संसारमा अर्काे त्यस्तो धर्म सायदै होला, जसले आफ्नै अनुयायीलाई ‘अछूत’को दर्जामा राखेर हदैसम्मको हेला गर्छ! विश्वमा त्यस्ता ‘देउता’ दुर्लभै होलान्, जसलाई आफ्नै भक्तले छुन मिल्दैन। छोए वा छुन खोजे उसको हत्यै गरिन्छ!
तर हिन्दू धर्म एउटा त्यस्तो ‘धर्म’ हो, जसले माथि उल्लिखित ‘विशेषता’ बोकेको छ। अर्थात् यसका एकथरी अनुयायी जन्मनासाथ ‘अछूत’ हुन्छन्, घृणा, अवहेलना र हिंसाका भागीदार हुन्छन्। अनि हिन्दू देवी–देवता यो दुनियाँका त्यस्ता अभूतपूर्व ‘भगवान्’ हुन्, जसलाई एकथरी भक्तले पुज्न/ढोग्न त परै जाओस्, छुनसमेत मिल्दैन। तर पनि कसैले पुज्न/ढोग्न पाउनुपर्छ भनेर जबर्जस्ती गर्न खाेज्छ, उसले ज्यानै गुमाउनुपर्ने हुन्छ।
भर्खरै चितवनको भरतपुरमा भएको दलितको हत्याले यसलाई पुनः पुष्टि गरेको छ।
हिन्दू धर्मको अलिकता मात्र पनि आलोचना भयो भने हामीमध्ये कतिपयको चित्त कम्ता चहर्याउँदैन! आलोचना गर्नेलाई हामी अधर्मी, पापी, डलरे, क्रिश्चियनको एजेन्ट के के हो के के, आरोपको ओइरो लगाइहाल्छौं। तर त्यही धर्मका नाममा मानिसको हत्या नै हुँदा भने हाम्रो त्यो ‘धर्माती’ मन पटक्कै दुख्दैन!