समयको रफ्तारसँगै फट्को मारिरहेको प्रविधिले हामीलाई प्रशस्त अवसर दिइरहेको छ। र, चूनौती पनि। मानिसको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको मेडिकलको क्षेत्रमा पनि नयाँ–नयाँ प्रयोग हुँदै आइरहेको सत्यलाई निस्तेज गर्न सकिदैन। विभिन्न रोगको महामारी उत्पन्न भइरहँदा न्युनिकरण र नियन्त्रणको लागि आधुनिक तवरले खोज तथा अनुसन्धान हुँदै आइरहेका छन्। जुन सुन्दर पक्ष हो।
यसैबीच विश्वकै मेडिकल क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएका नेपाली हुन्, चिन्तामणि लामिछाने।
त्यसो त, आजभन्दा करिब आठ वर्षअघि उनै लामिछानेको बारे नागरिक दैनिकमा एउटा फिचर्स छापिएको थियो। जुन, मैले नै लेखेको थिएँ। वास्तवमा लामिछानेलाई क्षणिक लोकप्रियता र चर्चाको कुनै लोभ छैन। न उनी समाचारहरुमा देखिन चाहन्छन्, न उनी अरु झैँ हल्लामा रम्न।नागरिक दैनिकमा फिचर्स प्रकाशित भएयता मात्रै पनि उनले अहिलेसम्म आधा दर्जनभन्दा बढी नयाँ खोज तथा अनुसन्धान गरिसकेका छन्।
आठ वर्षयताको आफ्नो खोज तथा अनुसन्धानको अभ्यासलाई सम्झदै उनी भन्छन्,‘खोज, मान्छेहरुको आवश्यकता जस्तै हुन्, एउटा आविष्कार भएपछि अर्काे आवश्यकता झन् खड्किदो रहेछ।’
हाम्रो प्रत्येक भेटमा मलाई उनी जीवनप्रतिको सकारात्मक उर्जा र प्रेरणा बोकेको कुनै विमानजस्तो लाग्छ। उनी सुनाउँदै भन्छन्,‘मान्छेको जीवन एकदम तिब्र गतिमा दौडिन्छ। जसरी पृथ्वीको घुमिरहने गतिलाई मान्छेले अनुभव गर्न सक्दैन, त्यसैगरी आफू दौडिरहेको क्षणलाई मान्छेहरुले अनुभूति गर्न मात्र नसक्ने हुन्।’
पशु–पंक्षीमा लाग्ने रोगको पहिचान तथा निवारणको लागि सन् १९९० दशकमा पहिलोपल्ट अमेरिकामा आधुनिक प्रविधिको विकास भयो। उक्त प्रविधिको प्रणेता लामिछाने नै थिए। यस्तो पनि भन्न सकिन्छ कि उक्त प्रविधिको खोज तथा अनुसन्धानमा खटिएका वैज्ञानिकहरुको नेतृत्व उनले गरेका थिए।
‘साँच्चिकै त्यो खोज हाम्रो लागि ठूलो उपलब्धी थियो’, उनले प्रफुल्लित हुँदै भने।
यसरी बने विशेषज्ञ र वैज्ञानिक
उनको बचपन सामान्य नै थियो, सामान्य नेपालीहरुको जस्तै। गाउँबाटै सुरु भएको आफ्नो यात्राप्रति उनलाई कहिल्यै केही गुनासो छैन।
पर्वतको कुश्मामा जन्मिएका लामिछानेले पद्मोदय मा.वि काठमाडौंबाट सन १९७३ मा एसएलसी पास गरे। परिवार चितवनमा बसाइँ सरीसकेको थियो, त्यसैले घरपायक पर्ने रामपुर कलेजमा भर्ना भए। घरमा बाबुले प्रशस्त गाइभैँसी पालेका थिए। पशुको उपचार गर्न मद्धत पुगोस् भन्ने इच्छासहित उनी पनि भेटनरीतिरै लागे। त्यतिबेला गाउँमा भेटनरीको पनि राम्रै क्रेज थियो। राम्रै सम्भावना थियो।
गाउँका पुराना दिनहरु सम्झेर आत्मीय बन्दै उनी सुनाउँछन्,‘त्यतिबेला गाउँमा भेटनरी पढेका मानिस कमै थिए। त्यसपछि मैले पनि भेटनरीको स्कोप राम्रो देखेँ र यहीँ विषय पढ्छु भन्ने निर्णय गरेँ।’
कृषि विज्ञानअन्र्तगत रामपुर क्याम्पसबाट आइएस्सी सकाएपछि अविकसित दक्षिण एसियाली मुलुकहरुका लागि सुरु गरिएको कोलम्बो प्लानअन्तर्गत छात्रका लागि आवेदन दिन गोरखापत्रमा सूचना निस्कियो। पास हुन सक्यो भने भारतमा भेटनरी डाक्टर पढ्न पाईने। सन् १९७५ मा आवेदन दिएर अन्तर्वार्ताको लागि उनी काडमाडौं पुगे। अन्तर्वार्तामा सकेजति राम्रो प्रस्तुति दिए। नाम निस्कियो पनि, उनको।
लामिछानेलगायत अन्य आठ जनाले भारतको हरियाणा एग्रिकल्चर युनिर्भसिटीमा भेटनरी डाक्टर पढन पाउने भए। ‘गाईवस्तुका पारखी बुवालाई झन् सहयोग मिल्ने भयो’ भन्दै निधारभरी खुसीको रंग धसेर उनी भारतको हरियाणा एग्रिकल्चर युनिर्भसीटीतिर लागे।
चार वर्षपछि हरियाणा एग्रिकल्चर युनिर्भसीटीबाट उनले भेटनरी डाक्टर सकाए। र फेरि फर्के नेपाल। स्वदेश फर्किएपछि भने उनलाई रोग लाग्यो। कुन रोग? भन्ने बारे उनलाई पनि थाहा भएन। यहीँ अनपेक्षित घटनाले लामिछानेलाई सोच्न बाध्य बनायो, ‘रोगको पहिचान नगरेसम्म उपचार गर्न सकिँदैन। रोग पहिचानको लागि प्रविधिको विकास जरुरी हुन्छ।’
मस्तिष्कमा एउटा सोचले साम्राज्य तयार गरेपछि उनीभित्रको अध्ययनको भोक अझै मेटिएन। उच्च अध्ययनको लागि उनले नेपालमा सम्भव देखेनन्। अमेरिका, अष्ट्रिेलिया, ब्रिटेनजस्ता मुलुकहरुले त्यो बेला जेहन्दार र उत्कृष्ट विद्यार्थीहरुका लागि छात्रवृत्ति प्रदान गर्दै आएको थियो। यहीँ समयलाई पक्रेर उनले अवसरहरु खोज्न थाले।
अन्ततः अष्ट्रेलियन सरकारले पिएचडीका लागि आवेदन खोल्यो। र माइक्रो वायोलोजी तथा भाइरोलोजीको सोधका लागि आवेदन दिए, लामिछानेले।
‘मेरो नाममा छात्रवृत्ति स्वीकृत भयो, जुन मेरो लागि असाध्यै खुशीको कुरा थियो। र, चूनौती पनि’, उनले छाला चाउरी पार्दै मुस्कानसहित सुनाए।
सन् १९८८ मा अष्ट्रेलियाको जेम्सकुक युनिर्भसीटीबाट उनले माइक्रो वायोलोेजी तथा भेरोलोजीमा पीएचडी सकाए। उनले सन ९० को दशकको आवश्यकतालाई मध्यनजर गर्दै आविष्कार सुरु गरे।
त्यसताकाको क्षणलाई उनले सम्झिए,‘सन ९० को दशकमा मेलै गरेको सोध र खोज नौलो मात्र होइन, यसको आवश्यकता बजारमा जताततै थियो।’
युनिर्भसिटी अफ मेरील्याडको अफर
माइक्रो वायोलोेजी तथा भाइरोलोजीमा गरेको चार सय आठ पेजको रिसर्च बुझाउन नभ्याउदै अमेरिकास्थित मेरील्याण्डमा रहेको युनिर्भसिटी अफ मेरील्याडबाट उनलाई जागिरको प्रस्ताव आइसकेको थियो।
युनिर्भसिटी अफ मेरील्याण्डबाट सुरु भएको उनको वैज्ञानिक खोजको यात्राले अहिले तीन दशक छुन थालिसकेको छ। उनको नेतृत्वमा गरिएका चार दर्जनभन्दा बढी खोज र उत्पादनहरुलाई बजारमा ल्याउन अमेरिकन सरकाले स्वीकृती दिएको छ। उनको नाममा सयभन्दा बढी अनुसन्धान पुस्तिका प्रकाशित भएका छन्। संसारभरीका पोल्ट्री उद्योगहरुले उनको खोजअन्तर्गत रहेर काम गर्दै आएका छन्।
युनिर्भसिटी अफ मेरील्याण्डका तत्कालिन भेटनरी मेडिसियन डिपार्टमेन्टका प्राध्यापक डेविड स्नाइडरले ‘तिमी तत्काल अमेरिका आउ’ भनेर पठाएको आवापत्रको सूचना सम्झदैं लामिछाने बताउँछन्,‘मेरो लागि त्यो जीवनको सर्वाधिक हर्षको क्षण थियो।’
सन १९८९ को फेब्रअरीमा अमेरिका छिरेका लामिछानले दुई वर्षभित्र नयाँ खोज पत्ता लगाइसकेका थिए। ‘मैले गरेको पोल्ट्रीहेल्थ मेनेजमेन्ड एण्ड डिजीज प्रोफाइलिं सिष्टमको आधुनिक आविष्कार अमेरिकी पोल्ट्री इतिहासका लागि सुनौलो खोज थियो’, लामिछाने गर्वका साथ अगाडी बताउँछन्, ‘आजकल मलाई गर्व लाग्छ कि संसारभरीका पोल्ट्री उद्योगहरुले मेरो खोजअन्तर्गत काम गर्छन्।’
लामिछानेको खोजले सफलता र बजार पाउन थालेपछि निजी कम्पनीहरु पछि लाग्न थाले। केपीएल मेडिकल रिसर्च कम्पनीले लामिछानेले गरेको खोजलाई विश्व बजारमा ब्यापारीकरण गर्न सफल भयो। र, लगत्तै लामिछाने ‘फ्लुडिटेक्ट’ नामक प्रविधि बजारमा ल्याए। वर्डफ्लु रोगको पहिचान र निवारणका लागि उनले पत्ता लगाएको आधुनिक खोजले उनलाई अमेरिकन वैज्ञानिकहरुको भीडमा नयाँ अनुहार स्थापित गरिदियो। उनी सबैको चासोको पात्र बने। एनिमल हेल्थ एण्ड डाइनोसिष्ट सिष्टमका लागि सफल भएका यी खोजहरु वास्तवमा ऐतिहासिक थिए। पन्ध्र मिनेटभित्र वर्डफ्लु रोग पत्ता लगाउन सकिने उनको खोज अहिले विश्वबजारमा प्रचलित छ ।
क्षमता भयो भने अरर्बौ डलर लगानी भएका कम्पनीहरु पनि पछि लाग्छन् भन्ने उदाहरण दिए, लामिछानेले।
सन २००० मा लामिछानेले काम गर्ने केपिएल नामक मेडिकल रिसर्च कम्पनीले सिम्वायोडिक नामक मेडिकल रिसर्च कम्पनीमा समायोजन हुने निर्णय गर्यो। सिम्वायोडिकका तत्कालिन निर्देशक पल रजनीकले एउटा महत्वपूर्ण शर्त अघि बढाए, ‘चिन्तामणि लामिछानेले काम गर्न साइन गरे भनेमात्र म कम्पनी गाभ्ने निर्णय गर्न सक्छु।’
अर्बाैंं डलर मुल्यबराबरको कम्पनीको भविश्य लामिछानेको निर्णयमाथि भर पर्यो।
लामिछानेले ‘मलाई वासिंटन डिसी छोडेर अर्काे शहरमा जान इच्छा छैन’ भन्दासमेत पनि निर्देशक पल रोजनीकले निर्णय गरे, ‘तिम्रो लागि ल्याब मेरील्याण्डै बनाइदिन्छु।’
नभन्दै, अहिले युर्निभसीटी मेरील्याण्डको नजिकै लामिछानेको ल्याव छ। उनीअन्तर्गत १० जना वरिष्ठ वैज्ञानिकहरुले मेरील्याडमैै रहेर काम गर्दै आएका छन्।
लामिछानेले जुन कम्पनीमा काम गरेर नयाँ खोज गरे, त्यो कम्पनीको मुल्य आकाशिदै गयो। र, अन्त्यमा उनले नेतृत्व गरेको सिम्वायोडिक नामक मेडिकल रिसर्च कम्पनीलाई समेत २०१० मा बहुराष्ट्रिय कम्पनी फाइजरले निर्णय गर्यो। तर, कुनै पनि कम्पनी लामिछानेबिना नचल्ने भए।
मैले गरेका खोजहरु मेरा सन्तान हुन्, र यी नै सन्तानहरुका कारण म सफल वैज्ञानिक भएको हुँ’, लामिछाने खुशी साट्दै बताउँछन्।
सन २०१६ मा उनले फाइजरबाट पनि बिदा मागे। र अर्को कम्पनी स्थापनाको लागि जुटे। अनुभवले खारिएका लामिछाने स्थापना गरेको नयाँ कम्पनीले पनि सफलता पाउन धेरै समय लागेन।
‘बायोटेक ल्याबरेटोरिजले चार वर्षभित्र गरेको नयाँ खोजहरुले हामीलाई स्थापित हुन समय लागेन’, उनले थप्दै सुनाए।
बायोटेक ल्याबरेटोरिजको आन्तरिक सफलतालाई बाहिरकनट हेरिरहेको हेस्का कर्पोरेशनले गत महिना लामिछानेको नेतृत्वमा स्थापना भएको बायोटेक ल्याबरेटोरिजलाई किन्ने निर्णय गर्यो।
‘हामीले पत्ता लगाएका र्यापिडट्ष्टहरु अत्याधुनिक छन्। अब यी सबै सम्पत्ति हेस्कोको हुने छन्’, उनले जानकारी गराए।
लामिछाने अब १.८९ बिलियन डलरको कम्पनी हेस्काका वरिष्ठ उपाध्यक्षको हैसियतले सल्लाकारको नेतृत्वमा रहँदै आएका छन्।
लामिछानेको विचारलाई स्वीकारोक्ति गर्ने हो भने, नेपालमै खोज र सम्भावनाका ढोकाहरु प्रशस्त छन्। ‘मलाई अब नेपालमा पशु स्वास्थ्य क्षेत्रका लागि काम गर्न मन छ’ लामिछानेले इच्छा व्यक्त गरे।
उनी भन्छन्,‘ संसारमा नयाँ खोज र नयाँ आविस्कारका लागि कतै उब्जाउ भूमि बाँकी छ भने, त्यो नेपाल हो।’
त्यसो त, बहुराष्ट्रिय कम्पनीलाई पनि नेपालमा जान सल्लाह दिन र त्यसका लागि योजना बनाउन सक्नेसमेत हैसियत राख्छन्, उनी । तर, त्यसका लागि राजनीतिक स्थायीत्व चाहिले उनको ठम्याई छ।