नेपालमा मनाइने चाडपर्वलाई लिएर देखिएको विक्रम संवत् र नेपाल संवत् पक्षधरबीचको विवाद निरुपण हुनसकेको छैन।
साल गणनाका लागि अनेक नामका संवत्हरू प्रयोगकर्ताको सुविधा वा आवश्यकताअनुसार प्रयोग हुँदै आएको पाइन्छ। नेपालमा सरकारीस्तरबाट प्रचलित ‘विक्रम संवत्’ र देशकै नामबाट नामकरण गरिएको ‘नेपाल संवत्’को प्रयोगलाई लिएर केही दशकदेखि विवादसँगै एक खालको राजनीति पनि हुँदै आएको छ। यस्तै, संवतको प्रकृति र नेपालको सांस्कृतिक जीवनलाई बुझनुभन्दा सतही रूपमा तर्क-वितर्क गर्नमा अभ्यस्त रहेको पनि देखिन्छ।
विक्रम संवतका पक्षधरहरू नेपालबाटै यसको शुरूआत भएको र आफ्ना चाडपर्व यस संवतमा आधारित हुने विचार राख्छन्। तर, दशैं-तिहारलगायत अधिकांश चाडपर्व गतेबाट नभई तिथिअनुसार चल्नेतर्फ ध्यान दिँदैनन्।
नेपाल संवतका पक्षधरहरू पनि चाडपर्व तिथिअनुसार पर्ने भएकाले नेपाली संस्कृति नेपाल संवतमा आधारित भएको मान्यता राख्छन्। जबकि, नेपाल संवत्लाई व्यवहारमा ल्याउन र सरकारी मान्यता दिलाउन लामो समयदेखि आन्दोलनरत नेवारमा तिथि र गते दुवैमा आधारित चाडपर्वहरू प्रचलित छन्।
यसलाई विक्रम संवत् र नेपाल संवतमा आधारित नभनी चान्द्र र सौर्य मानमा आधारित भन्दा अझ् स्पष्ट हुन्छ। ‘संक्रान्ति’हरू गते वा सौर्य मानमा आधारित छन् र ती विभिन्न नामका ‘सँल्हू’का रूपमा प्रचलनमा छन्।