एकजना विद्वानले भन्नुभयो, 'हाम्रो बिजुली खेर जाँदै छ रे ! फेसबूक कम्पनी एक्लैले ५.१ टेरावाट्स आवर बिजुली खपत गर्छ ! हाम्रा कुलदेवताले बिजुलीको खपत कम भयो, प्रयोग बढाउनुपर्यो भनिरहनुभएको छ। त्यसैले फेसबूकको कार्यालय नेपालमा खोल्नुपर्छ।'
कुरो त राम्रै हो, नेपालीले पनि फेसबूकको कार्यालयमा काम पाउने भए तर मलाई लाग्छ– यसमा राष्ट्रवादी नेपालीको भयङ्करै विरोध हुन्छ- 'फेसबूकले नेपालमा आफ्नो कार्यालय स्थापना गरेर हामी नेपालीको सेन्सेटिभ इन्फर्मेशन चोर्छ। फेसबूकको ठूलो बजार भारत हो। आफ्नो बजार गुम्न नदिन त्यो डाटा भारतलाई बेच्छ। अनि नेपालमा भारतको झन्डा गाडिन्छ, खेल खतम्!'
खासमा हामी नेपालीको लागि त्यस्तो 'सेन्सेटिभ इन्फर्मेशन' के चाहिँ रहेछ भनेर विचार गर्दा:
१. अपरिचितसँगको पहिलो चिनजान नै 'नाम, ठाम, उमेर, कता काम गर्ने, कति पढेको?' भन्ने सोधेर गर्ने चलन छ। उस्तै परे छुट्टिनेबेलामा सम्झनाको लागि भनेर 'सेल्फी' पनि खिचिन्छ अनि फोन नम्बरको आदानप्रदान हुन्छ, बिना झिझक!
अलि उमेरमा फरक भएका दुई जनाको बीचमा कुराकानीको सुरुवात हुन्छ- 'बाबु, कसका छोरा–नाति हौ ?, पहाड घर कता हो?' (– तीन पुस्ते, उमेर, घर ठेगान, फोन नम्बर र फोटो 'सेन्सेटिभ इन्फर्मेशन' हैन रहेछ।)
२. एउटा साथीले जागिर पायो भने अर्कोले भन्छ– 'क्या भाग्यमानी त्यो । हिजोसम्म २० हजार खाइरहेको थियो आज एक्कासी ५० हजार पाउने भयो।' (– तलब विवरण 'सेन्सेटिभ इन्फर्मेशन' हैन रहेछ।)
३. अफिसको हाकिमले आफ्नो 'कम्प्युटर अपरेटर'लाई फोन गरेर सोध्छ– 'मेरो इमेलको पासवर्ड के हो रे?' (- इमेलको पासवर्ड 'सेन्सेटिभ इन्फर्मेशन' हैन रहेछ।)
४. एउटा साथीले अर्कोलाई कार्यालय समयमा नै शेयरको साइट हेर्दै बताउँछ, 'ला..स्वात्तै घटेछ त, मलाई फलानो–फलानो हाइड्रोको ‘यति’ कित्ता शेयरमा आज ‘यति’ रुपैयाँ घाटा लाग्यो त !' (- लगानीको क्षेत्र र नाफा घाटाको जानकारी 'सेन्सेटिभ इन्फर्मेशन' हैन रहेछ।)
५. टोलका मान्छेले टोलकै अर्को मान्छेको बारेमा कुरा गर्छन्, 'जग्गा बेचेर धनी भएको हो!' अनि फलानो जिल्लामा काम गरेको बेलामा फलानो–फलानो ठाउँमा जग्गा किनेको समेत भनिदिन सक्छन्। (–आम्दानीको बाटो सेन्सेटिभ इन्फर्मेशन हैन रहेछ।)
६. केटोले आफ्नो साथीलाई फूर्ति दिन्छ 'मेरो बाउ पहाडबाट आएको तर बेलामा नै बुद्धि पुर्याएर फलानो–फलानो ठाउँमा जग्गा किनेछन् र पो मैले यस्तो इन्ज्वाइ गर्न पाएको छु।' (- सम्पत्तिको लगत खास गरी घर जग्गाको विवरण 'सेन्सेटिभ इन्फर्मेशन' हैन रहेछ।)
७. उनले आफ्नो साथीहरूलाई फूर्ति दिन्छिन्, 'मेरो त बूढाको घरबहालबाटै महिनाको दुई–दुई लाख खुरु खुरु आउँछ । मलाई त सुती–सुती खान पुग्छ। तिमीहरूले जस्तो मिहिनेत म किन गर्छु र?' (– आम्दानीको श्रोत 'सेन्सेटिभ इन्फर्मेशन' हैन रहेछ।)
८. एउटाले अर्कोलाई आफ्नो बठ्याइँ बयान गर्छ, 'चोर सरकार, घरको कर कति धेरै बनाएको हो यो पालि, ‘यति’ स्वक्वायर फुटको घरलाई पनि ‘यत्रो’ धेरै कर ! मैले त कुरा मिलाएर ‘यति’ मात्र तिरेँ!' उसको घर कति स्क्वायर फिटको छ मात्र होइन कि उसले कति ट्याक्स तिर्यो र कति छल्योसम्म अर्कोलाई थाहा हुन्छ। (– तिरेको र छलेको करको जानकारी 'सेन्सेटिभ इन्फर्मेशन' हैन रहेछ।)
९. एउटा विज्ञले अर्कोलाई भन्छ, 'यो पालिको काम सजिलो थियो, त्यो कम्पनीले अलि 'अनएक्पेटेड' पैसा दियो । मैले त फलानो सहकारीमा 'फिक्स्ड' मा राखिदिएँ। त्यसमा १५% छ!' कुन कम्पनीमा के काम गर्यो र त्यसबाट आएको पैसा कति ब्याजमा कुन ठाउँमा राख्यो सम्म थाह हुन्छ अर्कोलाई। (– लगानीको विवरण 'सेन्सेटिभ इन्फर्मेशन' हैन रहेछ।)
१०. अफिसमा फुर्सदको बेला एउटाले अर्कोलाई जानकारी दिन्छ 'मेरो त फलानो रोग थियो, कति धेरै डाक्टरलाई देखाएँ। अस्ति अलि योङ्ग फलानो डाक्टरकोमा गएको, उसले फलानो औषधि दियो। अहिले त कति राम्रो भएको छ। राम्रो डाक्टर रहेछ है !' (- कसैको शारीरिक अवस्था, रोग र औषधि 'सेन्सेटिभ इन्फर्मेशन' हैन रहेछ।)
०००
अनि खासमा, फेसबूकले हामीबाट चोर्नसक्ने 'सेन्सेटिभ इन्फर्मेशन' चाहिँ के रहेछ खै ! हामीले आफ्नो सबै 'सेन्सेटिभ इन्फर्मेशन' फूर्ति र कुन्ठामै चुहाइरहेको छौँ त !