मस्ती र मदिराको नशामा फसेको शहर

रुद्र खरेल

काठमाडौं
sketch: walldorado
sketch: walldorado

दालरोटी खाएको रात यो शहरलाई निद्रा लाग्दैन रे।

पिजा, मसरुम सुप, तन्दुरी मःम, विशेष डेजर्ट र कम्तिमा एक गिलास रक्सी चाहिन्छ यो शहरलाई।

उता बाजुराकोे कालुसिंह २७ वर्षमै बुढो भयो, कुपोषणले। भोकमरीले साप्पाटा भारतकोे कालापहाड पस्यो। साप्पाटामा कोदोको रोटी टोक्न नुन छैन, यता तारे होटलमा पानपाते उत्सव मनाइरहेछ शहर। 

शहर चार हजारको एउटा पानपाते टिकट किन्छ र तीन बोत्तल र मदिरा खान्छ। शहर दिल्लीका सुपर मोडलसँग झुम्दै डिनरको स्वाद चाखिरहेछ।

यता शहरले रोमान्सको शैलीमा पानपाते कविता लेख्छ, उता बम्बईबाट आँशुले लेखिएको चिठ्ठी आउँछ। त्यतिमात्र कहाँ हो र, मारिएका कुकुरहरुको चिर शान्तिको कामना गर्छन्, बैंककमा बौद्ध भिक्षूहरु।

हरेक दिन १५/२० जना मान्छे मर्नुसँग कुनै वास्ता छैन, निठूरी शहरलाई। तर, माधुरी दीक्षितले जोया अख्तरको चलचित्रमा माग गरेको महंगो पारिश्रमिकबारे बहर गर्छ, यो शहर। 

अभिनेता बेन एफ्लेकलाई सबैभन्दा कामुक पुरुष किन ठान्यो पीपुल म्यागाजिनले ? यसले शहरको टाउको दुखाएको छ। शहर हापुरेको असफल वार्ताप्रति त्यति चिन्तित छैन, जति ऊ दिया मिर्जासँग विवेक ओबरायको बोलचाल बन्द भएकोमा चिन्तित छ।

बरु शहरभरी समिता सेठ्ठीले उदय चोप्रालाई गरेको लामो चुम्बनको चर्चा छ। लस एन्जलसमा अभिनेत्री केटले छोरो पाएकोमा पनि यो शहर दंग नै छ। रसियाली सुन्दरी स्भेत्लानाको बिहे र शिल्पा सेठ्ठीको मायाजालप्रति यो शहर आकर्षित छ।

महिमाको ठूलो छाती देखिने पोशाक, अमृताको लगनगाँठो, सुन्दरी रोस्साना मेडिसनको मुस्कान, डर्बी हुस्कीको गुणगाण र फ्रेन्च पोशाक हल्टर टपप्रतिको क्रेज यो शहरको तात्तातो विषय हुन्।

 थुक्क यो शहर। 

शहर विस्मित भएर जिब्रो टोक्छ, प्रीती जिन्टाको सात किलो तौल घट्यो रे। यहाँ पनि श्री पशुपतिनाथले प्रीती जिन्टाको तौल बढाइदिउँन् भन्दै यो शहर कामना गर्छ।

क्या मज्जा, जेनिफरले पनि पेट बोकिन् रे। बर्खे हाइडी क्लोमले ५३ वर्षे ब्रियाटोरको बच्चा पाउने रे। यो विषयमा पनि शहर जानकार नै छ। चुम्बन होस् त समिताको जस्तो, मुस्कान होस् त साला फाल्गूनी पाठकको जस्तो, हेयर स्टाइल होस् त कोलिन फरेलको जस्तो। अँ साच्ची डेटिङ्ग होस् त ह्याब्रेरीको जस्तो। अनि रोमान्स होस् त जोन र विपसाकोे जस्तो। सलमानकी नयाँ प्रेमिका कट्रीना पनि क्या च्वाँक। यस्तो विषयमा शहर छाती फुलाएर थपडी बजाउँछ।

राजा भूमिबलले खुन्थोगं नामक कुकुरको जन्मोत्सव मनाएकोमा शहर आभार व्यक्त गर्छ। सिंहलाई मासु खुवाउँने क्रिसमसप्रति पनि नतमस्तक छ। कसले टाउको दुखाओस् सप्पाटाको भोकमरीमा ? कसले टाउको दुखाओस् मुड्भरमा सडेको दुर्गन्धित लाशप्रति ? बरु भागे भागुन्, पान्डौन र रघुनाथपुरका सोझा गाउँलेहरु।

शहर बेसरोकार छ, रामकुमारीका थाप्लामा वर्सेमा लाठीप्रति। शहर बेसरोकार छ, शहरमै बुर्कुसी खेलिरहेका बुट र लात्तीप्रति।

शहरलाई कुर्न सरोकार छैन, राजीवको कार किन्ने सपनासँग। बरु शहर मेलम्चीको संग्लो पानी फिल्टरमा हाल्ने सपना देख्छ, जसको ऋण लोमन्थागं र याम्फुदिनले बोक्छ। साँच्चीकै क्या चम्कन्छन् होला, मेलम्चीको पानीले मार्बल टाँसिएका बाथरुमहरु। उता फोहोर पानी पिएर हैजा र जुकाले वर्षेनी मर्छन्, घाँटीमा गाँड हुने गाउँलेहरु। शहर चिप्लो सडकमा पजेरो हुइँक्याउँछ, विदेशी ऋण चाहिँ जोगबुढा र दिक्तेलले तिर्छ।

शहरलाई केही भएको छैन। अहँ, असत्तीलाई ठाँगाले छोएको छैन।

उत्तिकै ब्याण्ड बाजाहरु बजेका छन्, उत्तिकै मुस्कुराएका छन् धिपधिपे बल्बहरु। झन् बाक्लिदै छन् सुहागरातहरु। झन् रित्तिदैछन् कोकाकोलाका बोत्तलहरु। विदेशी रक्सीको बजार झन् मौलाउँदैछ। झन् उरुगं लागेको माछा, मासु, मटन, फ्राइड राइस र पुलाउको। 

रमपम चाउचाउ खाएर थवागंका कौरवहरुलाई कुरुक्षेत्रमा सोत्तरस्याम पार्ने सपना बाँडिरहेछ, शहर। यहाँसम्म कि, कालो चस्मा र जंगी टोपी लगाएर सिमीकोट र चौरजहारीमा फूलमाला थाप्दैछ शहर।

शहर फूर्तीसहित भन्छ, म गरिबको आँखामा आँशु कहाँ देख्न सक्छु र ?

साँच्चै, अभिनन्दन खान शहर पसेको छ शहर। 

अनिकाल र शीतलहरको क्रस फायरिगंमा मरिरहेका छन् सयौँ अभागीहरु। तर शहर चम्पादेवी र फूल्चोकीमा हिउँ पर्दा दंग पर्छ।

शहर भन्छ, हिमालमा हिँउ पर्नु भगवानको कृपा हो। कठै नी...।

शहर चिकेन र स्कच हुस्की खाएर घाममा शरीर तन्काउँदै क्लोजअप मुस्कान बाँडिरहेको छ। 

थुक्क असत्ती शहर।

प्रकाशित मिति: : 2021-10-18 21:27:00

प्रतिकृया दिनुहोस्