साँखुका पाँच ढोका, जसले बुझाउँछन् इतिहास र संस्कृति

वरपर रहेका शिवलिंगहरूले महादेव मन्दिरको परिसर बुझाउँछन्। यो परिसर हो, ज्योतिर्लिंगेश्वर महादेव मन्दिरको। नजिकै साइन बोर्डमा पनि लेखिएको छ, महादेवस्थान। छेउबाटै बगेको छ, राजकुलो। नजिकै फल्चा छ, जहाँ थाकेर आएका बटुवादेखि मन्दिर परिसरमा टहल्न आउने स्थानीय बासिन्दा एकछिन बिश्राम गर्छन्।

राजकुलोले आफ्नो बाटो तय गरेको छ, दक्षिणतर्फ। सोही कुलोलाई आँखाले पहिल्याउँदै जाँदा पुरानो इँटाले बनेको एउटा ढोका देख्न सकिन्छ। त्यही ढोकाबाट हो, साँखु नगर प्रवेश गर्ने।

मन्दिरको दक्षिणतर्फ इँटाको पुरानो शैलीमा बनेको ढोका उभिएको छ, एउटा इतिहास बोकेर। यो ढोकाबाटै ल्हासाका लागि एकाबिहानै मानिसहरू हिँड्थे रे, कुनै समय। साँखुका स्थानीयवासी तथा इतिहासकार प्रकाशमान श्रेष्ठ (साख्व) त्यसै भन्छन्।

ढोका सामान्य देखिन्छ। तर, ढोकामा जडित मूर्तिले यसको स्थापना मल्लकालभन्दा पहिले नै भएको छनक दिन्छ। करिब ३३ सय वर्ष पुरानो इतिहास बोकेको सहर हो, साँखु। मणिशैल महावदानमा उल्लेख भएअनुसार कलिगत सम्वत् १८०१ राजा शंकदेवले एक हजार घरको नगर बनाउँदा उक्त ढोका पनि निर्माण गरिएको इतिहासकार श्रेष्ठ बताउँछन्।

प्रकाशित मिति: : 2021-11-25 15:03:00

प्रतिकृया दिनुहोस्