प्रबिता श्रेष्ठ
प्राचीन कालमा दिदी-बहिनी सँगसँगै गर्भवती भए। दिदी नास्तिक थिइन्, बहिनी। सृष्टि भगवानकै कारण चलेको तर्क बहिनीको हुन्थ्यो, दिदी त्यसलाई मान्दैनथिन्। ‘सन्तान हामी जन्माउने, दुःख, पीडा हामी सहने, श्रेय भगवानलाई ?’ दिदीको तर्क हुन्थ्यो।
दुवै दिदीबहिनी प्रसुती पीडामा छट्पटिए। आस्तिक बहिनीले सहजै बच्चा जन्माइन्। नास्तिक दिदीले भने १२ वर्षसम्म वेदनामा छट्पटिनुपर्यो। उनको परिवारले भगवान नारायणको आराधना गरे। तैपनि, नारायण रुष्ट नै रहे। नारायणलाई फकाउन उनीहरूले कतै नभएको खट (रथ) र मैनको फूलसहित जात्रा निकाले। बल्ल नारायण प्रसन्न भई दिदीलाई प्रसव वेदनाबाट छुट्कारा दिए। यद्यपि, बालक उल्टो जन्मिए।
यो मिथक हो, हाँडीगाउँको ‘कहीँ नभएको जात्रा’को। हाँडीगाउँका ८१ वर्षीय रामप्रसाद कर्माचार्यको भनाइमा बच्चा उल्टो जन्मिएकै कारण जात्रामा खट उल्टो राख्ने प्रचलन सुरु भएको हो।
भगवान मान्ने-नमान्ने विषय आधुनिक युगमा व्यक्तिगत इच्छा र स्वतन्त्रताको कुरा हो। तर, प्राचीनकालमा यस्तो अवस्था थिएन। दैवी युगमा धार्मिक मूल्य मान्यताको अपहेलना गर्नुलाई अपराध मानिन्थ्यो।