सर्वोच्चको मूलगेटमा देखिएको घम्साघम्सी

अनलाइनखबर

काठमाडौँ

आइतबार बिहान सवा ११ बजे सर्वोच्च अदालतको मूल गेट बन्द थियो । कानुन व्यावसायीहरु सर्वोच्चको मूलगेट भित्र कोणसभा गरिरहेका थिए ।

गेट बाहिरबाटै सञ्चारकर्मीहरुले कोणसभाको भिडियो र फोटो लिइरहेका थिए । त्यस्तैमा एक युवक गेटछेउमा आए र चिच्याए, ‘न्याय मार्न पाइँदैन, नेपाल बार एशोसिएसन मुर्दावाद ।’ प्रहरीले ती युवकलाई गेटदेखि पर पुर्‍याए । 

गेटभित्र रहेका केही कानुन व्यवसायी दौडिएर मूल गेटमा पुगे । गेटबाहिरबाट युवकले गरेको नाराबाजीबाट आक्रोशित कानुन व्यवसायीले प्रधानन्यायाधीश जबराले आन्दोलन कमजोर देखाउन भाडामा मान्छे पठाएको आरोप लगाए । उनीहरुले ठाडै नारा लगाए, ‘भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे, चोलेन्द्रका मतियार होसियार ।’

नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले ती युवकलाई विचौलियाको संज्ञा दिँदै नियन्त्रणमा राख्न प्रधानन्यायाधीशलाई आग्रह गरे । ‘तपाईंका बिचौलिया नियन्त्रणमा राख्नुस् । घुसपैठ गराएर आन्दोलनलाई असफल पार्ने चेष्टा नगर्नुस्’ उनले भने, ‘ए विचौलियाहरू हो होस् गर् तिमीहरूको नाइकेलाई हामीले निकालिसकेका छौं । तिमीहरूको केही लाग्ने छैन ।’

तर, केहीबेरमा मूल गेटबाहिर अर्को समूह आइपुग्यो । मोटरसाइकलमा समेत आएका उनीहरुले हर्न बजाएर होहल्ला गरे । अरुले नाराबाजी गरे । उनीहरुलाई प्रहरीले तितरबितर पार्‍यो । केहीलाई नियन्त्रणमा लियो । त्यस क्रममा केही प्रदर्शनकारीले प्रहरीमाथि पनि आक्रमण गरे ।

प्रकाशित मिति: : 2021-11-14 17:15:00

प्रतिकृया दिनुहोस्