‘कठैबरा! तपाईंको नाति रूँदारूँदै नै सकिएको हो त ?’ घर्तीनी बजैले नवजात नाति गुमाएको शोकबाट मुक्त हुन नसकेकी कान्छी पण्डितनीसित सोधिन्।
‘अनुहार, जिउ, हातखुट्टा सबै नीला भका रचन। कालगतिले भको मरण हो जस्तै लागेन मलाई त,’ साइँली खत्रिनीले संशय व्यक्त गरिन्।
एउटा खुट्टा भुइँमा पसारेर अर्को खुट्टाको घुँडामा हात राखेकी कान्छी पण्डितनीले गुन्यूको सप्कोले आँखा पुछ्दै भनिन्, ‘औँसीको रात। बूढा अर्को कोठाँ सुतेका थे। म बुहारीकै कोठाको खाटाँ थेँ। राति १२ बजेको हुँदो हो। बच्चो अचानक जोडजोडले रून थाल्यो। हत्तपत्त बूढालाई उठाएँ। उनी दौडँदै वैद्यको घर पुगे। वैद्यलाई लिएर आउन्जेलसम्म बच्चो सिद्दिसकेच। वैद्यले नाडी छामे। निधार छामे। पैतालामा प्याट्टप्याट्ट हिर्काए। बिँडी सल्काएर औँलाहरूमा डामे। अनि भुइँमा बिस्तारै राखेर सुस्तरी भने– कान्छा पण्डित, यसको दिन यत्ति रैछ।’
एकछिन वातावरण मौन भयो। केही बेरको मौनतालाई भत्काउँदै साइँली खत्रिनीले अनौठो रहस्योद्घाटन गरिन्, ‘बजै मैले त अलिक अर्कै नराम्रो कुरा सुनिच्चु है।’
‘के कुरा ?’ पण्डितनीले जिल्ल पर्दै सोधिन्।