कुनै–कुनै बेला भावुक र मर्मस्पर्शी कुरा गर्न निकै सिपालु मानिन्छन्, कमरेड प्रचण्ड । केही दिनअघि उनले अत्यन्तै भावनात्मक कुरा बाँडचुँड गरे, जुन आत्महत्याजस्तो गम्भीर र संवेदनशील विषयमाथि थियो । उनले भने, ‘मैले कि त यत्ति नै रहेछ भनेर आफूले आफैँलाई सुसाइड गर्नुपर्यो । सबै सुसाइड नराम्रा मात्र हुँदैनन् है साथीहरू । मार्क्सका छोरी–ज्वाइँले सुसाइड गरेको कथा तपाईंहरूले पढ्नुभएकै होला ।’
कमरेड प्रचण्डको आत्महन्ता–विमर्श सुनेपछि जोकोहीको मनभित्र यस्तो प्रश्न स्वाभाविक रूपमा उब्जन्छ, ‘आखिर, प्रचण्डको आङमा किन आत्महत्यारूपी देउता चढिरहेको छ ? के कारण उनी आत्महत्याको कहालीलाग्दो सुरुङतिर उन्मुख हुँदै छन् ?’ निश्चय नै, यस्ता प्रश्नको अन्तस्करणमा पुग्नुअघि नक्सलबाडी विद्रोहका सूत्रधार कानु सान्यालको जीवन–कथा केलाउनु अति नै आवश्यक देखिन्छ । सन् ७० को दशकतिर सिंगो भारतभरि नै शक्तिशाली आँधीबेरी ल्याउने नक्सलबाडी सशस्त्र विद्रोहका नायक चारु मजुमदारपछिका दोस्रो बरीयताका नेता सन्यालले जीवनको आखिरी समयमा आत्महत्या रोजेको प्रसंगलाई यतिबेला सम्झिनु सान्दर्भिक होला ।
कानुले रोजेको त्यो बाटो
प्रचण्डले माक्र्सको छोरी–ज्वाइँले आत्महत्या गरेका इतिहास उप्काएर ‘सबै आत्महत्या नाजायज हुँदैनन्’ भन्ने अनौठो भाष्य पेस गरे । तर हामी शताब्दी अघिका माक्र्सका छोरी–ज्वाइँसम्मै पुग्नैपर्दैन । हाम्रै छिमेक अर्थात् पूर्वी तराईको झापासँगै जोडिएको पश्चिम बंगालका होनहार कम्युनिस्ट नेता कानु सन्यालले आत्महत्या गरेको प्रसंगमा टेकेर नै प्रचण्डको भाष्यको धरातल पहिल्याउन सक्छौं ।