वंगलादेशमा दुर्गा पूजामा हिन्दूमाथि हमलाः धार्मिक हिंसा भड्किन नदिन सुरक्षाकर्मी हाइ अलर्टमा

Photo: AFP
Photo: AFP

वंगलादेशमा हिन्दू मन्दिरमा दुर्गा पुजाको क्रममा भएका आक्रमणका दोषीलाई कडा कारबाही गर्ने सरकारले जनाएको छ। मुस्लिमहरुको बाहुल्यता रहेको वंगलदेशमा अल्पसंख्यक हिन्दूमाथि भइरहेको थिचोमिचोबारे सरकार मौन बसेको आरोप लागिरहेका बेला सरकारले हिन्दूको आस्थामाथि भएका हमला संलग्न व्यक्तिलाई कारबाही गर्ने चेतावनी दिएको हो।

सरकारले सबै देशबासी र धर्मालम्बीलाई संयमित हुन आग्रह गरेको छ।

यसै साता दुर्गा पुजाका क्रममा मुस्लिमहरुले हिन्दू मन्दिरमा तोडफोड गरेपछि भएको हिंसामा चार जनाको मृत्यु भएको थियो। हिंसा भड्किन नदिन प्रधानमन्त्री शेख हसिना वाजेदले तत्कालै २२ जिल्लामा अर्धसैन्य बल तैनाथ गर्न निर्देशन दिएकी थिइन्।

धार्मिक र साम्प्रादायिक दंगा फैलिन सक्ने आशंकमा सरकारले देशभरको सुरक्षा अवस्था कडा बनाएको छ। ‘कोमिलामा भएको घटनाको बृहत रुपमा अनुसन्धान भइरहेको छ। जुनसुकै धर्ममा आस्था राख्ने भए पनि घटनाका दोषी उम्कन पाउने छैनन्। दोषीलाई कडा कारबाही हुनेछ,’ ढाकस्थित दक्षेश्वरी हिन्दू मन्दिरमा हिन्दूहरुलाई  शुभकामना दिने क्रममा प्रधानमन्त्री हसिनाले भनिन्।

यसैबीच, दुर्गा पूजा मनाउने क्रममा हिन्दूमाथि भएको आक्रमणको भारतले निन्दा गर्दै दोषीलाई कडा कारबाही गर्न वंगलादेश सरकारसँग माग गरेको छ।

प्रकाशित मिति: : 2021-10-16 15:32:00

प्रतिकृया दिनुहोस्