नेपाली केटाहरूको म्यानर हुँदैन अरे … !

लोकान्तर

काठमाडौँ

आजको स्टोरी पढेर नेपाली केटाहरू साह्रै रिसाउन सक्छन् । हुन त म पनि नेपाली केटा नै हुँ, तर अरूजस्तो रिसाउँदिनँ । 

सत्यतथ्यमा आधारित कुरा सुनेर, देखेर, पढेर जो रिसाउँछ, त्यसको मानव चोला सर्वथा निरर्थक हुन पुग्दछ। यसो हुँदा हँसमुख चेहराका साथ अन्तिमसम्म पढ्नुहुनेछ भन्ने ठूलो आशा छ । 

हालसालै मैले विदेशी केटासँग बिहे गरेकी एकजना नेपाली चेलीसँग भेटेको थिएँ ।

ती चेली साह्रै ब्युटीफूल थिइन् । हातको दुईवटै पाखुरामा सर्प र गंगटाको ट्याटु खोपाएकी उनी यसो हेर्दा प्रियंका चोपडाको बैनी नै हुन् कि जस्तो लाग्थ्यो । 

पशुपतिनाथको कसम, मैले यति सुन्दर नेपाली केटी यसअघि देखेकै थिइनँ । थाइकट कपाल र आकर्षक शारीरिक बनावटमा उनी निकै सुन्दर देखिन्थिन् ।

पूर्वी नेपालबाट कुन दु:खको पहाड उचालेर, कुन कागताली मिलाएर, कुन आँधी हुन्डरीमा उडेर, कुन सपनाको साम्राज्यमा तैरिएर युरोप आइपुगिन् त्यो त थाहा भएन, तर निकै हर्षोल्लास जस्तो, साह्रै गौरवान्वित भएजस्तो, सयौं वर्ष हराएको जोडा भेटिएको जस्तो, हिन्दी चलचित्रको प्रेम गीतमा देखिने अभिनय जस्तो खैरे केटाको हात च्याप्प समातेर हिँड्ने रहिछन् । बाटोमा  उभिँदा पनि उतैतिर टाँसिएर उभिने तिनको चालामाला कामुक थियो। 

प्रकाशित मिति: : 2021-11-14 17:41:00

प्रतिकृया दिनुहोस्