माधव नेपाललाई ‘धोका’ दिनेलाई ओलीले लगाए पाखा

बाह्रखरी

काठमाडाैँ

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि अहिले चितवनमा निर्वाचनको तयारी भइरहेको छ ।

अध्यक्षसहित उपाध्यक्ष र सचिव पदमा आकांक्षी धेरै भएपछि निर्वाचन हुने भएको हो । अध्यक्षमा केपी शर्मा ओलीलाई टक्कर दिँदै नेता भीम रावलले उमेदवारी दिएका छन् । यस्तै, उपाध्यक्षमा घनश्याम भुसाल तथा सचिवमा भीम आचार्य र टंक कार्कीले उमेदवारी दिएका छन् ।

यी तिनै नेता हुन्, जो विगतमा माधवकुमार नेपाल र झलनाथ खनालसँगै थिए । पार्टीलाई विभाजनसम्म पुर्‍याउँदा माधव नेपाल पक्षबाट महत्त्वपूर्ण भूमिका खेलेका ती नेताहरू एमालेबाट अलग्गिएर नेपाल–खनालले नेकपा (एकीकृत समाजवादी) बनाउँदा उनीहरूको आलोचना गर्दै ओलीसँग बसेका थिए । उनीहरूलाई नै ओलीले महाधिवेशनको मैदानमा भने पाखा लगाएका छन् । 

नवौँ महाधिवेशनमा सर्वाधिक मत ल्याएर उपाध्यक्ष निर्वाचित भएका भीम रावलको १०औँ महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष बन्ने लक्ष्य थियो । तर, ओलीले ईश्वर पोखरेललाई काखी च्याप्दै उनलाई बेवास्ता गरेपछि अध्यक्षमा उमेदवारी घोषणा गरे । ओलीले बन्दसत्रकै हलमा हैसियत भुलेर महत्त्वकांक्षी नबन्न चेतावनी दिँदै सर्वसम्मतिको प्रयासमा बाधक नबन्न आग्रह गरे । तर, रावलले आफूभन्दा धेरै तल्लो पदबाट अरू नेतालाई आफूसमान पदमा ल्याएपछि ओलीको प्रस्ताव अस्वीकार गर्दै अध्यक्षमा उमेदवारी दर्ता गराएका छन् ।

प्रकाशित मिति: : 2021-11-29 16:54:00

प्रतिकृया दिनुहोस्