३० वर्षदेखि राष्ट्रिय अभिलेखालयमा कार्यालय सहयोगी रहेका कमलप्रसाद न्यौपानेले अभिलेखालय शाखाको जिम्मेवारीसँगै पुराना अक्षर पढ्ने र कार्यालय प्रमुखलाई समेत बुझाउने गरेका छन्।
हरेक दिन राष्ट्रिय अभिलेखालयमा कम्तिमा १० देखि १२ जना आगन्तुक ऐतिहासिक दस्तावेजको खोजी र अध्ययन गर्न आउँछन्। तीमध्ये कोही अभिलेखायलयमै बसेर कागजात अध्ययन गर्छन् भने कतिले डिजिटल प्रति लिएर जाने गरेका छन्।
केही दिनअघि गोरखापत्रको पुरानो अंक खोजी गर्दै एकजना अध्येता राष्ट्रिय अभिलेखालय आइपुगे। आफूलाई चाहिएको गोरखापत्रको पुरानो अंक लिएर उनी अभिलेखालयको अध्ययन कक्षमा बसेर पत्रिका पल्टाउन थाले। उनले लापरवाहीपूर्वक पत्रिकाका पाना पल्टाएको देखेर अभिलेखालय शाखाका कमलप्रसाद न्यौपानेलाई सही नसक्नु भयो।
न्यौपाने ति व्यक्तिको नजिक पुगेर पुराना कागजपत्र संवेदनशील हुने भएकाले होशियारीपूर्वक पल्टाउन आग्रह गरे। 'च्यातौंलाझैं गरेर पत्रिका पल्टाएको देखर मन थाम्न सकिनँ र सम्झाएँ,' उनले भने। ऐतिहासिक कागजपत्रमा जो कोहीले गर्ने लापरवाही उनी सहन सक्दैनन्। तर सबैले उनको कुरालाई सकारात्मक रूपमा लिँदैनन्।