सर्लाहीका रोशन जैसवालले ४० लाखमा बनाएको कांग्रेस महाधिवेशन मञ्च

सेतोपाटी

खिलानाथ ढकाल

बाराको गढिमाई नगरपालिका-४ का सन्तोषकुमार यादव १२ दिनदेखि दिनरात काठमाडौंको भृकुटीमण्डपमा भिडिरहेका छन्।

उनका साहुले नेपाली कांग्रेसको आसन्न १४औं राष्ट्रिय महाधिवेशनको मञ्च बनाउने जिम्मा लिएपछि उनी रातदिन नभनी काममा खटिएका हुन्।

उनी भृकुटीमण्डपमै काम गर्न थालेको पाँच दिन भएको छ। त्यसअघि कारखानामा काम गर्थे।

मञ्च बनाउन चाहिने सामान भृकुटीमण्डप ल्याइसकेपछि सन्तोष आफ्ना २० जना सहकर्मीका साथ काम गरिरहेका छन्। अर्डरअनुसारको कामका लागि कामदारलाई खटनपटन गर्छन्। शुक्रबार महाधिवेशन उद्घाटनभन्दा अगाडि नै मञ्च तयार पारिसक्नुपर्ने हुँदा उनी र उनका सहकर्मीलाई यसो अढेस लागेर सुत्ने फुर्सतधरि छैन।

कामको भ्याइनभ्याइले केही दिनदेखि उनीहरू आफ्नो कोठा जान पाएका छैनन्। भृकुटीमण्डपतिरै खानपिन गर्छन्। लुगा, हातखुट्टा मैला छन्। चिसोले पटपटी फुटेका छन्।

‘काम गरेपछि त्यति जाडो हुँदैन, जाडो भयो भने राति कागज, प्लाई बाल्छौं, ताप्दै काम गर्छौं,’ यादव भन्छन्, ‘कांग्रेसको काम थालेपछि एक झमट सुत्न पाएको छैन, राति शित पर्दा ओत लाग्ने ठाउँ पनि छैन।’

कांग्रेस महाधिवेशन उद्घाटनको यो मञ्च ४० लाख रूपैयाँमा ठेक्का लगाइएको हो। रोशन आर्ट सर्भिस, शंखमूलले मञ्च बनाउने ठेक्का लिएको छ।

रोशन आर्टका सञ्चालक रोशन जैसवाल हुन्। सर्लाही, चक्रभट्टा गाउँपालिका-१ का रोशन २२ वर्षदेखि मञ्च बनाउने र सजावटको काम गरिरहेका छन्।

उनका अनुसार यो मञ्च १६० देखि १८० जनासम्म अतिथि अट्ने क्षमताको निर्माण भइरहेको छ। उनले पहिले-पहिले राजनीतिक दलका साना कार्यक्रममा मञ्च बनाएका थिए। भृकुटीमण्डपमा लाग्ने ठूला मेलाहरूमा सजावट गरेका थिए।

 

प्रकाशित मिति: : 2021-12-09 19:02:00

प्रतिकृया दिनुहोस्