जीवनमा लगभग ८५ प्रतिशत समय अरुलाई चिन्न र जान्न खोज्दैमा बित्छ। किनकि, आजसम्म अरू यस्तो हुनुपर्थ्यो, त्यस्तो हुनुपर्थ्यो, त्यस्तो नहुनु पर्थ्यो भन्दैमा आफू के हो र कसरी जान्ने आफूलाई मेसो पाएको छैन मानिसले।
विपनामा त के सपनामा पनि व्यक्तिले अरूलाई नै धेरै भूमिकामा देख्छ आफूलाई कमै देख्छ। धेरैलाई लाग्छ जीवनमा सपना देख्ने र त्यसलाई पूरा गर्न लागिपर्ने पुरुषार्थ व्यक्ति नै आफू हो। संसारमा केहि प्रतिशत सन्तहरू भेटिन्छन् जसले सपनालाई होइन जागरणलाई बुझेका हुन्छन्। उनीहरु भन्छन् एउटा जागृत चेतना नै आफू हो।
सपना र जागृतीको पहिचान
मनोविदहरू भन्छन् जस्तो मानिस छ उस्तै सपना देख्छ। योगीहरू भन्छन् अतृप्त कामना सपना बनेर आउँछन् त्यसैले कामना या सपनाको पछाडी दौडने होइन बरू त्यसलाई साक्षीपूर्वक निरीक्षण गर्ने र त्यसबाट मुक्ति हुने उपाय खोज्नुपर्दछ।
सपना देख्नै छाड्ने ? कुरा सुन्दापनि आश्चर्य लाग्न सक्छ। आफैंले कसरी सपना देखौं र नदेखौं भनेर रोज्ने अर्थात सपनामाथि नियन्त्रण गर्न सकिन्छ ? भन्ने लाग्नु स्वाभाविक हो। कतिपय दार्शनिक, विद्वान र नेताहरुले भन्ने गर्दछन्– सपना देखे पो पूरा हुन्छ अर्थात सपना पूरा हुन सपना देख्नुपर्छ भन्ने उनीहरुको धारणा रहेको हुन्छ। तर सपनामा हामी के देख्छौं?
सपनामा आफू बाहेक सबैलाई, सबै कुरालाई देख्छौं। साथीभाई, आफन्त, श्रीमान, श्रीमती सबै हुन्छन्। कसैको बढुवा हुन्छ, कसैले ठूलो बंगला बनाइसकेको हुन्छ, कसैको केहि भइरहेको हुन्छ आदि आदि कुरा सपनामा देखिन्छ। तर आफू देखिदैन। अरुलाई नै केहि भैरहेको, अरुले नै केहि गरिरहेको यस्तै। जे कुरा विपनामा होस् भन्ने हाम्रो चाहना थिए ति पनि सपनामै देखिन्छ। जे नहोस् भन्ने हो त्यो पनि सपनामै।