दुरदराजको पुस्तकालय: जसले बसाल्दै छ पठन संस्कृति

Breaknlinks
Breaknlinks

‘तमसोमा जोतिर्गमय’ ठूलो भवनको मुख्य प्रवेशद्वारमा लेखिएको छ। यसको अर्थ झट्ट सबैलाई सम्झना नहुन सक्छ। संस्कृत भाषाको ज्ञान हुनेहरुका लागि भने शब्दको अर्थ ‘अँध्यारोबाट उज्यालोतिर’ हो भन्ने बुझ्न कठीन छैन।

प्रवेशद्वारमा यही अक्षरसँग साक्षात्कार गर्दै भित्र प्रवेश गर्दा मन शान्त भएको महसुस हुन्छ। कतै अत्तालिएको। कत्तै बरालिएको मन यसरी केन्द्रित हुन्छ साँच्चिकै अन्धकारबाट उज्यालोतिर प्रवेश गर्दा संसार देखिएजस्तो।

प्रवेशद्वारमा पुग्दा देखिन्छ ठूलो, सफा कोलिया (दुईतिर कोठाबीचको ठाउँ)। कोलियाको भित्ताभरि अनेकन कुराहरु लेखेर राखिएका पोष्टर, पम्पलेटहरु। अनि कोलियाको दाँयाबाँया अन्य कोठाहरु।

प्रवेशद्वारबाट भित्र प्रवेश गर्दा दाँयातिर सफा कोठा छ। कोठाभरि मिलाइएका छन् अनेकन पुस्तकहरु। जहाँ साहित्यदेखि ज्ञान गुणका कुरा लेखिएका पुस्तक छन्। नेपालीदेखि अंग्रेजी लेखकहरुले लेखेका पुस्तकहरु छन्। दृष्टिविहीनहरुले पढ्न सक्ने पुस्तक पनि छन्।

तपाईँलाई लाग्यो होला यो कुनै ठूलो सहरमा भएको पुस्तकालय। जहाँ धेरै मान्छेहरु बस्छन्। फुर्सद (काम नहुनेहरु) मा अध्ययन गर्न जानेहरु धेरै हुन्छन्। वा विद्यार्थीहरु धेरै हुने ठाउँमा बनाइएको पुस्तकालय।

तर, यो भन्दा निकै फरक ठाउँमा भएको एक पुस्तकालय हो यो। अथवा गाउँको पुस्तकालय। जसले युवाहरुमा पठन संस्कृति बसाल्ने कोशिस गरिरहेको छ।

दाङको सदरमुकाम घोराहीदेखि झण्डै ३० किलो मिटरको दुरीमा रहेकोे देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले युवाहरुलाई पठन संस्कृति र आयआर्जनमा जोड्ने काम गरिरहेको छ।

दाङ हुँदै बाँकेतिर गएको राप्ती नदीपारि गढवा गाउँपालिका वडा–६ गढवा बजारको सडकै छेउमा रहेको पुस्तकालयले पुस्तक पढ्ने मात्र होइन युवाहरुलाई प्राविधिक ज्ञान पनि बाँडिरहेको छ।

संगीत, खेलकुदमा युवाहरुलाई जोडिरहेको छ। बालबालिकाका लागि सिक्ने केन्द्र बनिरहेको छ। समुदाय स्तरबाट जिल्लामा नै ठूलो मानिने यो पुस्तकालयको अवलोकन गर्न जानको संख्या पछिल्लो समय बढ्दै गएको छ।

दाङ घोराहीदेखि २३ किलोमिटर दक्षिण पूर्व लमही बजार र लमहीदेखि दक्षिण राप्तीपारि करिब ७ किलो मिटर दुरी पार गरेर यो पुस्तकालयमा पुग्न सकिन्छ।

यसै पनि दाङ पर्यटकीय स्थल हो। लमहीमा रहेको जखेरा ताल आन्तरिक पर्यटकको मुख्य रोजाईको स्थल हो। यहाँ पुग्ने पर्यटकहरु पनि ७ कि.मिको दुरी पार गरेर अवलोकन गर्न पुस्तकालयसम्म पुग्ने गरेका छन्।

पुस्तकालय मात्र छैन, अन्य कक्ष पनि छ

देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा पुस्तकालय मात्र छैन। अन्य कक्षहरु पनि स्थापना गरेर युवा तथा बालबालिकालाई जोड्ने काम गरिरहेको केन्द्रका अध्यक्ष गिरिराज भट्टले जानकारी दिए।

उनका अनुसार २०७१ सालमा रिड नेपाल संस्थाको सहकार्यमा यस पुस्तकालय तथा स्रोत केन्द्रको स्थापना गरिएको हो। त्यसयता यस केन्द्रले विभिन्न संघसंस्थाको सहकार्यमा विपद् व्यवस्थानको पनि काम गरिरहेको उनको भनाइ छ।

गत वर्ष सन् २०२० मा पुस्तकालयमा अध्ययन तथा अवलोकन गर्न आउने संख्या ७ हजार बढी रहेको छ। पुस्तकालयका व्यवस्थापक मिना भट्टराईका अनुसार कोरोना महामारीका समयमा पनि ७ हजार ९ सय ९५ जना पुस्तकालयमा आएका छन्।

यदि कोरोना महामारी नभएको भए यो संख्या दोब्बर हुने गरेको उनले बताए। अहिले पुस्तकालयमा दैनिक करिब ५० जना अवलोकन गर्न आउने गरेका छन्।

पुस्तकालय कक्ष

पुस्तकालय कक्षमा सकेसम्म सबै पुस्तक उपलब्ध गराउने कोशिस गरिरहेको अध्यक्ष भट्टले बताए। उनले लोक सेवा आयोगका पुस्तकसम्म पुस्तकालयमा रहेको जानकारी दिए।

यसअघि विभिन्न संघसंस्थाको सहकार्यमा लोकसेवा आयोगका कक्षाहरु समेत सञ्चालन उनले बताए। जसबाट केही पास भएको पनि उनको भनाइ छ। दृष्टिबिहीनका लागि पनि पुस्तकालयमा पुस्तकहरु रहेका छन्। पुस्तक पढ्न मात्र दैनिक १५–२० जना आउने गरेका छन्। केही नियमित पढ्ने पाठकहरु पनि रहेका छन्।

बालबालिका कक्ष

पुस्तकालयसँगै यहाँ बालबालिकाका लागि पनि सिक्ने केन्द्र बनेको छ। ९ वर्ष मुनिका बालबालिकाका लागि यहाँ शैक्षिक सामग्री तथा खेलौनाहरु राखिएका छन्। विशेष गरेर बालबालिकाहरु शनिबार खेल्नका लागि आउने गरेका छन्।

आइटी कक्ष

आइटी कक्षमा निःशुल्क कम्प्युटर कोर्ष पढाई हुने गर्छ। विशेष गरेर बेशिक कोर्ष निःशुल्क रुपमा यहाँ पढाई हुने गरेको छ।

गाउँमा अति विपन्न विद्यार्थीहरु कम्प्युटर सम्बन्धी ज्ञानको अभावमा पछि नपरुन् भनेर यो कोर्षको पढाई गरिएको पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष भट्टले जानकारी दिए। यहाँबाट सिकेको विद्यार्थीहरु विभिन्न ठाउँमा रोजगारीमा समेत लागेका छन्।

आइटीसँगै सूचना तथा सञ्चार कक्ष पनि रहेको छ। यहाँ निःशुल्क रुपमा इमेल, इन्टरनेटको प्रयोग गर्न पाइन्छ।

युवा कक्ष

युवा कक्षमा संगीत तथा खेलकुदका सामग्री रहेका छन्। विभिन्न संघसंस्था तथा क्लवहरुले यहाँबाट खेलकुद तथा संगीतका सामग्री निःशुल्क लगेर (फिर्ता गर्ने गरी) प्रयोग गर्ने गर्छन्।

डिआरआर कक्ष

डिआरआर कक्ष (अपांगता, समावेशी, विपद् जोखिम न्यूनीकरण)मा आपांगता भएकाहरुका लागि पुस्तक पढ्ने व्यवस्था गरिएको छ। साथै गढवामा विपद् सम्बन्धी कुनै घटना भएमा यहाँबाट विपद् सम्बन्धी सामग्री लगेर प्रयोग गर्ने गरिन्छ।

प्रकाशित मिति: : 2021-11-07 14:01:00

प्रतिकृया दिनुहोस्