नेतृत्वमा पुरानै अनुहार, ‘कर्मकाण्डी’ बन्दै दलका महाधिवेशन !

थाहा खबर

रमेश पराजुली

नेपाली राजनीतिक वृत्तमा सबै राजनीतिक दलहरूलाई महाधिवेशनको चटारो छ। सत्तापक्ष र प्रतिपक्षसहित साना दलहरु पनि महाधिवेशनको तिव्र तयारीमा छन्।

सत्तारुढ घटक नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)देखि नेकपा मालेसम्मलाई महाधिवेशनको भोक जागेको छ। महाधिवेशनले पार्टीको नेतृत्व चयन गर्न नभएर विधान र संविधानअनुसार पार्टीको वैधानिकता जोगाउनका लागि मात्रै राजनीतिक दलहरुले महाधिवेशन गर्न लागेको देखिन्छ। 

पाँच दलीय सत्ता गठबन्धनले सत्ताबाट सडकमा पुर्‍याएको नेकपा (एमाले) मा अध्यक्ष केपी शर्मा ओलीको विकल्पमा अरु नेताहरु देखिएका छैनन्। कांग्रेसमा पनि सभापति शेरबहादुर देउवा नै दोहोरिने संभावना धेरै छ। संस्थापन इतरबाट वरिष्ठ नेता रामचन्द्र पौडेलसहित आधा दर्जनबढी सभापतिका आकांक्षी भएकाले देउवालाई लाभ मिल्ने देखिन्छ। 

यस्तै, दश वर्षे जनयुद्धको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र)मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विकल्प अझै तयार देखिँदैन। निरन्तर प्रचण्ड नेतृत्वमा रहेको माओवादी केन्द्रले पनि वैधानिकता जोगाउनकै लागि भए पनि राष्ट्रिय सम्मेलन मात्रै गर्ने तयारी गरिरहेको छ।

प्रचण्डको स्थान लिनसक्ने जनयुद्धका अधिकांश सारथीले साथ छाडेपछि माओवादीमा नेतृत्व लिनसक्ने दोस्रो तहका नेताहरु देखिएका छैनन्। अन्य साना दलले पनि महाधिवेशन नेतृत्व परिर्वतनका लागि नभएर पार्टीको वैधानिकता जोगाउनकै लागि मात्रै गरिरहेका छन्। 

प्रकाशित मिति: : 2021-11-16 19:10:00

प्रतिकृया दिनुहोस्