ही समयअघि उपचारका लागि एक ३२ वर्षीय पुरुष आएका थिए, जो मिडियामा कार्यरत थिए। उनीभन्दा माथि तीनजना बोस (हाकिम) रहेछन्। उनीहरूमध्ये एक जनाको व्यक्तित्वसँग उनलाई सम्झौता गर्न गाह्रो हुन्थ्यो। उनको डेडलाइन (समय सीमा) एकदम स्ट्रिक्ट हुने, साँझ–बिहान नभनी काम गर्नुपर्ने, कामको चापाचाप हुन्थ्यो। बिस्तारै कामको प्रेसर र ‘बोस’प्रतिको एक खालको डरले उनलाई ‘प्यानिक अट्याक (चिट्चिट् पसिना आउने, बोल्न अकमकिने, राति पनि कामकै चिन्ता लाग्ने) हुन थाल्यो।
यसको तीन महिना जतिपछि उनीमा आत्महत्याको भावना पनि आउन थालेको थियो। डरका कारण उनले काममा ध्यान दिन नसकेपछि तीनजनामध्ये एक बोसले उनको त्यो कुरालाई नोटिस गरेर सोधपुछ गरे। उनको समस्या बुझेर ती बोसले पनि समस्या समाधानका लागि पहल गरे। तर फ्रस्ट्रेसन बढेपछि केही समयमै ती बिरामीले काम छाडे। त्यो ठाउँमा उनले काम गरेको चार वर्ष भइसकेको थियो।
यस्तै, एक ४० वर्षीया महिला पनि यस्तै खालको समस्या लिएर आएकी थिइन्। उनी सिनियर पोस्टमै थिइन् तर उनीभन्दा माथिल्लो पदमा एकजना बोस थिए। हरेक काम पर्फेक्ट चाहिने खालको बोसको प्रवृत्ति थियो। कर्मचारीले जति नै राम्रो काम गरे पनि टिप्पणी गर्ने ती बोसको बानी थियो। हरेक काममा गल्ती खोतल्ने बानीका कारण ती महिलालाई ‘मैले जति राम्रो काम गरे पनि अब गल्ती निकालिहाल्छ’ भन्ने डर विकसित हुन थाल्यो।