ललितपुर पाटनका बासिन्दा हुन्– अमीर शाक्य।
उनी करिब तीन दशकदेखि कला–साधनामा क्रियाशील छन्। उनी माटोबाट देवता बनाउँछन्। क्यान्भासमा कुचीले रंग भरेर कला सिर्जना गर्छन्।
उनी सानै थिए। छिमेकमा अग्रजहरु मूर्ति बनाउँथे। विगतलाई स्मरण गर्दै उनले बिएल नेपाली सेवासँग भने, ‘ठूला मान्छेले मूर्तिहरु, चित्रहरु बनाएको देख्दा खुब राम्रो लाग्थ्यो। चाख दिएर हेर्ने गथेँ म। हेर्दाहेर्दै माटो त देउता पो बन्थ्यो ! त्यसैले म माटोसँगै भुल्थेँ।’
अमीरले काठमाडौंको एउटा कलेजबाट ‘मास्टर्स डिग्री’ गरे। अनि अरु मानिसजस्तो जागीर पनि खाए, ‘प्राइभेट’ कम्पनीमा। तर, काममा उनलाई रुचि भएन। त्यसैले उनी केहीँ महिनामै कामबाट निस्किए।
‘प्राइभेट कम्पनीमा तलब राम्रो हुन्थ्यो तर मनै लागेन’, उनले सम्झिदै भने, ‘त्यसैले कामबाट सदाका लागि छुट्टी लिए। सरकारी जागिरबाट खुशी हुन नसकेकाले छोड्ने निधो गरेँ।’
बुढेशकालमा पेन्सन पाक्ने र स्थायी हुने हुनाले सरकारी जागीर भन्नेबितिक्कै मान्छे हुरुक्क हुन्छन् तर उनले किन छाडे त ? ‘जागिर त भएँ तर पनि मेरो मनमा शान्ति भएन। त्यसैले सरकारी जागिर छोडेँ।’
२०४८ सालताका उनले कलाकारितामै ‘करिअर’ बनाउने निधो गरे। अनि माटोसँग खेल्न थाले। माटोलाई देवताको आकार दिँदै त्यसलाई रङ्गाउन थाले।
‘सरकारी जागिर गर्दा नपाएको सन्तोष माटोलाई भगवानको आकार दिँदा पाउन थालेँ। अनि यही पेशा गर्छु भनेर अठोट गरेँ’, जागिर छाडेपछिको अवस्था याद गर्दै भने।
०५४ सालमा परिवारकै राजीखुशीमा उनको विवाह भयो। काठमाडौंकी शर्मिला शाक्यसँग। जो पेशा एक स्वास्थ्यकर्मी हुन्। उनी पनि अमीरको काममा हातेमालो गर्छिन्। ‘मेरी जहान स्वास्थ्यकर्मी भए पनि मलाई काममा सघाउने गर्छिन्’, उनले भने, ‘मैले काम गरेको देखेर नै उनले पनि सिकेकी हुन्।’
कामप्रतिको उनको समर्पणमा श्रीमतीको साथ थपियो। त्यसपछि उनले केहीँ नयाँ गर्ने सोच बनाए। ‘चित्र र मूर्ति त सबैले बनाउने गर्छन् तर मलाई त्योभन्दा केही अलग गर्न मन थियो’, उनले भने। अमीरले आफूले सोचेकोजस्तो काम गर्नका लागि सुरुमा माटो, काठ र रङहरु भेला पारे।
काठको साँचोमा माटोबाट विभिन्न प्रकारका भगवानका मूर्ति बनाए। त्यसलाई कुचीले रङगाउन थाले। जसलाई ‘आर्ट हुइथ क्यार्फ’ भनिन्छ। हेर्दै आकर्षक बनेको उनको कला अरुको भन्दा फरक बन्यो।
‘सुरुमा नयाँ काम गर्दा गाह्रो त भइहाल्छ’, पहिलो अनुभव सुनाउँदै उनले भने, ‘तर काम गर्छु भन्ने सोच थियो। कहिले हरेश खाइनँ।’
पछिल्लो समय उनको कलाको निकै चर्चा हुने गरेको छ। उनका सिर्जना देखेर सबैले भन्ने गर्छन्– आहा ! कति सुन्दर चित्र, कति राम्रा मूर्ति !’
आफ्ना सृजना नौलो भएको बताउँदै उनले भने, ‘मैले बनाएको ‘स्कप्चर कला’ सबैले बनाउन जाँन्दैनन्। यसका लागि धेरै मेहनत र धैर्य चाहिन्छ।’
जन्मभूमि नेपालको भूगोल तुलनात्मक रूपमा छिमेकीहरुभन्दा सानो भए पनि यहाँका मानिसमा भने तारिफयोग्य गुण भएको उनले बताए।
‘देशका सबै मानिसले कलाकारको सम्मान गर्न जरुरी छ किनकि देशलाई चिनाउने कला हो। कला बनाउने कलाकार नै रहेनन् भने कला कहाँ रहला र?’, उनले भने, ‘कलालाई बनाउने कलाकार जीवित रहनुपर्छ।’
अत्यन्तै सुन्दर लेख अनि कलाकार र कलाकृति पनि