रेलमा देउवा सरकारको झेल : न बजेट, न कर्मचारी

पहिलोपोष्ट

काठमाडौं

काठमाडौं : रेल विभागले कुर्था–जनकपुरधाम तथा भारतको जयनगरसम्म संचालनका लागि किनेको रेल सेट धनुषाको इनर्वामा त्यसै थन्काएर राखिएको छ। विभागले रेल नेपाल ल्याएको एक वर्ष बिते पनि यो संचालनमा कहिले आउँछ भन्ने अझै टुङ्गो लाग्न सकेको छैन। ६ वर्ष लामो प्रतीक्षापछि कुर्था–जनकपुरधाम – जयनगरसम्म रेल गुडाउन दुई सेट रेलको बगी तथा ४ सेट इन्जिन परिक्षणको लागि गत वर्षको असोज २ गते जनकपुरधाम ल्याइएको थियो।

थन्काएर राखेको वर्ष दिन बितेपनि जयनगर – जनकपुर रेलमार्ग संचालन अझै अन्योलमा छ। भारत सरकारले आर्थिक र प्राविधिक सहयोगमा रेलमार्ग निर्माण गरेर हस्तान्तरण गरे पनि नेपाली पक्षले तयारी नगर्दा संचालन अन्योलमा परेको हो।

रेल संचालनको जिम्मा पाएको नेपाल रेल्वे कम्पनीसँग कर्मचारी नै छैन। रेल संचालनका लागि भारतबाट २६ जना मुख्य प्राविधिक ल्याउने गरी सहमति भएको छ। रेल संचालनका लागि आवश्यक पर्ने १ सय २९ कर्मचारी नियुक्ति नै भएका छैनन्। केपी शर्मा ओली सरकारले नियुक्त गरेको कर्मचारीलाई हालको शेरबहादुर देउवा नेतृत्वको सरकारले हटाएको छ।

भारतबाट आउने प्राविधक बाहेक कम्पनीलाई १२९ जना कर्मचारी आवश्यक पर्ने रेल्वे कम्पनीका महाप्रबन्धक निरजंन झाले बताए। उनका अनुसार अहिले कम्पनीसँग ११ जना मात्रै कर्मचारी छन्। कर्मचारी कसरी भर्ना गर्ने भन्ने योजनासमेत छैन।

'म नियुक्ति भएर आउने वित्तिकै हाम्रो सचिवज्युसहित लोकसेवा आयोग गएँ। त्यहाँबाट भर्ना प्रक्रिया सुरु गर्न समय लाग्ने बुझियो', झाले भने, 'रेल ल्याउने बेलादेखि नै लोकसेवालाइ आग्रह गरिएको भए अहिलेसम्म कर्मचारी आइसक्थे।'

उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, रेल विभागसँग कर्मचारीको नियुक्तिको विषयमा छलफल चलिरहेको बताए। 'हामी निरन्तर छलफलमा नै छौ। तिहार र छठलगत्तै निर्णय गरेर भर्ना सुरु गर्छौ', झाले भने,' कर्मचारी नियुक्ती ठुलो विषय होइन।'

प्रकाशित मिति: : 2021-11-07 12:54:00

प्रतिकृया दिनुहोस्