शनिबार, १२ जुलाई २०२५

भिन्नता...

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडौं
2021-11-27 16:41:00
Breaknlinks
• • •

उसले घरबार जोडेको सात वर्ष भयो भन्यो 
मैले घर छोडेको सात वर्ष भयो भने।
यहाँ ऊ र मैले छोड्नु र जोड्नुमा भिन्नतामा पर्‍याे
आखिर बितेका बर्षहरु त 
उसका पनि सात थिए, मेरा पनि सात थिए।

उसले सात दिनसम्म अनिदो बसेर
५२ पत्तीका ५३ खेल  खेल्न सक्छु भन्यो 
मैले सात दिनसम्म भोक रोकेर 
रोग पाल्दै एउटै कथाको ५३ सिन लेख्न सक्छु भने।
यहाँनिर ऊ र म निद्रा थाम्नु र भोक थाम्नुमा मात्रै फरक रह्यौ 
आखिर दिनहरु उसका सात भए मेरा पनि सात भए
खेलहरु उसका ५३ भए मेरा सिन पनि त ५३ नै भए।

उसले ३० रुपैयाँमा १ बोत्तल पाइने 
चामलको निघार र मकैको निघारको फरक छुट्ट्यायो
मैले तीन सय पर्ने एउटा शो
गोपिकृष्ण हल र मण्डला थिएटरको फरक छुट्टाएँ।
यहाँनिर ऊ र म ३० रुपैयाँ र तीन सय रुपैयाँको अन्तरमा पर्‍याैँ।
आखिर उसको पनि १ बोत्तल मेरो पनि १ टिकट।

उसले बुबाको सुर्ती र छिमेकी बाजे सँग 
तम्बाकु साटेको बचपन सम्झियो
मैले ती बाजेले बाख्रा चराउँदा बाघ सँगको मुठभेटको कथावाला बचपन सम्झिएँ।
यहाँनिर ऊ सुर्ती र तम्बाकु अनि म बाघको कथामा अल्झिएँ।
आखिर तम्बाकु साट्ने र बाघको कथा भन्ने बाजे त एउटै हुनुहुन्छ।

उसले मेरो जेठी छोरी १० वर्षपछि त 
पोइला जान्छे भन्यो
मैले १० वर्षपछि त म 
अहिलेको भन्दा १० वर्ष जेठो हुन्छु भनेँ।
यहाँनिर ऊ इन्डाइरेक्ट उमेरको हिसाब गर्‍याे म डाइरेक्ट हिसाब गरेँ 
आखिर उमेरको हिसाब त १० वर्षकै भयो।

उसले जरङ्कुबाट पेप्सिकोला 
ब्राउन सुगरको पार्सल पुराएको कथा सुनायो
मैले पेप्सिकोलाबाट जरङ्कु
ट्रेडमिल रिपिएर गर्न गएको कथा सुनाए।
यहाँनिर ऊ घण्टाको दश हजारमा अल्झियो म घण्टाको हजारमा अल्झिएँ 
आखिर पैसा त दुबैको हजारमा गनियो।

उसले ५० ग्रामको ब्राउन सुगर 
मामाले फालिदिएको भन्दै पिर गर्‍याे 
मैले ५० वटा पुराना कविता
आमाले फालिदिएको भन्दै पिर गरेँ।  
यहाँनिर उसले ग्रामको ७ हजार गुमायो मैले एउटा कविताको ७ सय शब्द गुमाएँ

उसले मामालाई दोस दियो 
मैले आमालाई सोच दिएँ 
आखिर उसको पनि ५० ग्राम त हो मेरो पनि ५० वटा त हो।

उसले यी सब कुरा 
सूर्य चुरोटको अन्तिम सर्को तान्दै बिट मार्‍याे
मैले यी सब कुरा 
बायाँ हातको अन्तिम धर्को तान्दै बिट मारेँ 
यहाँनिर ऊ र म सर्को र धर्कोमा मात्रै फरक रह्यौ
आखिर उ र म आ-आफ्ना ब्यथाको सारांश बिश्राममा आइपुग्यौँ।

उसले आफ्नो सपना, शहर र रहरको कथा सुनायो 
मैले आफ्नो विपना, शहर र कहरको कथा सुनाएँ

बास्तबमा...
उसले आफ्नै भोगाई र बुझाई सुनायो 
मैले आफ्नै  भोगाई र बुझाई सुनाएँ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?