विषाक्त पुरुषत्व भनेको पुरुषलाई समाजले सिकाउने मानसिकता हो। समाजमा महिला र पुरुषबीच विभिन्न मान्यता छन्। एउटा पुरुषको काल्पनिक रूप कोरिएको हुन्छ। पुरुषले भावनात्मक हुनु हुँदैन, रुनु हुँदैन, मर्दपन देखाउनुपर्छ भनेर सिकाइएको हुन्छ।
जस्तो कि रक्षाबन्धनकै कुरा गरौँ। हामीले भाइलाई एउटा धाँगो बाँधिदिन्छौँ। उनीहरूले हाम्रो सुरक्षा गरिदिने जस्तो सोच्छौँ। यसमा दिदीबहिनी कमजोर हुन्छन् र दाजुभाइले हाम्रो सुरक्षा गर्छन् भन्ने मान्यता लुकेको छ। यही मान्यताका कारण घरबाट दिदीबहिनी बाहिर जाँदा पनि सानो भाइलाई सँगै पठाउने गरिन्छ। घरबाट बाहिर गएकी छोरीलाई ढिलासम्म नबस् भनिन्छ। लुगा लगाउन पनि नियममा बाँधिन्छ। छोटो लुगा लगाउँदा पुरुषबाट असुरक्षित हुनुपर्छ भनेर भनिन्छ। महिलालाई कमजोर हो भन्ने बनाउन समाजमा अनेक मूल्य–मान्यता प्रचलित छन्। त्यस्तै पुरुषलाई स्वाभाविक वा प्राकृतिक बन्न दिइँदैन। आफ्ना भावना व्यक्त गर्दा, रुँदा, भावुक हुँदा ‘कस्तो केटी जस्तो होस्’ भन्ने गरिन्छ। आफ्नो श्रीमतीलाई सहयोग गर्ने पुरुषलाई ‘श्रीमतीको पल्लुमा लुक्ने खालको मान्छे वा श्रीमतीले कन्ट्रोल गर्ने मान्छे’ को उपनाम दिन्छौँ।
घरको काम महिला–पुरुष जसले गर्दा पनि हुन्छ। तर, घरको काममा महिलाले बढी जिम्मेवारी लिनुपर्छ। चुलो–चौकोको काम तिमीले गर्ने हो भनेर सानैदेखि छोरीलाई सिकाइन्छ। छोरालाई घरको काममा त्यति लगाइँदैन। यसले गर्दा छोराको सोचमा पर्छ कि ‘घरको काम छोरीले गर्ने हो, मैले होइन। मैले त कमाउने हो, पढ्ने हो, लड्ने–भिड्ने हो।’