३५० वर्ष पुरानो नाच जसमा राजा स्वयं नाच्न आउँथे

सेतोपाटी

काठमाडौँ

विद्यामा दक्ष हरिवंश राजोपाध्याय र मन्त्रमा दक्ष विश्वनाथ राजोपाध्याय पाटनका राजा सिद्धिनरसिंह मल्लका गुरू थिए। सिद्धिनरसिंहका उनै दुई गुरूको 'कात्तिक नाच' सिर्जनामा प्रमुख भूमिका थियो भन्ने कथन 'नृपविनोद काव्य' मा पाइन्छ।

साढे तीन सय वर्षभन्दा पुरानो यो नाच बुधबारबाट पाटन, मंगलबजारको कात्तिक डबलीमा प्रदर्शन हुँदैछ।

राजा सिद्धिनरसिंहले नेपाल संवत् ७६१ मा कात्तिक नाच सुरू गरेका थिए। कृष्ण मन्दिरकै कात्तिक डबलीमा प्रत्येक दिन एक-एकवटा नयाँ लीला देखाउने गरी सातदिने कात्तिक नाच नचाउने परम्परा उनले बसालेका थिए। सुरदास, सुदामाका नृत्य नाटिका, वराह अवतार र नरसिंह अवतारका शास्त्रीय नृत्यहरू त्यही समयमा सिर्जना भएका हुन्।

दोस्रो चरणमा नेपाल संवत् ७८७ मा राजा सिद्धिनरसिंहका छोरा श्रीनिवास मल्लले यो नाचलाई सात दिनबाट दुई साताको बनाए। यसका लागि उनले बाथः प्याखँ (बाठा मान्छेका लोकनाटक) सिर्जना गरे। श्रीनिवास मल्लले स्वयं यले बाथः अर्थात् ललितपुरका बाठा मान्छे भएर अभिनय गरेको भनाइ छ।

प्रकाशित मिति: : 2021-11-11 10:26:00

प्रतिकृया दिनुहोस्