फकाउने र अल्झाउने रणनीतिमा जबरा

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले संवादका नाममा आफूहरूबीच फाटो ल्याउने र तत्कालको संकट टार्ने रणनीति अपनाएको निष्कर्षमा संघर्षरत न्यायाधीशहरू पुगेका छन् । मार्गप्रशस्त नगरे तिहारलगत्तै ‘कठोर’ निर्णय लिने उनीहरूको तयारी छ । उता आन्दोलनरत नेपाल बार एसोसिएसनले पनि प्रधानन्यायाधीश जबरासँग सम्झौता नगर्न न्यायाधीशहरूलाई खबरदारी गरेको छ । 

आइतबार ‘सम्मानजनक बहिर्गमन’ चाहेको सन्देश पठाएका प्रधानन्यायाधीश जबराले सोमबार ‘संविधानबमोजिम मात्र आफू बिदा हुने’ अड्डी कसेपछि न्यायाधीशहरू झस्किएका छन् । संवाद गर्ने जिम्मा पाएका न्यायाधीशहरू सपना मल्ल प्रधान, अनिलकुमार सिन्हा र मनोजकुमार शर्मासँग सोमबार साँझ भएको कुराकानीमा जबराले ‘संविधानअनुसार नै जाउँ’ भन्दै राजीनामा नदिने बताएका थिए । तीन न्यायाधीशले उनको भनाइ मंगलबारको बैठकमा सुनाएपछि न्यायाधीशहरू जबराले अलमल्याउन मात्रै चाहेको निष्कर्षमा पुगेका छन् । 

प्रधानन्यायाधीश जबराको बहिर्गमन एक मात्र माग रहेको र त्यसमा पछि नहट्ने सहमति न्यायाधीशहरूको बैठकले गरेको छ । ‘उहाँ (जबरा) ले भनेको कुरा हामीलाई कुनै पनि हालतमा मान्य हुँदैन । उहाँले यथाशीघ्र मार्गप्रशस्त गर्नुपर्छ भन्ने हामीहरूको एक मात्र माग हो,’ एक न्यायाधीशले भने, ‘हामी भोलि (बुधबार) पनि छलफल गर्छौँ । निकासका लागि उहाँ तयार नभए तिहारपछि कठोर निर्णय पनि गर्न सक्छौँ ।’ 

प्रधानन्यायाधीशविरुद्ध अहिले सर्वोच्चभित्रै आन्दोलन गरिरहेको बारले पनि तिहारलगत्तै दोस्रो चरणको आन्दोलनको निर्णय गर्दै छ । त्यसले पनि न्यायालय सुधारका लागि न्यायाधीशहरूको संघर्षलाई बल पुग्ने अपेक्षा न्यायाधीशहरूको छ । ‘यस्तै अवस्था रह्यो भने तिहारपछि उच्च र जिल्ला अदालतका न्यायाधीशहरू पनि स्वस्फुर्त रूपमा संघर्षमा उत्रिन सक्नुहुन्छ,’ ती न्यायाधीशले भने, ‘त्यतिखेर उहाँ (जबरा)लाई थप अप्ठ्यारो हुन्छ । हामीले त अहिलेसम्म उहाँले सहज ढंगले निकास दिऊन् भन्ने चाहेका हौँ ।’

प्रकाशित मिति: : 2021-11-03 07:24:00

प्रतिकृया दिनुहोस्