दलित समुदायको छुट्टै पहिचान खोज्न थाल्ने हो भने छुवाछुतप्रथा कहिलै अन्त्य हुँदैन– रामलाल विश्वकर्मा

कमल प्रभात

काठमाडौं

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट श्रमिक समुदाय मोर्चाका अध्यक्ष रामलाल विश्वकर्माले दलित समुदायको छुट्टै पहिचान खोज्दै दलितिकरण गरेर अगाडि बढ्न खोज्ने हो भने छुवाछुतप्रथा कहिलै अन्त्य नहुने बताएका छन्।

मोर्चाको हालै सम्पन्न पाँचौ राष्ट्रिय सम्मेलनका निर्णयहरुको औपचारिक घोषणा गर्न काठमाडौँमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

आफ्नो संगठनको नाम परिवर्तन गरिएको सन्दर्भका बारेमा जानकारी गराउँदै विश्वकर्माले भने,‘दलित शब्द भारतबाट आयातित हो। यहाँका श्रम गर्ने लाई वर्ण व्यवस्थाका आधारमा विभेद गरिएको हो। दलित समुदायको छुट्टै पहिचान हुनुपर्छ, दलितिकरण गरेर अघि बढ्नुपर्छ भन्ने हो भने दलित समुदायमाथि लादिएको छुवाछुतको अन्त्य गर्न सकिदैन्।’

उनले दलित समुदायको अन्दोलन पहिचान र अस्तित्वको मुद्दा नभएको बताए। मुख्य समस्या विभेद र छुवाछुतको भएको र राजनीतिक र आर्थिक रुपमा खोसिएको अधिकार प्राप्त गर्नुपर्नेमा उनले बताए।

उनले यो व्यवस्था परिवर्तन र आर्थिक प्रणालीसँग जोडिएको र सामाजिक र संस्कृति रुपमा यसको जुन समस्या छ त्यो समाधान भनेको अन्तर्घुलन, उन्मूलन र रुपान्तरणसँग जोडिएकोले आफ्नो पार्टीको नाम परिवर्तन गरेर दलित मुक्तिमोर्चा नेपालबाट श्रमिक समुदाय मोर्चा राखिएको बताए।

‘पाँचौँ राष्ट्रिय सम्मेलनबाट हामीले के निष्कर्ष निकाल्यौँ भने कुनै कालखण्डमा छरिएर रहेका दलितलाई एक ठाउँ ल्याउने, आन्दोलित गर्ने र एकताबद्ध गर्ने काम त्यातिबेला भएकै हो,’ विश्वकर्माले भने,‘दलित शब्दले दलिएको र हेपिएको प्रतिनिधित्व गर्छ तर यो समुदायको पहिचान यति मात्रै होइन, बृहत छ। कुनै बेला यो समुदाय भनेको सर्जक, निर्माता र वैज्ञानिक हो। त्यसैले नयाँ तरिकाले परिभाषित गरेका हौँ।’

वि.सं २०२४ सालपछि मात्रै दलित शब्द नेपाली दलित आन्दोलनमा प्रयोग भएको र यसले २०२९ सालमा साझा हुन पुगेको बताए। 

धनगढीमा विप्लवकाे शक्ति प्रदर्शन [फोटो फिचर]

प्रकाशित मिति: : 2021-12-06 22:06:00

प्रतिकृया दिनुहोस्