मगर चलचित्रकर्मी संघको तेश्रो महाधिवेशन भब्य रूपमा सम्पन्न भएकाे छ।
२०६५ सालमा गठन भई २०६६ सालमा आधिकारिकता प्राप्त गरेकाे मगर चलचित्रकर्मी संघको २ वर्षअघि सम्पन्न हुर्नुपर्ने महाधिवेशन कोरोना महामारीका कारण ढिला गर्नुपर्याे। मगर चलचित्रकर्मी संघ जिल्ला समिति तनहुँको सक्रियतामा दमौलीमा तेश्रो महाधिवेशन भर्खरै सम्पन्न भएकाे छ।
तेश्रो महाधिवेशनसम्म आउँदा संस्थापकहरू बिना नै दोश्रो पुस्ताका मगर चलचित्रकर्मीहरूले संस्था हाँक्न, काँध थाप्न अग्रसर भएका छन्। यस अर्थमा यो महाधिवेशन पुस्ताहस्तान्तरणको महाधिवेशन पनि बन्यो।
कसैलाई लाग्न सक्छ– संस्थाले १३ वर्षमा केही गर्न सकेन ? यो त अति नकरात्मक साेच भो– संस्थाप्रति। बरु संस्थाले के गरेन भनेर प्रश्न गर्ने हो भने उत्तरै–उत्तर दिन सकिन्छ। संस्थासँग उत्तर दिन सक्ने आधार छन्। हामीले आधार निर्माण गरेका छौँ।
आदिवासी जनजाति चलचित्र महासंघ गठन गर्दा मगर चलचित्रकर्मी संघ–संस्थागत रुपमा आदिवासी जनजाति चलचित्र महासंघको संस्थापक हो। र, महासंघ गठन गर्दा मगर चलचित्रकर्मी संघको प्रतिनिधित्व गर्दै सचिव प्रतिमाया पुन महासंघको महासचिव भएर संस्था गठन गर्न तथा नीतिगत निर्णय गर्न उनले महत्वपूर्ण भुमिका खेलेकी थिइन्। प्रतिमाया पुनले नै एक कार्यकाल आदिवासी जनजाति चलचित्र महासंघको अध्यक्ष भएर कार्यकाल वहनसमेत गर्न भ्याएकी छन्।
मगर चलचित्रकर्मी संघले– आदिवासी जनजाति चलचित्र महासंघसँग आवद्धता रहँदै आदिवासी जनजातिका मौलिक हक र अधिकारको लागि चलचित्र विकास बोर्ड हुँदै राज्यसँग जातीय चलचित्रहरुको हक र अधिकारको लागि नीतिगत आधार, बहस तथा पहल गर्न विशेष भुमिका खेल्यो। जसलाई नजर अन्दाज गर्न मिल्दैन।
यसै–कारण अहिले चलचित्र विकास बोर्डमा आदिवासी जनजाति मातृभाषी प्रवद्र्धन समिति गठन हुने गरेको छ भने चलचित्र विकास बोर्ड मार्फत आदिवासी जनजाति चलचित्र महासंघ र महासंघ हुँदै जातीय चलचित्रकर्मी संघलाई वर्षमा केही बजेट छुट्याउने गर्दछ। यद्यपि यो बजेट केही होइन तर हामीले हाम्रो उपस्थिति जनाउन सफल भएका छौँ।
मगर चलचित्रकर्मी संघले १३ वर्षमा मगर चलचित्रको बजार विस्तार गर्न ६ वटा मगर चलचित्र महोत्सवहरू सम्पन्न गर्न सफल भयो। संस्थाले विभिन्न समयमा चलचित्र लेखन, चलचित्र निर्माण सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न गर्यो।
लमजुङको नरुवलमा चलचित्र निर्माण कार्यशाला गोष्ठीमा सुर्खेतबाट भाग लिन आएका ललित मगर चलचित्र अध्ययन संस्था ओस्कारबाट चलचित्र निर्देशक सम्बन्धी ४ वर्षे अध्ययन समाप्त गरिसकेका छन्। यो पनि उपलब्धी नै हो। उनलाई चलचित्र अध्ययनको लागि मगर चलचित्रकर्मी संघले चलचित्र विकास बोर्डमा छात्रवृत्तिको लागि सिफारिश गरि उनको अध्ययनमा सहयोग गरेको थियो।
मगर चलचित्रको साहित्यहरु लेखिएको थिएनन् तर अहिले २ वटा पुस्तकहरु दस्तावेजको रुपमा लेखन भएको छ। जसमा मगर चलचित्रका विविध आयामहरु बारे थाहा पाउन सक्छौँ।
संघले उत्कृष्ट चलचित्र निर्माणको लागि चलचित्र लेखन र चलचित्र निर्माण सम्बन्धी प्रशिक्षणलाई महत्व दिदै आएको सन्दर्भमा मगर विषयवस्तुमा निर्माण भएका डकुमेन्ट्री, छोटो चलचित्र एवम् चलचित्रहरू चलचित्र महोत्सवमा छनोट हुन थालेका छन्।
भीम राना मगरको सराय नाच डकुमेन्ट्री (साउथ कोरिया), तिल थापा मगरको कुँवारा र इनोसेन्ट सोल छोटो चलचित्र एवम् मेरो लेखन–निर्देशनमा निर्माण भएको छोटो चलचित्र परिबन्द र ट्याङ्चलाक विभिन्न ४–४ वटा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भई प्रर्दशन समेत भएको छ। यसर्थ आश गर्न सक्ने ठाउँहरु निर्माण हुँदैछ। अलिकति सामुदायबाट प्रदर्शनको क्रममा अवलोकन गरेर हौसला बढाई दिनु भयो भने मगर समाजका मौलिक विषयवस्तुमा चलचित्र क्षेत्रबाट अझ गहनपुर्ण काम गर्न बाँकी नै छ। यसर्थ सबैले ऐक्यवद्ध भई सहकार्य गर्न सकेमा र मगर चलचित्रको बजार बिस्तार एवम् लगानी फिर्ता आउने वातावरण भएमा मगर समाजबाट अझ धेरै व्यक्तिहरु यस क्षेत्रमा संलग्न हुन आउने छन्।
मगर चलचित्रकर्मी संघले नयाँ आगमन भएका चलचित्रकर्मीहरुको लागि दोश्रो लकडाउनको बेलामा समेत अनलाईन छोटो मगर चलचित्र प्रतियोगिताको आयोजना गरी प्रथम, दृतिय, तृतीय र सान्त्वनालाई नगद पुरस्कार समेत प्रदान गर्न सफल भयो।
मगर चलचित्रकर्मी संघलाई किन मगर संघको भातृ संस्था नभएको भनेर आरोप एवम् प्रश्न गर्ने गरिन्छ ? चलचित्र क्रियसन क्षेत्र रहेको हुनाले यसलाई कुनै बाउन्ड्रीमा बाध्नु हुन्न भन्ने एउटा तर्क रहेको छ भने मगर संघले आफ्नो भातृ संस्था बनाउन केही प्रावधानहरु पूरा गरेको हुनुपर्ने निर्णय गरेको छ। जस्तै २० जिल्लामा जिल्ला समिति गठन भई कम्तीमा २ हजार सदस्य पुगेको संस्था हुनुपर्ने प्रावधान राखेको छ। जुन मगर चलचित्रकर्मी संघको पुग्दैन। तर पनि मगर चलचित्रकर्मी संघ– नेपाल मगर संघमा आवद्ध संस्था नै हो। नेपाल मगर संघको केन्द्रीय भवनमा मगर चलचित्रकर्मी संघलाई नेपाल मगर संघले आफ्नो बैठक बस्न दिने गरेका छन्।
विगतमा मगर चलचित्रहरु भावनाले प्रेरित भएर बनाइएका थिए। आफ्नो समाजको भाषा, भेषभुषा एवम् संस्कृतिमा किन हामीले मगर चलचित्र निर्माण गर्ने भावनाले प्रेरित भएर निर्माण भएका थिए। अब भावना मात्र नभएर अलि गहन भई सचेत हुँदै मगर चलचित्र निर्माणको बाटोमा अग्रसर हुनु मगर चलचित्रकर्मीहरुको दायित्व पनि हो।
मगर चलचित्रको बजार विस्तारमा नेपाल मगर संघको गहनपूर्ण हात हुन सक्दछ। नेपाल मगर संघले मगर चलचित्र प्रदर्शन गर्ने र प्रदर्शन गरेवापत खर्च कटाएर केही प्रतिशत जिल्ला समितिमा नै राख्ने गरि सहकार्य भयो भने आर्थिक सन्दर्भमा जिल्ला एवम् मगर चलचित्रका निर्माताहरूलाई होस्टे हुने थियो। यसरी सहकार्य हुन सक्यो भने मगर संघ जिल्ला समितिलाई पनि आर्थिक मामिलामा केही राहत हुने थियो। आखिर मगर चलचित्रले मगर भाषा, भेषभुषा, संस्कार, संस्कृतिलाई संरक्षण गर्ने पहल गरेकै छ। कि मगर चलचित्र कस्तो बनाउने भन्ने विषयमा बहस गरि कार्यन्वयन गरेमा मगर चलचित्रको भविष्य उज्जवल देखिरहेको छु। धन्यवाद।।
(पुन मगर चलचित्रकर्मी संघका निवर्तमान उपाध्यक्ष हुन्)