आन्दोलनकारी वकीलका थरिथरिका रूप– धेरै सेल्फी खिच्न मस्त, कोही भाइ–मसला बाँड्न व्यस्त [तस्विरहरू]

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई राजीनामा दिन दबाब दिँदै सर्वोच्च अदालतको मूलद्वारमा धर्ना बसेका आन्दोलनकारी वकीलहरुको थरि–थरि रुप देखिएको छ।

धर्ना स्थलमा भेला भएका धेरै वकीलहरु सेल्फी खिच्नमा व्यस्त देखिन्थे। बार एसोसिएसनकी पूर्व कोषाध्यक्ष अधिवक्ता सविता बराल भण्डारी चाहिँ धर्नाकारी वकीललाई भाइ–मसला बाँडिरहेकी भेटिइन्। उनलाई साथ दिइरहेकी थिइन्– अधिवक्ता लक्ष्मी पोखरेलले।

सविताका पिताजी वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी लौरो टेकेर सडकको बारमा अडेस लागेर उभिइरहेका थिए। कसैले फोटो खिच्न लाग्नेबित्तिकै उनी मास्क खोलिदिन्थे। उनको तस्विर खिच्न लाग्नेबित्तिकै अरु वकीलहरु पनि पंक्तिबद्ध भइहाल्थे।

अदालतको मूलद्वारमा कालो ब्यानरसहित नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ पलेटी कसेर बसेका थिए। उनीसँग घुँडा जोडेर बसेका थिए– वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की। उनी लगातार तीन वटा प्रधानमन्त्रीका महान्यायाधिवक्ता भइसकेका कानून व्यवसायी हुन्। उनी बेला–बेलामा मुन्टो घुमाउँदै भन्थे, ‘यसरी पनि सर्वोच्च अदालत चलाइन्छ ?’

एक जना कानून व्यवसायी चाहिँ कार्कीका ठीक पछाडि खडा भएका थिए– हातमा शङ्ख बोकेर। उनी बेला–बेलामा मुखमा शङ्ख लगेर फुकौँलाझैँ गर्थे, फेरि बजाउँदैनथे। उनले पौने १ बजे मात्र शङ्ख बजाउने एक कानून व्यवसायीले जानकारी दिए। 

कानून व्यवसायीहरु मूलद्वारमा धर्ना बसिरहेका थिए– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालतमा प्रवेश गर्नबाट रोक्न। वकीलहरु आ–आफ्नै हिसाबले धर्ना गरिरहेका बेला प्रधानन्यायाधीश राणा चाहिँ महान्यायाधिवक्ताको कार्यालयतर्फको अर्को द्वारबाट भित्र छिरे।

प्रधानन्यायाधीश अदालत प्रवेश गरेको थाहा पाएपछि वकीलहरु उठे र कराउँदै नारा लगाउन थाले, ‘...... राजीनामा दे, राजीनामा दे !’ कोही भने जाडोमा भीडभित्र बस्दाको न्यानोले होला– बसी–बसी हाइ काढिरहेका थिए।

प्रकाशित मिति: : 2021-11-12 12:35:00

प्रतिकृया दिनुहोस्