यमपञ्चक सुरु भइसकेको थियो । अन्तजस्तै कानेपोखरी-४ (साविक बयरवन-६) मा पनि तिहारको माहोल थियो । किनमेलका लागि भन्दै २४ वर्षीय सुनिल धिमाल दोहमना बजार गएका थिए ।
बजारबाट फर्किंदै गर्दा बाटोमा नेपाली सेनाको टोलीले उनलाई नियन्त्रणमा लिएर बेपत्ता बनायो । कारण उनी माओवादी आन्दोलनमा लागेका थिए र सुरक्षाकर्मीको ‘हिटलिस्ट’मा थिए ।
घरमा तिहारको माहोल बिथोलियो । रुवाबासी चल्यो । सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेका बेला सेनाले बेपत्ता बनाएको छोरो खोजीका लागि बुबा रामबहादुरले हारगुहार गरे । एक सातापछि जसोतसो जिल्ला प्रशासन कार्यालय मोरङमा आएर सोधीखोजी गर्दा पत्ता लागेन । सास नभए छोराको लास देऊ भन्दै रोइकराई गर्दा उनको कुरा सुन्ने कोही भएनन् । त्यसपछि छोरो खोज्दै राज्यका निकाय धाएनन् । तर आउँछ कि भन्ने आशमा १९ वर्ष बिताए ।
७५ वर्षीय रामबहादुरले अब भने छोरा आउने आश मार्दै काजकिरिया गरेका छन् । छोरो बेपत्ता भएको १९ वर्षपछि कात्तिक ६ गतेबाट उनले काजकिरिया सुरु गरेका हुन् । ‘बाँचेको भए त अहिलेसम्म घर आइहाल्थ्यो नि,’ भक्कानिदै रामबहादुरले भने, ‘अब त फर्किन्छ भन्ने आशै मर्यो।’