जुम्लाको काँग्रेस सभापतिमा दुई शाही !

नेपाली काँग्रेस जुम्लाको सातौं अधिवेशनमा जिल्ला सभापतिका लागि दीपबहादुर शाही र कर्णबहादुर शाहीबीच प्रतिस्पर्धा हुने भएको छ।

दिपबहादुर शाही वरिष्ठ नेता रामचन्द्र पौडेलको प्यानलबाट उम्मेदवार बनेका छन् भने कर्णबहादुर शाही देउवा पक्षका उम्मेदवार हुन्।

उनीहरू बीच कडा प्रतिस्पर्धा हुने नेपाली कांग्रेस जुम्लाले जनाएको छ। दीपबहादुर शाही सातौं अधिवेशनसम्मको जिल्ला सभापति हुन्।

तत्कालीन कांग्रेस सभापति मानव सेजुवालको नेपाल एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएपछि दिप बहादुरले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका थिए। योसंगै उनले झन्डै दुई कार्यकाल जिल्ला सभापति चलाइसकेका छन्।

प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा प्यानलबाट सभापतिको उम्मेदवारी घोषणा गरेका कर्णबहादुर कांग्रेस जुम्लाका सचिव हुन्। उनले धेरै अघिदेखि नै सभापतिको उम्मेदवारी सार्वजनिक गरिसकेका थिए।

सहमतिको अन्तिम प्रयास असफल भएपछि दुवै पक्षले उम्मेदवारी घोषणा गरेका हुन्। तल्लो स्तरका कार्यकर्ताले काँग्रेस बलियो बनाउन सहमतिको विकल्प नभएको बताउँदै आएका भएपनि सहमतिको सम्भावना लगभग सकिएको छ।

अहिले दुवै पक्षले उम्मेदवारी घोषणा गरेसंगै प्रचारप्रसारमा जुटेका छन्। पौडेल प्यानलबाट सभापतिमा दीपबहादुर शाही, उपसभापतिमा दिपक  शाही र कार्मा बुढा, सचिवमा गोल्डेन कठायत र लक्ष्मण शाही, सहसचिवमा धनेन्द्र बोहोरा र नन्दप्रसाद चौलागाईको उम्मेदवारी परेको छ।

पालिका अधिवेशनमा ८ मध्ये ६ पालिका र प्रदेशका दुई वटै क्षेत्र एकलौटी जितेकाले पौडेल पक्ष निर्वाचन जित्ने अपेक्षामा छ तर देउवा पक्ष पनि पछिल्लो समय सभापति जित्ने तयारी सहित चुनावमा होमिएको छ।

प्रदेशका दुई निर्वाचन क्षेत्रमा गरेर ६० मतले देउवा पक्ष पछाडि छ। देउवा प्यानलबाट सभापतिमा कर्णबहादुर शाही, उपसभापतिमा नन्दराम बुढा र मक्कबहादुर हमाल, सचिवमा घनश्याम थापा र दानबहादुर बुढा, सहसचिव नवराज देवकोटा र धनबहादुर रावतको उम्मेदवारी घोषणा भइसकेको छ।

सचिवका उम्मेदवार दानबहादुर बुढा स्थानीय तहको निर्वाचनमा गुठीचौर गाउँपालिका अध्यक्षका प्रत्यासी हुन्। उनी गुठीचौरमा काँग्रेसमा लहर ल्याउने नेतामा पर्छन्।

देउवा पक्षले एक महिनाअघि नै पदाधिकारीको टुंगो लगाएको थियो। अगाडि जे भएपनि अहिले आफ्नो जित्ने अवस्था रहको क्षेत्रीय सदस्य भक्त बुढाले बताए।

‘पाटी जोगाउनुपर्छ। पार्टीका मूल्यमान्यता गाउँस्तरसम्म स्थापित गर्नुपर्छ। जसका लागि देउवा पक्षको पदाधिकारी समूह निकै सक्षम देखिएको छ। त्यसैले यो पटक जिल्ला नेतृत्वमा देउवा पक्षको जित सुनिश्चित छ।’

उनले कर्णबहादुर शाही नेतृत्वको टिम पढेलेखेको बौद्धिक, राम्रो छवि भएको भएकाले सबै कार्यकर्ताले पत्याउने विश्वास व्यक्त गरे। पालिकास्तरदेखि नै निर्वाचनमा होमिँदा कार्यकर्ता निकै निराश छन्, उनले भने, ‘निराश बनेका कार्यकर्ताको आशाभरोसा भनेको यही टिम हो।’

निर्वाचनका लागि दुबै समूहले मनोनयन दर्ता गरिसकेका छन्। दुवै पक्षले आफू बलियो भएको प्रचारबाजी गरिरहेका छन्। पहिलेको स्टाटस हेर्दा पौडेल पक्ष नै बलियो हो, एक नेताले भने, ‘अहिले के भइरहेको छ भन्न सकिँदैन।’

जिल्ला समितिको पदाधिकारी सहित ५९ जना र केन्द्रीय महाधिवेशन प्रतिनिधि २५ पदमा मतदान हुने भएको हो। कुल १ हजार १८ प्रतिनिधिमा झण्डै ९ सय ५० जना सम्मले मतदान गर्ने विश्वास गरिएको छ। केही कार्यकर्ता व्यापारको सिलसिलामा जिल्लाबाहिर गइसकेकाले अनुपस्थित हुने जुम्ला काँग्रेसले जनाएको छ।

प्रकाशित मिति: : 2021-11-21 12:32:00

प्रतिकृया दिनुहोस्