पर्यटन क्षेत्रले २ वर्षमा गुमायो २ खर्ब, व्यवसायी भन्छन्- आन्तरिक पर्यटकले मात्र धान्ने अवस्था छैन

लोकान्तर

परिवर्तन देवकोटा

काेरोना महामारीसँगै थला परेको पर्यटन व्यवसाय बिस्तारै लयमा फर्कन प्रयासरत छ । यद्यपि आन्तरिक पर्यटकको मात्रै भर पर्नुपर्दा अधिकांश पर्यटन व्यवसायीहरू अझै पनि समस्याग्रस्त छन् ।

कोरोना महामारी केही न्यून हुँदै जाँदा नेपालमा पछिल्लो समय घुमफिरको ट्रेन्ड बसेपनि कम खर्च गर्ने प्रवृत्ति पाइन्छ । त्यसकारण पनि पर्यटन व्यवसाय लयमा फर्किन सकेको छैन ।

मुलुकमा कोरोना महामारी फैलिएसँगै २०७६ चैत ११ गते पहिलोपटक लकडाउन जारी गरिएको थियोे । सो लकडाउन विभिन्न चरणमा प्रवेश गर्दै गत भदौबाट मात्र पूर्ण रूपमा खुल्यो । 

थलिएर बसेको पर्यटन व्यवसाय बाहिरी मुलुकबाट आएका नागरिकहरूलाई भिसामा सहजीकरण भएसँगै केही चलायमान भएको छ । तर आजको दिनसम्म पनि विदेशी पर्यटकको उपस्थिति नगण्य मात्र छ ।

केही मात्रामा भित्रिएका विदेशी पर्यटकले मात्रै २ वर्षसम्म थलिएको पर्यटन व्यवसाय फस्टाउने सम्भावना नरहेको ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदी बताउँछन् ।

अहिले मुलुकका धेरैजसो पर्यटकीय गन्तव्यहरूमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । यद्यपि बाह्य पर्यटकहरू भने निकै न्यून मात्रामा आइरहेका छन् ।

अध्यक्ष सुवेदीका अनुसार, सामान्य मात्रामा पर्यटकहरू भित्रिएको भएपनि सो संख्या अत्यन्तै न्यून रहेको छ ।

प्रकाशित मिति: : 2021-11-17 13:22:00

प्रतिकृया दिनुहोस्