई ईन्टरनेटसँग जोडेको वर्ल्डलिंकले नयाँ योजना सार्वजनिक गरेसँगै नेपालको औसत स्पिड कम्तिमा पनि ८० एमबीपीएस पुग्ने अपेक्षा छ।

काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रमका बीच वर्ल्डलिंकले आफ्नो नयाँ योजना सार्वजनिक गरेको छ। उच्च गतिको ईन्टरनेट स्पिडले उपभोक्तालाई घरमै बसेर कार्यालयको काम गर्न, भिडियो हेर्न, अनलाइन कक्षामा संलग्न हुनका साथै विभिन्न गेम खेल्नको लागि निकै सहज हुने वर्ल्डलिंकको अपेक्षा छ।

वर्ल्डलिंकका हालका प्रयोगकर्ताहरुले नयाँ योजनामा सहजै सहभागी हुन सक्ने छन्। यसको लागि डुअल व्याण्ड भएको राउटर मात्रै आवश्यक पर्नेछ।

यो योजनाले ईन्टरनेट सेवाग्राहीको वाई–फाई कभरेज, स्पिड कम हुने समस्या समाधान गर्ने वर्ल्डलिंकको विश्वास छ । उपभोक्तालाई गुणस्तरीय सेवाको प्रत्याभूति गर्न वर्ल्डलिंकले मर्मत सेवालाई प्रभावकारी बनाउँदै लगेको छ ।

प्रकाशित मिति: : 2021-12-19 13:00:00

प्रतिकृया दिनुहोस्