कहाँ छन् ८ हजार चिकित्सक ?

बाह्रखरी

काठमाडौँ

कोभिड १९ का कारण विश्वव्यापी रुपमा स्वास्थ्य संकट आइपर्दा नेपालले पनि अस्पताल, पूर्वाधार र जनशक्ति अभावको अवस्था झोल्नु पर्यो। कतिपय अवस्थामा उपकरण अभाव त कहिले जनशक्ति अपुग हुँदा महामारी उच्च भएका बेला हजारौंले अकालमै ज्यान गुमाउनु पर्यो। तर, नेपालमा हाल कति चिकित्सक कहाँ र कुन अवस्थामा छन् भन्ने यकिन तथ्यांक कुनै निकायसँग छैन।

काउन्सिलसँग छैन दर्ता भएका सबै चिकित्सकको विवरण

चिकित्सा शिक्षा अध्ययन गरी यो पेशामा काम गर्ने चिकित्सकलाई अनुमति पत्र लाइसेन्स प्रदान गर्नेदेखि सम्पूर्ण पेशागत विवरण राख्ने दायित्व नेपाल मेडिकल काउन्सिलको हो। नेपाल मेडिकल काउन्सिलमा ०७८ सालसम्म २८ हजार ४७७ जना चिकित्सक दर्ता छन्। तर, ती सबै चिकित्सक कहाँ र कुन हैसियतमा छन् भन्ने काउन्सिलसँग यकिन विवरण छैन।

चिकित्सकहरुको पछिल्लो अवस्था र तथ्यांक पत्ता लगाउन काउन्सिलले आफ्नो कार्यकालको ५८ वर्षपछि ०७८ असार ३ गते दर्ता भएका चिकित्सकको विवरण अध्यावधिक गर्न विवरण माग गर्यो। पहिलो पटकको सूचनामा चिकित्सकहरुको अपेक्षाकृत विवरण नआएपछि काउन्सिलले सोही महिनाको २२ गते वेभसाइटमार्फत् विवरण पठाउन आग्रह गर्दै दोस्रो सूचना जारी गर्यो। तर, दोस्रो सूचनापछि पनि १८ हजार चिकित्सकले मात्रै विवरण उपलब्ध गराएपछि काउन्सिलले तेस्रो पटक कात्तिक २२ गते सोही विवरणको सूचना निकालेको छ। यो ४ महिनाको अवधिमा काउन्सिलमा २० हजार चिकित्सकले आफ्नो विवरण पठाएको काउन्सिलको तथ्यांकले देखाएको छ। 

प्रकाशित मिति: : 2021-11-12 11:34:00

प्रतिकृया दिनुहोस्