काँग्रेसकाे चुनाव गराउन सुर्खेतका मेयरकाे निर्देशनमा विद्यालय बन्द 

नेपाली काँग्रेसको चुनाव गराउन सुर्खेतको पञ्चपुरी नगरपालिका–५, बावियाचौरस्थित विद्या ज्योति माध्यमिक विद्यालय बन्द गरिएको छ।

विद्यालयले सूचना प्रकाशन गरी मंगलबार बिदा दिएको हाे। विद्यालय प्रांगणमा कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत क्षेत्रीय अधिवेशनको निर्वाचन गरिएको छ।

विद्यालय आफैंले नभई पञ्चपुरी नगरपालिकाका मेयर उपेन्द्र थापाको निर्देशनमा बन्द गरिएको प्रचार्य कृष्ण सापकोटाले बताए।

'हामीले आजको बिदालाई स्थानीय बिदा भनेका छौं। स्कुलले पनि स्थानीय बिदा दिन पाउने अधिकार छ। अब मेयरसाबले नै निर्देशन दिएपछि हाम्रो के लाग्छ र?,' उनले भने, 'स्थानीय सरकार प्रमुखको निर्देशन आएपछि बाध्य भएर एकदिनका लागि विद्यालय बन्द गरिएको हो।'

विद्यालयमा करिब १३ सय विद्यार्थी अध्ययरतथ छन्। विद्यालय नै बन्द गराएर एउटा अमुक पार्टीको चुनाव गराउनु गलत भएको विद्यार्थी नेता जगत ढकालले बताए। 'एउटा पार्टीको चुनावका लागि विद्यालय नै बन्द गर्नु सरासर गलत हो। यो प्रदूषित राजनीतिको उपज हो,' उनले भने, 'यस्ता गतिविधि रोखिनु पर्छ।'

विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिकामा विद्यालय हाताभित्र दलगत राजनीतिक गतिविधि, आमसभा, गोष्ठी, अभिमुखीकरण, दलगत राजनीति तथा अन्य सभा सम्मेलन गर्न नपाइने उल्लेख छ। त्यस्तै दलीय राजनीति तथा अन्य स्वार्थका लागि विद्यालय बन्द गर्न नपाइने उल्लेख छ।

प्रकाशित मिति: : 2021-11-23 17:35:00

प्रतिकृया दिनुहोस्