दिउँसोको करीब दुई बज्दै थियो। दार्चुलाको खलङ्गा बजारमा पारिलो घाम लागिरहेको थियो। खलङ्गा बजार घुम्दै जाँदा म तिंकर खेडा पुगें। तिंकर खेडा अर्थात् तिंकर क्षेत्रका व्यासी सौकाहरूको टोल। घुम्दै जाने क्रममा एउटा कपडा पसलको छेउ एकजना बूढा बा घाम तापिरहेका भेटिए। मैले उनीसँग गफिन चाहें र उनको छेउमा पुग्दै अभिवादन टक्राएँ ।
बूढा बा एकछिन अक्मकिए। मैले आफ्नो परिचय दिएपछि मात्रै उनी सहजरूपमा कुराकानी गर्न तयार भए। उमेर ९१ वर्ष। व्यास गाउँपालिकाको तिंकरका स्थायी बासिन्दा तर, विगत दुई दशक यता दार्चुला खंलगामा बसिरहेका शौभन सिंह तिंकरी। ‘बुढेसकाल लाग्यो, अब तिंकर जान नसक्ने भएँ, त्यसैले खलङ्गामै बसिरहेको छु’, उनले भने। एकजना पाका मान्छे भेटिएकोले म उनको जीवन भोगाइ र अनुभवहरु सुन्न आतुर थिएँ।
शौभन सिंह तिंकरी (९१ वर्ष)
मानवशास्त्री रोबर्ट देस्जारलेसको पहिलो चोटि ‘कुराग्राफी’ भनेर ह्योल्मो जातिको बारेमा ‘सेन्सरी बायोग्राफिज: लाईफ एण्ड डेथ अमोङ नेपालस् ह्योल्मो बुद्धिस्ट‘ भन्ने किताब सम्झिएँ। त्यहाँ दुईजना ह्योल्मोहरू म्हेमे लामा उर्फ घाङ लामा (८५ वर्ष) र किसाङ ओमु (८१ वर्ष) सँगको कुराकानी समेटिएको छ। उनीहरूको जीवन भोगाइ र संसार हेर्ने दृष्टि (वर्ल्ड भ्यू) बारेमा कुरा गर्दै लेखकले धेरै कुरा प्रष्ट पारेका छन्। त्यसबाट प्रभावित भएर होला म गाउँतिर पुग्दा त्यहाँका बूढा आमाबाहरुको जीवन भोगाइबारे धेरैभन्दा धेरै सुन्न प्रयास गर्छु।