नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय नेता हुन्– प्रभु साह तेली, ४७। गत संसदीय चुनावमा माओवादीबाट प्रतिनिधिसभा सदस्य चुनिएका उनी एमाले र माओवादीकेन्द्र अलग हुँदा एमाले रोज्नेमध्ये उनी पनि एक हुन्। माओवादीले उनलाई सांसद्बाट हटाइसकेको छ।
एमालेको दशौँ महाधिवेशनको तयारीमा जुटेको छ तर नेता साहको व्यस्तता भने महाधिवेशनका कारण खासै बढेको छैन। केहीअघिसम्म त उनी एमालेमा टिक्दैनन् भन्ने सम्म चर्चा हुन्थ्यो तर एमालेको असोज १५–१७ को विधान अधिवेशनले आफ्नो समूहको असन्तुष्टि हल भएको नेता साहले बताए।
अन्तर्वार्ताका निकै खुलेर कुरा गरेका उनले एमाले अध्यक्ष केपी शर्मा ओलीमा एमाले नेतृत्व केन्द्रित गर्नपर्ने, देशको समृद्धिको नेतृत्व उनले मात्र गर्नसक्ने बताए। आगामी महाधिवेशनमा ओलीलाई निर्विकल्प अध्यक्ष देख्छन्– साह। पार्टीका अरु पदाधिकारी अध्यक्षलाई अनुकूल हुनेगरी चयन गर्नुपर्ने र सबै पक्षलाई समेटेर नेतृत्व चयन गरिनुपर्ने धारणा राख्छन्।
लामो समय अध्यक्ष मानेका माओवादीकेन्द्रका अध्यक्ष प्रचण्डप्रति निकै कडा आलोचक देखिए। उनले भने, ‘प्रचण्डले परिवर्तनका मुद्दाहरु बेचेर नै खाइसक्नुभएको छ। नगदमा लिइसक्नुभो।’
कानूनमा स्नातक साह संविधानसभाको न्याय प्रणाली समितिका सभापति थिए। उनी पटक–पटक मन्त्री भइसकेका छन्। ‘मधेशीको व्यापार गर्ने’ र ‘माओवादको व्यापार गर्ने’ दुवैलाई मधेशका जनताले चिनिसकेको बताउने उनले ओली नेतृत्वको सरकारले मधेशमा धेरै विकासको काम गरेको पनि बताए। प्रस्तुत छ– नेता साहसँग माधव ढुङ्गेलले गरेको संवादः
एमाले आफ्नो दशौँ महाधिवेशनको तयारीमा छ। प्रभु साहले एमाले छाड्दै छन् भन्नेसम्मका चर्चा पनि चलेकै छ। के एमालेमै टिक्न सक्नुहुन्छ कि अर्को पार्टी बनाउने तयारी छ ?
मेरो सीधा कुरा छ– कुनै पाइला चाल्नुभन्दा अगाडि सोचेसम्झेर चाल्ने र पाइला चालिसकेपछि अगाडि बढ्ने हो। त्यसैले म नेकपा हुँदासम्म बोलेकै थिइनँ।
जब नेकपा अदालतको निर्णय वा ज–जसको कारण भए पनि एमाले र माओवादीकेन्द्र भएर आयो, त्यसपछि अलि–अलि असन्तुष्टि सुन्नुभएको होला।
एमालेको निरन्तरता हो कि नेकपाकै नयाँ नाम एमाले हो ? यसमा स्पष्ट नहुँदा यत्तिकै अघि बढ्न सकिँदैन भन्ने स्थिति रह्यो। विधान अधिवेशन (असोज १५–१७ गते) ले ‘नाम एमाले भए पनि यो नेकपाकै निरन्तरता हो’ भन्ने ढाँचामा नयाँ दिशा दिइसकेपछि त्यो असन्तुष्टि समाप्त भयो।
नाममा नेकपा एमाले त हो तर यो हिजोको एमालेको निरन्तरता होइन। सारमा यो नेकपाकै नयाँ रुप हो भन्ने बुझेर अघि बढियो भने मेरो भावनाको सही बुझाइ हुन्छ भन्ने लाग्छ। अब मेरो द्विविधा कहीँ पनि छैन।
त्यसो भए अब एमालेमै रहेर अघि बढ्न सकिन्छ भन्ने विश्वास बढ्यो?
सकिन्छ। जीवन संघर्ष हो। जहाँ गए पनि सानो वा ठूलो जत्रो टीम भए पनि जीवनको एउटा अङ्ग हो– अन्तर्संघर्ष। यो चलिरहन्छ। आफूलाई उन्नत ठान्नेहरुले संघर्षमा आफ्नो स्थानलाई स्थापित गर्न सक्छौँ भनेर आशावादी भएर हिँड्नुपर्छ।
त्यसैले एमाले कम्युनिष्ट पार्टी हो। सबैभन्दा उन्नत विचार लिएको पार्टी हो। एमालेमा टिक्न सक्ने कि नसक्ने भन्ने कुनै द्विविधा छैन।
तपाईं त फुर्सदिलै देखिनुहुन्छ। महाधिवेशनको तयारी कस्तो चल्दै छ ?
महाधिवेशनको मुख्य कुरा वैचारिक कार्यदिशाको पाटो हो, त्यो एक ढंगले विधान महाधिवेशनमै सम्पन्न गरिसकेका छौँ। त्यसमा एकमत छौँ।
विचारमा एकमत भइसकेपछि धेरै किचलो हुँदैन। कम्युनिष्टहरुको मुख्य कुरा भनेको कार्यदिशा नै हो। त्यसमा हामी एकमत भइसकेपछि अब संगठनमा धेरै किचकिच गरिराख्नु परेन।
अहिलेसम्म सर्वसम्मतिमै ८० प्रतिशतजति महाधिवेशन प्रतिनिधि चयन भइसकेको छ। चितवनमा ठूलो ‘मास’को बीचमा महाधिवेशन उद्घाटन हुँदैछ। त्यसको तयारी पनि भइरहेको छ। नेतृत्व चयन मतदानबाट गर्नुपर्यो भने त्यसको तयारी पनि छ। व्यवस्थापकीय कामको पनि तयारी भइरहेको छ।
तपाईंको विचारमा महाधिवेशनमा नेतृत्व चयन सहमतिमै हुनुपर्छ कि चुनावबाट ? एकता महाधिवेशन भनिएको छ, चुनाव भयो भने त सबै पक्ष समेटिँदैनन् होला ?
नेपाललाई अन्यौलग्रस्त र अस्थिर बनाउन खोजिएको छ। देश अस्थिरताको शिकार भइरहेको छ। त्यसलाई हामी स्थिरताले जवाफ दिन सक्छौँ। अन्यौलको जवाफ स्पष्टता हो। अस्थिरताको जवाफ स्थिरता हो।
स्थिरताको नेतृत्व गर्ने पार्टी एमालेले एउटा जवाफ दिनुपर्छ– हाम्रो पार्टी अन्यौलमा छैन। हामी स्पष्ट छौँ। हाम्रो पार्टी एक ढिक्का छ।
हामीभित्र द्वन्द्व छैन तर अन्तर्राष्ट्रिय शक्ति केन्द्रले नेपाललाई द्वन्द्वग्रस्त बनाउन कोशिश गरे। त्यसबाट हामी प्रभावित पनि छौँ। यसको जवाफ हामीले महाधिवेशनबाट दिनुपर्छ।
महाधिवेशनमा नेतृत्व र संगठनको कुरा हुन्छ। हामीले विधान अधिवेशन गरिसकेपछि विचार र संगठनको संरचना हामीले पारित नै गरिसक्यौँ। नेतृत्वमा पनि खासै विवाद छजस्तो लाग्दैन।
सबै ‘गुट–उपगुट’ समेटिने गरी नेतृत्व चयन संभव होला त?
मुख्य कुरा त मूल नेतृत्व हो। त्यो भनेको अध्यक्ष आदरणीय नेता केपी शर्मा ओली हो। उहाँका बारेमा विवाद गर्नु भनेको नेपाललाई अन्यौल बनाउनु, द्वन्द्व गराउन कोशिश गर्नु हो। खासगरी विपक्षी र अरु वर्गलाई मद्दत गर्नु हो।
त्यसैले अहिलेको महाधिवेशन एकताको महाधिवेशन गर्नुपर्छ। हाम्रो पूरै पार्टी केपी (ओली) जीमा केन्द्रिकृत छ भन्ने सन्देश दिन जरुरी छ। त्यो सन्देशले नेपाल, नेपाली जनतालाई एउटा आश जगाउँछ।
केपीजीमा नेपाललाई केन्द्रिकृत गर्नुपर्छ। एमाले पार्टी केपीजीमा केन्द्रित छ। नेपाल र नेपाली जनतालाई केपीजीमा केन्द्रित गरेनौँ भने समृद्ध नेपाल संभव छैन।
भन्नुको मतलव विपक्षी गठबन्धनले केपी ओलीजीलाई तारो बनाए, अब एमालेले केपी ओलीलाई नै अनुमोदन गरेर त्यसको जवाफ दिनुपर्छ भन्न खोज्नुभएको हो ?
मलाई लाग्छ– नेपालमा अस्थिरता मच्चाउने, भ्रम सिर्जना गरिरहने र नेपाली जनतालाई सफल हुन नदिने, देशलाई उँभो लाग्न नदिने जुन शक्ति छ, त्यसले केपीजीलाई ‘टार्गेट’ गरिराखेको छ।
केपीजीलाई कमजोर बनाउनु भनेको नेपाललाई कमजोर बनाउनु हो। केपीजीको पार्टीलाई कमजोर बनाउनु भनेको नेपालमा अस्थिरता निम्त्याउनु हो। उहाँहरुले त्यसरी काम गरिरहेकोमा हाम्रो महाधिवेशनले जवाफ दिनुपर्छ। हामी महाधिवेशनबाट त्यो गर्छौं। हामी केपीजीमा केन्द्रित छौँ। उहाँ हाम्रो सर्वसम्मत नेता हो।
एमालेमा त सामूहिक नेतृत्व भनिन्छ नि !
नेता केपीजी मात्र एक्लै होइन, टीम पनि हो। पदाधिकारी, बहुपद भनेको बहु–केन्द्र होइन। बाहिरको धारणा के देखिन्छ भने बहुपद भनेको बहुकेन्द्र हो। बहुकेन्द्र बनाउनु भनेको नेतृत्वलाई असहयोग गर्नु हो।
बहुपद भनेको बढी काम गर्नलाई धेरै नेतालाई भूमिका दिनु हो। मुख्य नेतृत्वलाई सहज हुने गरी पदाधिकारी चयन हुनुपर्छ। मुख्य वैज्ञानिकलाई सघाउन सहायक वैज्ञानिक भएजस्तै हुनुपर्छ।
केपीजीको हात बलियो हुनेगरी अध्यक्षलाई काम गर्न सहज हुने टीम चाहिन्छ। अप्ठेरो पार्ने, गुटबन्दी गर्ने बहुपद हामीलाई चाहिएन। त्यस्तो नेतृत्व चाहिएन। पार्टी एकताबद्ध हुनुपर्छ। केपीजीको हात बलियो बनाएर मात्र पार्टीलाई जीवन्त बनाउन सकिन्छ।
टाउकोको मूल्य तोकिने अवस्थामा युद्ध लडेको माओवादी पार्टी नरोजेर किन एमालेमा लाग्नुभएको ? माओवादीभित्र त तपाईंको पनि ‘मोहियानी हक’ लाग्थ्यो होला नि, एमालेमा भन्दा ?
शब्दको हिसाबले मात्र लिनुहुन्छ भने ‘एमाले’, ‘माओवादीकेन्द्र’ त ठीकै छ। विधान, कानूनको हिसाबले माओवादी भनेर प्रचण्डजीको पार्टीलाई भन्ने गरिन्छ। एमाले भनेर केपी ओलीजी अध्यक्ष भएको पार्टीलाई भनिराख्ने त आफ्नो ठाउँमा छ। तर, वैचारिक राजनीतिक हिसाबले त्यस्तो रहेन।
मैले अघि नै भनेँ– हिजोको माओवादी र एमाले विघटन गरेर नेकपा बनिसकेको हो। राजनीतिक हिसाबले पछि फर्कन मिल्दैन। हिजोको माओवादी विघटन भइसकेको हो।
हिजोको माओवादीका जो ‘एजेण्डा’ र विचारहरू थिए, ती करिब–करिब एकताभन्दा अगाडि नै विसर्जन भइसकेका थिए। हामीले बल प्रयोग गर्ने भन्ने कुरा पहिले नै छाडिसकेका थियौँ। हामीले उठाएका परिवर्तनका मुद्दाहरु प्रचण्डले बेचेर नै खाइसक्नुभएको छ। बचेखुचेको माओवादीलाई बेचिसक्नुभो, नगदमा लिइसक्नुभो। माओवादीका जुन रापताप र एजेण्डाहरु जो थिए, त्यसलाई भजाइसक्नुभएको छ। अब खासै त्यो माओवादी भन्ने रहेन। परिवर्तनका संवाहक हामी हौँ। हामीले ती एजेण्डाहरु एमालेबाटै अगाडि बढाउने निर्णय गरेका छौँ।
माओवादीले जुन एजेण्डा अघि सारेर ‘जनयुद्ध’ सुरु गरेका थियौँ, नेपालको जुन सामाजिक बनौट हो, त्यसलाई कसरी रुपान्तरण गर्ने भनेर जुन एजेण्डा हामी अघि बढाइरहेका थियौँ, संविधानसभाबाट संविधान बनिसकेपछि त्यो एजेण्डाको सम्बोधन भइसक्यो।
बल प्रयोगबाट समाज रुपान्तरण गर्छौं भन्ने छाडिसकेको सन्दर्भमा माओवादीको भित्री कुरा नै हामीले समाप्त गरिसकेका छौँ। अब माओवादी भन्ने नाम भजाइराखेर काम छैन।
तपाईं हेर्नुस्, माओवादीका कुनै पनि पुराना वरिष्ठ नेता माओवादीकेन्द्रमा छैनन्। मोहन वैद्यले, विप्लवले आफूलाई माओवादी भनिरहनुभएको छैन। डा. बाबुराम भट्टराईले आफैँले आफूलाई माओवादी भन्नुहुन्न।
प्रचण्डजीले चाहिँ आफूलाई माओवादी भन्न छाड्नुहुन्न। जसले त्यो नामको व्यापार गरेर बसिरहेको छ, उसले माओवादी भनिरहेको छ। उहाँलाई त्यो नामको व्यापार गर्नु छ।
‘माओवादी’ भनेर शब्द बेच्ने एउटा भयो। माओवादीका भित्री सार– खास गरी किसान मजदुरको हित र परिवर्तनका एजेण्डालाई हामीले छाड्न हुँदैन। त्यो लक्ष्यप्राप्तिको लागि हामी लड्नैपर्छ। अबको एमाले त्यो दिशामा अघि बढ्दैछ।
तपाईंले धेरै लामो समय पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आदर्श नेता मान्नुभयो। उहाँसँग वर्षौं एकै पार्टीमा काम पनि भयो तर ९ महिनाअघि उहाँको साथ छाड्नुभयो। करिब पौने चार वर्षदेखि पार्टी अध्यक्ष मान्दै आउनुभएका केपी शर्मा ओलीलाई करिब ९ महिनादेखि एकल अध्यक्ष मानेर एमालेमै लाग्नुभएको छ। तपाईंले ओली र प्रचण्डबीच तुलना गर्दा तपाईंले कस्तो पाउनुहुन्छ ?
नेपालमा सामन्ती राज्य व्यवस्था हुँदा विशेष गरी राजतन्त्र हुँदासम्म युद्धको नेतृत्व प्रचण्डजीले गर्नुभयो। त्यतिबेला जनताको अधिकारका लागि राज्य पुनर्संरचना गर्न प्रचण्डले चालेको कदम जायज लाग्थ्यो।
अब संविधानसभाबाट गणतन्त्रसहितको संविधान निर्माण गरिसक्यौँ। अब नेपाललाई स्थिरताको जरुरत छ। प्रचण्डजीको महत्वाकांक्षा र कार्यशैलीले नेपाल स्थिर हुन सकिरहेको छैन।
न उहाँमा वर्गीय अडान देखिन्छ, न कुनै नैतिकता देखिन्छ। न कुनै लक्ष्य देखिन्छ। यसो सम्झिँदा लाग्छ– प्रचण्डजीलाई नै हामीले किन नेता मानेको थियौँ ? किन चिनेनौँ ? हिजो युद्धकालमा त राम्रै दूरदर्शी दृष्टिकोण भएजस्तो लाग्थ्यो।
जब हामी संविधान कार्यान्वयन र समृद्धिको यात्रासम्म शान्तिपूर्ण यात्रा गरिरहेका छौँ, यसरी हेर्दा प्रचण्डजी अस्थिरताको पर्यायवाचीजस्तो देखिन्छ।
कहिले कम्युनिष्टसँग एकता गर्नुहुन्छ, कहिले कांग्रेससँग एकता गर्नुहुन्छ। कहिले कुन मधेशी दलसँग पार्टी एकता गर्ने कुरा गर्नुहुन्छ। उहाँमा वर्गीय अडान नै देखिँदैन। एजेण्डामा अडान देखिन्न। कहिले यो पार्टीसँग गर्नुहुन्छ, कहिले त्यो पार्टीसँग गर्नुहुन्छ। बोलीको कुनै ठेगान छैन। आज यहाँ एउटा बोल्नुहुन्छ, भोलि अर्कै बोल्नुहुन्छ। नेपाललाई यो चाहिएको थिएन।
हिजो सामन्ती राजतन्त्र हुँदा शायद हामीले सशस्त्र द्वन्द्व र आन्दोलनलाई मान्थ्यौँ। अहिले त शान्तिपूर्ण व्यवस्था स्थापित गरिसकेपछि त्यसको आधारमा नेपाललाई अघि बढाउनुपर्ने हो।
यो देशमा स्थिरता चाहिएको छ। आफ्नो स्वार्थभन्दा माथि उठेर देशलाई बनाएर देखाउँछु भन्ने दृढ इच्छाशक्ति चाहिएको छ। केपी ओलीजीमा समृद्ध नेपाल बनाउनसक्ने दूरदर्शी सोच पनि देखिन्छ। अडान पनि देखिन्छ। सोचेर निर्णय गर्ने र निर्णय गरेपछि त्यसमा अडान राख्ने नेता चट्टानी अडान ओलीमा देखिन्छ।
प्रचण्डजी अहिले एउटा भन्नुहुन्छ, बिहान एउटा बिर्सिनुहुन्छ। उहाँमा अडान देखिन्न। दूरदर्शीता पनि देखिन्न। निहीत स्वार्थमा एकछिनमा कुरा फेर्ने, एकछिनमा यहाँबाट त्यहाँ पुग्ने देखिन्छ।
अहिलेको आवश्यकता भनेको स्थिरताको आवश्यकता हो। दृढ इच्छाशक्तिको आवश्यकता हो। सबै कोणबाट हेर्दा प्रचण्डभन्दा धेरै राम्रो नेता केपीजी हुनुहुन्छ।
०७७ साल फागुन २३ को सर्वोच्च अदालतको निर्णयबाट एमाले र माओवादीकेन्द्र अलग–अलग भएपछि तपाईंजस्तै एमाले रोजेका पूर्वमाओवादीका धेरै नेताहरु फेरि माओवादीमै फर्किन थाले, होइन ?
त्यो एमालेको विधान महाधिवेशनभन्दा अघिको कुरा हो। अहिले त्यस्तो छैन। अब फेरि प्रचण्डजी नेतृत्वको माओवादी पार्टीमा फर्कने संभावना छैन।
एमाले र माओवादी व्युँतिसकेपछि केही साथीहरुमा तपाईंले भनेजस्तो अन्यौल थियो। विधान अधिवेशनबाट स्पष्ट भइसकेपछि पूर्वमाओवादी साथीहरुमा अन्यौल छैन। अपमानित पनि ठान्नुहुन्न। क्रमशः उत्साहित हुने क्रममा हामी छौँ। महाधिवेशनले उत्साह उचाइमा पुर्याउनुपर्छ भन्ने हामी चाहन्छौँ।
त्यसो भए तपाईं एमालेमै भविष्य खोज्न सकिन्छ भनेर रामबहादुर थापा ‘बादल’ जत्तिकै ढुक्क हुनुभएको हो ?
कसैलाई ‘कन्फ्युज’ नहोस्, पार्टीभित्र मैले जुन कुराहरु उठाइरहेको थिएँ– लिखित पनि, मौखिक पनि। त्यो मेरो व्यक्तिगत थिएन। माओवादीबाट आएका साथीहरुकै चिन्ता थियो। त्यो ‘बादल’जीको पनि थियो।
तपाईं प्रदेश नम्बर–२ को एमालेको एउटा खम्बा। आगामी चुनावपछि मधेशमा एमालेको अवस्था कस्तो होला ?
एमालेबिना मधेश पनि बन्न सक्दैन। सिङ्गै नेपाल बन्न सक्दैन। केपीजी अहिले मधेशलाई पनि चाहिएको छ। एमालेभन्दा पनि केपीजीको स्पष्टता छ। सिङ्गो नेपाललाई चाहिएको छ– केपी ओलीजी। केपीजी भनेकै एमाले हो।
यसअघि मधेशमा केपीजीलाई नै अघि सारेर हामीले मनोनयन गरेका थियौँ। नेतृत्वलाई अलग राखेर मधेश बन्दैन, नेपाल बनाउने नेताले हो। पार्टी र विचारले हो। एमालेको नेतृत्व र पार्टीलाई अलग गरेर देश बनाउँछु भन्ने संभव छैन।
मधेश हाम्रै देशको अभिन्न अङ्ग हो। यसलाई मात्र अलग गरेर हामीले सोच्नु हुँदैन।
चार वर्षअघिको चुनावमा मधेशमा एमाले निकै कमजोर भएको थियो। अहिले के त्यस्तो भयो, जसले एमाले त्यहाँ बलियो होस् ?
हिजो पुराना शक्तिहरुले भ्रमित गर्न कोशिश गरेका थिए। साम्प्रदायिक स्वरुप दिन कोशिश गरेका थिए। ‘मधेश भनेको अरु दुनियाँ हो, नेपालको हिस्सा होइन’ भन्नेजस्तो भाव दिने, पहाडी–मधेशी बनाएर साम्प्रदायिक स्वरुप दिने, नेपाललाई समृद्ध र सफल हुन नदिने जुन ठूलो षड्यन्त्र थियो, त्यसलाई हामीले गएर तोड्यौँ। त्यहाँको आम जनतालाई हामीले बुझाउन कोशिश गर्यौँ। मलाई लाग्छ– अहिले मधेश एमालेसँग छ, केपीजीको पक्षमा छ।
केपी ओली नेतृत्वको सरकारले तराई–मधेशको दक्षिणी भेगलाई प्राथमिकतामा राखेर विकास–बजेट विनियोजन गरेको हो, मधेशविरोधी भन्ने आरोप चिर्न ?
हाम्रो सरकारको समयमा जुन काम भएको छ, त्यो ओलीजीकै नेतृत्वमा भएको हो। हिजो जो रोइरहेका थिए, आज ती हाँस्ने स्थिति भइरहेको छ।
हुलाकी सडक वर्षौंदेखि बेवारिशे अवस्थामा थियो, त्यसलाई पूरा गर्नेगरी निर्माणको कोशिश गर्नुभो। सिंचाइका परियोजनाहरु अघि बढे। रोजगारको अवसर सिर्जना, दलितहरुलाई आवासदेखि लिएर बच्चादेखि वृद्धसम्मका सामाजिक सुरक्षाका काम जुन गतिका साथ आयो, त्यो दुनियाँले तुलना गरिरहेको छ– कम्युनिष्ट पार्टीले के गर्दो रहेछ, मधेशी दलहरुले के गर्ने रहेछन् ? ‘मधेशी’ शब्द त बेच्नलाई रहेछ भन्ने आममान्छेले यसबीचमा बुझेका छन्।
माओवादी र मधेश केन्द्रित दलको प्रभावलाई चिर्न सक्छ त एमालेले ?
‘मधेशी’ बेच्ने एउटा व्यापारी भयो, ‘माओवादी’ बेच्ने अर्को व्यापारी भयो। दुइटै व्यापारीलाई मान्छेले चिनिसके। हिजो माओवादी बेच्नेलाई देशका मान्छेले राम्रै मानेका थिए, मधेशी बेच्नेलाई पटक–पटक हेरिसके। अब मलाई लाग्दैन– ती व्यापारीको काम छ, न माओवादी बेच्नेको काम छ।
प्रतिबद्धता एउटा उठाउने, अनि मान्छेलाई भड्काएर आफ्नो स्वार्थसिद्धि गर्ने देखिए। मधेशलाई भड्काएर आफ्नो स्वार्थ सिद्धि गर्ने पनि देखिए। अभ्यासमै देखिइसके। सरकारमा गएर केही पनि गरेन।
तपाईंको भोगाइमा एमालेको अहिलेको नेतृत्व मधेशीलाई नेतृत्वमा कत्तिको समट्ने खालको पाउनुभएछ ? मधेशीलाई टिक्न दिइँदैन भन्ने आरोप पनि छाड्नेले लगाउँदै आएका छन् नि ?
तपाईंले भन्नुभएजस्तो कैयौँ सोचहरु एमालेभित्र म पनि देख्छु। मलाई लाग्छ– मधेशी जनतालाई कम्युनिष्ट पार्टीले नेतृत्व गर्न सुक्नुपर्छ। यो आम जनताको पार्टी हो। मधेशीको पनि पार्टी हो भन्ने ढंगले काम गर्न थाल्यौँ भने कसैको दाल गल्दैन। यदि हामीभित्रै निषेध गर्न थाल्यौँ भने अरुले आकार बनाउँछ।
समेट्ने दुई तरिका छन्– मधेशी जनतालाई पार्टीमा समेटेर लैजाने कुरो एउटा। अलग पार्टी बनिराखोस्, त्योसँग गठबन्धन गर्ने अर्को। हामीले गठबन्धन किन गर्नुपर्यो ? अरु दललाई किन दिनुपर्यो ?
सबभन्दा बढी गरिबी, उत्पीडन तराईमा छ। आम किसान–मजदुरको संख्या तराईमा छ। तराईका किसान मजदुर कम्युनिष्ट हुन्। उनीहरुलाई कम्युनिष्ट बनाएर हामीले नेतृत्व लिने कि कम्युनिष्टमा समाहित नगरी एउटा सीमित समुदायको बनाइराख्ने, मधेशीलाई अरु कुनै ठेकेदारको जिम्मा लगाएर त्यससँग गठबन्धन गर्ने ? प्रश्न यो हो।
तराई–मधेशमा अहिलेसम्म जिमीदारहरुको मात्र राजनीति भयो, गरिब–दलितको वर्गीय राजनीति नै भएन भन्ने लाग्दैन तपाईंलाई ?
पछिल्ला कैयौँ नेताहरु साम्प्रदायिक भए। मधेशी दलहरू साम्प्रदायिक छन्– ‘समाजवादी’ नाम राखे पनि, ‘जनअधिकार’ राखे पनि, ‘लोकतन्त्र’ राखे पनि। जे राखे पनि। नाम ‘किसान’ राख्छन्, काम चाहिँ जमिन्दारकै गर्छन्।
कैयौँ कम्युनिष्ट पार्टीमा पहाडतिरका पनि कतिपय नेता आए, जो भन्नलाई कम्युनिष्ट भन्छन्, सोचमा साम्प्रदायिकता छ।
त्यसैले म भन्छु– जुन बेला नेपालमा कम्युनिष्ट भनेको के हो भन्ने राम्ररी बुझेका थिएनन्, सीमित मान्छेले कम्युनिष्ट पार्टी स्थापना गरेका थिए, त्यस बेला तराईका बारा, पर्सा, रौतहटका किसानले उत्कृष्ट भूमिका खेलेका थिए। नेपाललाई चिनाइरहेका थिए– कम्युनिष्ट भनेको यो हो भनेर। कम्युनिष्टले यसरी काम गर्छ भनेर। किसान आन्दोलन भयो। रौतहटले दुई सीट सांसद् जिताएको थियो (०१६ सालमा)– कम्युनिष्ट पार्टीको।
तराई मधेशका जनता कम्युनिष्टको पक्षमा छैनन् भन्न मिल्दैन। बोर्डरमा कम्युनिष्ट भएर काम गर्न विभिन्न ढंगको अप्ठेरो छ। हिजो त्यो अप्ठेरो चिर्ने गरी किन सोचेन नेतृत्वले ? त्यसलाई चिर्नुको सट्टा तराई अरुलाई जिम्मा लगाउने र त्यो दलसँग गठबन्धन गर्ने काम नेतृत्वले गर्यो।
तराई–मधेश कम्युनिष्टको क्षेत्र हो। त्यहाँका जनता कम्युनिष्टतिर हेरिरहेका छन्। हामी भागेर हुँदैन। कम्युनिष्टले छाती चौँडा गर्नुपर्छ। तराई–मधेशलाई अलग राख्ने सोच कुनै पनि कम्युनिष्टले गर्न हुँदैन। देशभक्त कम्युनिष्टले तराईको यो भागलाई पनि पार्टीमा समावेश गर्नुपर्छ भन्ने सोच्नुपर्छ।
एमालेले जसरी गत चुनावमा पहाडमा जितेको थियो, त्यस्तै सफलता ५१ प्रतिशत जनसंख्याको बसोबास थलो तराईमा आगामी चुनावमा हासिल गर्न सक्छ त ?
सक्नुपर्छ। राष्ट्रियताको जो लडाइँ जो हामी लडिरहेका छौँ– नेपाललाई समृद्ध बनाउने। नेपाललाई एकताबद्ध गराउने जो लडाइँ लडिरहेका छौँ, तराई–मधेश समृद्धिका लागि एउटा आधारभूमि हो। राष्ट्रियताको लागि एउटा उर्वर भूमि हो। एकताको लागि पनि महत्वपूर्ण ठाउँ हो।
एकताको भाव दिन पनि, समृद्धिको लडाइँ लड्न पनि तराईमाथि भरोसा गर्नुपर्छ। तराईलाई समाहित गरेर अघि बढ्नुपर्छ। अनिमात्र देश समृद्ध बनाउन सक्छौँ। मलाई लाग्छ, एमालेले यो सक्छ।