म तीन वर्षको लामो समयपछि स्वीडेनबाट नेपाल फर्कने चाँजो मिलाउँदै थिएँ। कोभिड-१९ ले कयौं परिवारका सदस्यहरूलाई चुँडेर लग्यो। टाढा विदेशको बसाइमा त कोरोनाले साह्रै पीडा दिँदो रहेछ। एकातिर आफ्ना आफन्तलाई नेपालमा केही होला भन्ने त्रास, अर्को आफैं बिरामी हुँदा कतै कसैसँग भेट नै नहोला भन्ने डर।
मेरो उमेरका साथीहरू, उनीहरूका आफन्तजनहरू, कति धेरैले यो संसारबाट बिदा लिए। मर्ने डर सबैलाई हुन्छ। कोही आफैं मर्न चाहे पनि त्यो डर भने उत्तिकै हुन्छ।
सामान्य मानिने रुघाखोकी पनि कोरोना नै हो कि, फ्याट्ट मरिने पो हो कि भन्ने डर मजस्तो पूर्ण स्वस्थ व्यक्तिलाई पनि हुँदो रहेछ भन्ने कोरोनाले थला पारिसकेपछि थाहा भयो। मर्नसम्म त ठिकै हुन्थ्यो तर मरेपछि पनि मुखसम्म हेर्न नपाइने गरी सधैंका लागि बिलाएरै जानुपर्ने! मरेपछि आमाबाबु नदेखुँला या त आमाबाबुले मलाई नदेख्लान् भन्ने पिर।
कोभिडले लाखौंलाई दुःख दियो र दिँदैछ। सास रहुन्जेल आश भनेझैं दु:खलाई सुखमा परिणत गर्दै छोटो बसाइका लागि म नेपाल आउने पक्का भयो। साना दुई छोरा र श्रीमती छोडेर म मातृभूमि फर्किएँ।
मेरो नेपाल बसाइमा एउटा अर्को ठूलो खुसी थपिँदै थियो। सानैदेखि मन र मस्तिष्कभित्र रहन सफल मह जोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) सँग मेरो पहिलो भेट स्वीडेनमा भएको थियो।