चीनलाई पुलपुल्याउँदा आहत अमेरिका 

पछिल्लो समय चीन महत्त्वाकाङ्क्षी परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मार्फत अघि बढेको छ। अमेरिका–चीन द्वन्द्वका बाछिटाहरू विश्वमा पर्न थालेको छ। यति हुँदाहुँदै यी दुवै देशको आर्थिक सम्बन्ध यसरी जोडिएको छ कि दुवै एक–अर्कालाई अलग्याउनै सक्दैनन्।

हिमाल खबर

काठमाडौँ

सन् १९७१ मा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनका राष्ट्रिय सुरक्षा सल्लाहकार हेनरी किसिन्जर चीनको गोप्य भ्रमणमा गए। भ्रमणको उद्देश्य थियो, दुई साम्यवादी मुलुक तत्कालीन सोभियत सङ्घ र चीनबीच फाटो ल्याउनु। भूगोल र सैन्य शक्तिले मजबूत दुवै मुलुक एक भएमा अमेरिकाले शीतयुद्ध जित्न सम्भव थिएन।

चीनलाई अमेरिकाको अप्रत्यक्ष मित्र बनाउने र सोभियत सङ्घलाई एक्ल्याउने रणनीतिमा निक्सन र किसिन्जर सफल भए। ५० वर्षअघिको किसिन्जर भ्रमणले अमेरिका र चीनबीच सम्बन्ध सुधार मात्र गरेन, अमेरिकी साम्राज्यवादको विदेश नीतिमा महत्त्वपूर्ण परिवर्तन ल्याउँदै विश्व इतिहासकै कोर्स बदल्यो।

त्यस वेलासम्म चीनलाई अमेरिकाले मान्यता दिएको थिएन। दोस्रो विश्वयुद्धपछि चिनियाँ गृहयुद्धमा माओत्सेतुङ नेतृत्वको चिनियाँ कम्युनिष्ट पार्टीको सेनासँग चीनको मुख्य भागमा पराजित भएर भागेका चिनियाँ राष्ट्रवादी पार्टी (कुओमिन्ताङ)का नेता च्याङ काइसेक ताइवान गएर त्यहाँको सत्ता सम्हाले। अमेरिकाले ताइवानलाई मान्यता दियो, जसका कारण उसले राष्ट्रसङ्घीय सुरक्षा परिषद्को सदस्यता पनि पाएको थियो। तर, अमेरिका र चीनको नयाँ सम्बन्धले विश्व भूराजनीतिमै परिवर्तन ल्यायो।
 

प्रकाशित मिति: : 2021-12-15 12:01:00

प्रतिकृया दिनुहोस्