सिभिल ग्रुपका अध्यक्ष इच्छाराजविरुद्ध सहकारीसँगै अन्य क्षेत्रका पीडितको पनि उजुरी

क्यापिटल

काठमाडाैँ

सहकारीमा मात्र नभएर अन्य क्षेत्रमा पनि ठगी गरेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङकाविरुद्ध थप उजुरी पर्न थालेको छ । हाउजिङ किनेर नपाएका लगायत अन्य पीडितहरुले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा उजुरी दिन थालेका छन् ।

सिभिल सेभिङ क्रेडिट कोअपरेटिभ लिमिटेडका बचतकर्ताहरुको मात्र उजुरी आएकोमा अहिले सिभिल होम्सको पैसा भुक्तानी गरेर पनि लामो समयदेखि घर नपाएका, सिभिल ट्रेड सेन्टर (सीटीसी मल) मा पसल कबल खरिद गरेर पनि नपाएका, सिभिल भवन बनाउँदा उधारोमा समान दिएका व्यापारी र जग्गा भाडामा लिएर भवन बनाएको तर करार ऐनअनुसार भाडा नपाएका पीडितले अहिले सीआईबीमा उजुरी दिन थालेका हुन् ।

सिभिल सहकारीका बचतकर्ताका साथै अन्य क्षेत्रमा लगानी गरेर पीडित बनेकाहरुले धमाधम उजुरी दिन थालेको सीआईबीका प्रवक्ता तथा एसपी श्यामकुमार महतोले बताए । उनले पहिलो चरणमा वचतकर्ताको उजरीको अनुसन्धान पूरा गरेर मात्र अन्य क्षेत्रका पीडितको काम अघि बढाउने जानकारी दिए ।

सिभिल सहकारीका पीडित बचतकर्ताको संख्या १ हजार ४९९ जनाबाट ५ अर्ब ६७ करोड ९ लाख ७६ हजार रुपैयाँको लिखित उजुरी परेको उनले सुनाए ।  सहकारीमा रकम जम्मा गरेर नपाएका १ हजार ९०० जना मध्ये अझै ४ सय जना सम्पर्कमा आउन बाँकी रहेको प्रवक्ता महतोले बताए । सहकारीमा पैसा जम्मा गरेर पैसा नपाएका वचतकर्ता आउने क्रम जारी रहेको उनले सुनाए । 

प्रकाशित मिति: : 2021-11-29 17:20:00

प्रतिकृया दिनुहोस्