जलजलेबाट काठमाडौंतिर पाइला सोझ्याउने तरखर गरिरहँदा क्षितिजभित्रबाट भर्खरभर्खर बर्काे उघारेर खोकिलामा उज्यालो च्यापेकी धरती मुस्कुराइरहेको अनुभूति हुन्छ । पूर्वी क्षितिज राताम्मे देखिए पनि धराको पोल्टामा घामका छिटा अझै खसिसकेका छैनन् । नजिकैका सिमल र बाँसका झाङमा चिरबिराइरहेका चराहरूका आवाजले धेरैका निद्रा खलबल्याइसकेको अनुमान गर्न कठिन पर्दैन ।
दूरदराजका मानव बस्तीबाट आएका बेलगामी स्वरहरूले समयलाई गतिशील तुल्याउन भरमग्दुर प्रयत्न गरिरहेको आभास हुन्छ । उदयपुरको आकाश र धरतीसँग बेलामौकामा आँखा जुधिरहेछन् । तथापि, न ऊ न त हामी नै परिचय साटासाटको मुडमा छौँ । बेलामौकामा नयनहरू एकापसमा जुध्न भने छाडेका छैनन् ।
यथास्थानमा तम्तयार छौँ हामी । अघि नै देखि गाडीको प्रतीक्षा भइरहेछ । हिजै टुंगो लागिसकेका कारण समयमै आइपुग्नेमा विश्वस्त छौँ । तर, समयले नेटो काटिसक्दा पनि ऊ आइपुगेको छैन । मन अमिल्याएर जलजलेको आकाशमुनि आफूलाई भुल्याइरहेछौँ । उसले समयको ख्याल गरिदिएको भए यतिखेर अघि नै लागिसकेका हुने थियौँ गन्तव्यतिर । तर, समय पार भइसक्दा पनि व्यग्र प्रतीक्षामा उभिएको उभियै छाैँ । बाटोतिरै एकाकार भएका छन् आँखा ।