जुम्लाको तापक्रम माइनस ६ पुगिसकेको छ। चिसोले कठ्याङ्ग्रिने डरले पाका उमेरका वृद्धवृद्धाहरु तराई झरिसकेका छन्।
सरकारी कार्यालयका हाकिमहरु पनि मधेश झर्दैछन्। तर पचास वर्ष नाघेका जुम्ला सिंजाकी ढोल्यौनी बुढा र उनका श्रीमान पल्ल बुढा भेडाको ऊनको स्वीटर बुनेर बेच्नलाई जुम्ला बजार बुगेका छन्।
उनीहरु हरेक वर्ष जसो स्वीटर बिक्री गर्न खलंगा झर्छन्। त्यसबेला जुम्ला बजारलाई उनीहरुकाे काेसेली हुन्छ, तातो स्वीटर।
जुम्लामा बस्ती विकास भएदेखि नै भेडा पालन हुँदै आएको छ। भेडा परम्परागत यातायातका साधन सँगै ऊनकाे लागि पनि उपयोगी छन्।
भेडा पालनका बहुआयामिक लाभ छन्। भेडाकै ऊनबाट ओड्ने ओच्छ्याउनेदेखि लिएर लगाउने कपडा (जसलाई पाखाे भनिन्छ) सम्म बन्दै आएको छ।
बजारको विस्तार र नयाँ-नयाँ डिजाइनका कपडाहरुकाे सहज उपलब्धता भएपनि जुम्लाको चिसो मौसमबाट सजिलै बच्न ऊनी कपडा प्रभावकारी देखिन्छन्। त्यसैले बुढा दम्पत्ति हरेक वर्षजसो ऊनीका स्वीटर बोकेर छकल्या पानीको लेक काटेर खलंगा झरिरहन्छन्।
हरेक वर्ष कम्तिमा एक सय स्वीटर बुनेर बजारमा आउने उनीहरुले यो सिजनमा ५० वटा स्वीटर बोकेर बजार आए। दुई दिन अगाडि सिंजा काँडागाउँबाट भारी कसेर बजार पसेका उनीहरु एक दिन बास बसे। भाेलिपल्ट बजार आएका उनीहरुले आधा स्वीटर एकै दिनमा बिक्री गरे।
‘बुन्नमात्रै पड्यो हजुर बजार ल्याएपछि त टिपाटिप भइजान्छन्,’ ढोल्यौनीका श्रीमान पल्ल बुढाले भने, ‘बुन्न बढी समय लाग्छ। तीन चार दिन गरी एक स्वीटर बुनिन्छ।’
बुढा दम्पती हरेक वर्ष स्वीटर बुनेर मात्रै एक लाख पचास हजार रुपैयाँसम्म। कमाउँछन्। यो स्वीटर बुन्नु उनीहरुको मुख्य पेशा होइन।
‘यो हाम्रो ओभर टाइममा गरेकाे काम हो। घरको अरु काम गर्दा गर्दै बिहान साँझ गरेर बुनेका हुन् यी,’ श्रीमान पल्लले भने, ‘पचास भेडा पालेको छु। तीनबाट ऊन आउँछ। गाउँघरमा अरुका पनि भेडा छन्। तीनको ऊन पनि किन्छु। त्यसैलाई कातेर डोरी बनाएर स्वीटर बुन्छु। आम्दानी राम्रै भइरहेको छ।’
ताखु कात्ने काम लेकगाड गर्दागर्दै, अरुसँग गफ गर्दागर्दै पनि गर्न सकिन्छ। जुम्लीहरुका लागि यो सबैभन्दा हल्का काम हो। जसबाट दोहोरो फाइदा लिन सकिन्छ।
भेडा चराउने अधिकांश जुम्लीहरु ताखु कातिरहेका भेटिन्छन्। घुम्ती व्यापारका माहिर जुम्लीहरु ताखु कात्दै ऊनको डोरी बनाउँदै हिंडिरहेको दृश्य देख्न सकिन्छ।
यसरी आफूलाई फुर्सद राख्न नरुचाउने उनीहरुलाई बाहिरका मान्छेहरु काम बढी गरिरहने भनेर व्यंग्य पनि गर्छन्। यसैक्रममा दाङका एक जना देउडा खेलाडीले जुम्लीलाई होच्याउनलाई गाएको देउडा गीत जुम्लामा निकै प्रचलित छ।
जुम्ला जान्या जुम्ली दाइको, काम कति हुँदो हो?
चौबीस घण्टा हात खाली नाई, सित्ति मन रुँदो हो ??
अरुले जेसुकै भनेपनि जुम्लीहरु काममा रमाउन सिपालु छन्। हरेक कामबाट दोहोरो फाइदा लिनु उनीहरुका लागि गौरवको विषय बनिदिन्छ। त्यसैले बुढा दम्पती स्वीटर बुन्ने पार्ट टाइक काम गर्न लागेका हुन्।
उनीहरुले बुनेका स्वीटरको रंग एकैनासको भएपनि त्यसमा भरिएका बुट्टा फरकफरक छन्। मौरीपोले, पिपलपाते, परआँखेलगायतका बुट्टा भरेका छन्। अरुले लगाएका स्वीटरमा भरिएका नयाँ खालका बुट्टा देख्ने बित्तिकै उनीहरु दुरुस्तै बनाउन सक्छन्।
एउटा स्वीटरकाे १५ सयदेखि २५ सयसम्म पर्छ। झट्ट हेर्दा महंगाे लागेपनि ऊनीका कपडा लगाउनुका अनेक फाइदाहरु छन्। पल्ल बुढाले भने, ‘ऊनी कपडा लगाउँदा खाना हजम हुन्छ। जसबाट ग्यास्ट्रिककाे समस्या आउँदैन। ढाड दुख्दैन, प्रेसर हाइ हुँदैन। अरू धेरै फाइदा छन्।’
उनीहरुले घरमा पचास वटा भेडा पालेका छन्। भेडाकाे ऊन वर्षकाे दुई पटक काट्न मिल्छ। असाेजमा संकलन गर्दा एउटा भेडाकाे ऊनबाट दुईवटा स्वीटर बन्छन् भने चैतमा आधा स्वीटर जति बन्छ। उनीहरु आफैंले पालेका भडाकाे साथै अरु ऊन पनि खरिद गरेर स्वीटर बुनिरहेका छन्।