टेलिभिजनमा कार्यक्रम चलिरहेको थियो- ‘सुमनसँग’। अतिथि थिए, पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्ट। कार्यक्रम सञ्चालक सुमन खरेल पञ्चायतकालीन हस्ती विष्टका राजनीतिक अनुभवहरू उप्काउँदै थिए। मेरो ध्यान भने पृष्ठभूमिमा झुन्डिरहेको बाघको छालामा अडिएको थियो।
२७ साउन २०७३ को त्यो कार्यक्रम विष्टकै बैठक कोठामा छायाङ्कन भएको सञ्चालकले पहिल्यै उद्घोष गरिसकेका थिए। मैले अचानक कैदीहरू सम्झिएँ। वन्यजन्तु सम्बन्धी अपराधमै पक्राउ परेका तिनलाई मैले भर्खरै जेलमै गएर भेटेको थिएँ। कानूनको नजरमा वन्यजन्तु शिकार मात्र होइन, तिनका अङ्ग ओसारपसार र सङ्ग्रह पनि अपराध हो।
तर, यहाँ त्यही ‘अपराध’ मुलुकका लब्धप्रतिष्ठ व्यक्तिको बैठकको शान बनिरहेको थियो। हेर्नुपर्ने निकायहरू देखेको नदेख्यै गरिरहेका थिए। वन्यजन्तु अपराधमा कसैलाई कारबाही अनि कसैलाई चाहिं वाहवाही किन? मेरो मनले चाहेको यो प्रश्न कार्यक्रम प्रस्तोताले सोधेनन्। बाघको छालालाई केवल ‘आखेटोपहार’ देखेका उनले त्यो ‘अपराधको चिनो’ हुने सम्भावनातर्फ शायद ध्यानै दिएनन्। अन्तर्वार्ता टुङ्गियो। हामीले उक्त आखेटोपहारको वैधता बुझेर गैरकानूनी भए दोषीसम्म पुगी कारबाही गर्न सामाजिक सञ्जालमा गुहार्यौं। हेलो सरकारमा उजुरी दियौं। तर, अन्य गुनासोको तत्काल उत्तर दिने सरकार यसपालि मौन बस्यो।