एमालेका तीन 'फ्याक्टर' मिलाउन ओलीलाई सकस, कुनै एकमा असन्तुलन भए फेरि देखिन सक्छ विभाजनको झिल्का

पहिलोपोष्ट

प्रकाश भण्डारी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमवार बालकोटमै ब्यस्त रहे। महाधिवेशनको दौडधुप बढेपछि उनले स्थायी कमिटीको बैठक स्थगित गराए भने प्रज्ञा भवनमा आयोजित महाधिवेशनबारेको छलफलमा पनि गएनन्। ओलीमात्रै होइन उनी निकट तथा इतर नेताको पनि दौडधुप बढेको छ। मंसिर १०-१२ गते चितवनमा हुन लागेको राष्ट्रिय महाधिवेशनमा नेतृत्वलाई लिएर नेताहरुको दौडधुप बढेको हो।

एमालेका नेताहरुले विधान महाधिवेशनदेखि नै पदाधिकारीका बारेमा चर्चा चलाएको भए पनि हालसम्म कुन पदमा कसलाई भन्ने टुंगिएको छैन। आकांक्षीहरुको संख्या धेरै भएपछि ओलीलाई पार्टी भित्रको समिकरण मिलाउन सकस परेको छ। 'महाधिवेशनको मुखमा छ नि अहिले अध्यक्षको दौडधुप बढेको छ। त्यसैले भ्याइरहनुभएको छैन,' पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले भने। नेताहरुले महाधिवेशन अघिसम्म पनि ओलीको रणनीतिलाई पर्खिरहेका छन्। ओलीले भने पद बाँडफाँडका विषयमा अभिव्यक्ति दिएका छैनन्। ओली मौन बनेपछि एमालेका नेताहरु ओलीको नीतिलाई लिएर 'पर्ख र हेर'को अवस्थामा छन्। मंगलवारको स्थायी कमिटी बैठक र केन्द्रीय कमिटीको बैठकमा पदाधिकारी चयनबारे छलफल हुने नेताहरु बताउँछन्।

एमालेभित्र तीन फ्याक्टर सक्रिय

ओली निकट नेताहरुले तत्कालीन वरिष्ठ नेता माधव नेपालले पार्टी विभाजन गरेपछि अहिले एमाले भित्र गुटउपगुट नभएको बताइरहेका छन्। तर, उनीहरुको बिचार महाधिवेशन आउन केही दिन बाँकी रहँदा पदका लागि भइरहेको लबिङका कारण मेल खाँदैन। एमालेभित्र हाल तीन गुटहरु सक्रिय छन्। जसमा एमालेको ओली खेमा अर्थात संस्थापन, १० बुँदे सहमति गरेर आएका नेता र पूर्व माओवादी नेताहरु। नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवाली एमालेभित्र भावनात्मक रुपमा तीन समूह रहेको बताउछन्। 'गुट उपगुटका रुपमा होइन भावनात्मक रुपमा एमालेभित्र तीन पक्ष छ। यसलाई सम्बोधन नगरेर हामी अघि बढन सक्दैनौँ। यो एमालेको रियालिटी पनि हो,' उनले भने।

प्रकाशित मिति: : 2021-11-23 11:42:00

प्रतिकृया दिनुहोस्