खेतमा धान डुब्दा झस्काउने त्यो ०२९ सालको भोकमरी

दशैंपछि खेतभरीका धान काटियो। काटिएको धान सुक्ला भनेर उठाइएन। खेतका गरामै राखियो। कात्तिक १–२ गते काटिएको धान ५–६ गतेतिर मिर्न (झार्न) ठिक्क भएको थियो। किसानले धान मिर्नका लागि योजना पनि बनाइसकेका थिए।

तर कात्तिक ५ गते रातिदेखि तीन दिनसम्म परेको अविरल वर्षाले धान खेतमै यसरी डुबायो कि न उठान मन लाग्यो न त्यतिकै छोड्न। खेतमै धान उम्रिएको छ। पराल कुहिएको छ।

‘हेर्नुहोस् त खेतमै यसरी उम्रिएको छ, अब यो काम नै लाग्दैन,’ जमरा जस्तै उम्रिएका धानका बाला देखाउँदै दाङ बबई गाउँपालिका–३ की किसान फुलमती चौधरीले भनिन्।

चिसो धान मिर्न लागेकी चौधरीले अहिले पानी राम्रैसँग परेको र धानको उत्पादन पढ्ने आशा गरेकोमा कुबेला (बेमौसम) मा परेको पानीले धान सखाप पारेको बताइन्।

यस्तै अर्का किसान ६० वर्षीय केशर डाँगीले धान खेतमै पानीले डुबाउँदा वि.स. ०२९ सालमा परेको भोकमरीको सम्झना गरेका छन्। ०२९ सालको भोकमरीमा मसुरोको रोटी खाएका डाँगीले फेरि त्यस्तै अवस्था आउने हो कि भनेर चिन्ता व्यक्त गरे।

‘०२९ सालमा हिउँद–वर्षा खडेरी पर्‍यो (पानी नपरेको)। न खेतमा धान भयो, न गहुँ,’ उनले भने, ‘मसुरोको रोटी बनाएर खाइयो। यसपटक खेतभरी डुबेको धान देख्दा उसबेला जस्तै त हुने होइन भन्ने चिन्ता लाग्यो।’

दुई विगाहा खेतका मालिक डाँगीले आफूले धान खेती गर्दैनन्। अधियाँ दिएका छन्। अधियाँबाट आएको धानले खान पुगिरहेको छ।

यस वर्षको बेमौसमी वर्षाले धान डुबाएपछि उनी पनि चिन्तामा छन्। राति ८ बजेतिर धान मिर्ने ठाउँमै रहेका उनले भिजेको धानको गुणस्तर घटेको बताए।

डाँगीले भने, ‘धान त मिरियो। के गर्ने अब फेरि घाम नलाग्ने हो भने जहाँ राख्यो त्यहीँ उम्रन्छ। सुकेपनि चामल राम्रो हुँदैन। टुक्रा पर्छ। बास्ना नै अर्कै हुन्छ।’

नसुकेको धान मिर्दै किसान
फेरि पानी पर्ने हो कि भन्ने चिन्ताले किसानले चिसैमा धान मिर्दै छन्। पानीले भिजेको धान राम्रोसँग सुकेको छैन। तर अब जस्तो भएपनि मिरेर राखेपछि केही त काम लाग्ला भनेर चिसैमा धान मिरेको किसन फुलमती चौधरीले बताइन्।

चिसो धान मिर्दा थ्रेसरमा धरै समय लागेको समेत उनले बताइन्। ‘एक घण्टामा मिरेर सकिने धान चिसो भएको हुँदा डेढ घण्टासम्म लाग्छ,’ उनले भनिन्। अब चिसो धानलाई नसुकाएमा फेरि मिरेको भएपनि उम्रने चौधरीले बताइन्।

प्रकाशित मिति: : 2021-10-25 21:01:00

प्रतिकृया दिनुहोस्