डाक्टर सा'ब म चामल बेचेर जचाउन आएको हुँ
बिन्ती मलाई खाली पेटमा खाने दबाई दिनुस्।
पालुङ्गटारका प्रदीप रोदनको यो शेर आज पनि गरिबी चित्रण गर्न उत्तिकै प्रयोग गरिन्छ। २०७० सालबाट गजल लेख्न सुरु गरेका प्रदीपले २०७५ पछि धेरै मञ्चमा आफूलाई प्रस्तुत गरिसके।
स्वतन्त्र र बहर दुवै विधामा कलम चलाउने प्रदीप गजललाई व्यावसायिक बनाउनुपर्छ भन्ने मान्यता राख्छन्। उनै गजलकार प्रदीपसँग उकेराकर्मी ईश्वरकुमार मैनालीले मलाई मनपर्छ कोलमका लागि गरेको कुराकानीको अंश, प्रदीपकै भाषामा।
००
नेपाली गजलमा मुलतः बहर र स्वतन्त्रका दुई धार देखिएको छ। एकले अर्काको अस्तित्व स्वीकार नगर्ने अवस्था आएको छ। तर जति बेला मैल गजल लेख्न सुरु गरें त्यस समयमा यो विवादले यति आक्रामक रूप लिएको थिएन।
मलाई गजलको 'यो धार ऊ धार'भन्दा पनि गजल, गजल जस्तो लेख्न सकौं भन्ने लागिरहन्छ। म त्यसमा नै अभ्यासरत पनि छु। यी दुईबीचको समस्या सुत्रमा गएर अड्किएको छ। तर सबैलाई एकै प्रकारको सुत्रमा हालिरहँदा नवीनता नआउने पनि हुन्छ।
सुत्रात्मक लेख्न सक्नले लेखौं। त्यसमा विवाद हुँदैन। त्यो गजल नै रहन्छ। तर मलाई दुःखको, पीडाको, आक्रोशको भाव व्यक्त गर्ने कुनै ठोस सुत्र हुन्छ जस्तो पनि लाग्दैन।