देखिएन सन्थाल नृत्यकाे राैनक, युवा विदेश पलायन हुँदा लाेप हुने खतरा

पूर्वी नेपालको झापा, मोरङ र सुनसरीमा बसोबास गर्दै आएका अल्पसंख्यक सन्थाल जातिको पुर्खाैली पम्परागत सन्थाल नृत्य लोप हुने अवस्थामा पुगकाे छ। दसैँका बेला देखाईने पम्परागत आदिवासी सन्थाल नृत्य यसपटक देख्न पाइएकाे छैन। 

धेरैजसाे युवा रोजगारीका लागि विदेशीमा भएकाले दसैँका बेला देखाईने पम्परागत आदिवासी सन्थाल नृत्य लोप हुँदै गएको छ। युवा गाँउबाट पलायन हुनु र नयाँ पुस्ताले परम्परागत नृत्यमा चासो नदेखाउनाले सन्थाल नृत्य लोप हुन लागेको हो। दसैँले छपक्कै छोपे पनि यस वर्ष पूर्वी तराईका आदिवासी सन्थाल बस्तीहरुमा सन्थाल नाचका बाजागाजा सन्थाल बस्तीहरुमा बजेका छैनन्।

विगतमा दसैँका बेलामा सन्थाल समुदायका मानिसहरु मूरली, झ्याम्टा लगायतका बाजागाजा बोकेर नाच्दै गाउँदै शहर तथा गाउँ पस्न थाल्थे। दसैँमा नै बिभिन्न ठाउँमा उनीहरूकाे मेला लाग्ने गर्थ्याे। तर, न त यसपटक मेला लागेको छ, न त सन्थाल नृत्य नै देखिएको छ।

दसैँमा आयोजित हुने मेलाको प्रमुख आकर्षण नै सन्थाल नृत्य हो। सन्थाल नाच नभएको दसैँ मेलामा कुनै रौनक हुँदैन भन्ने धेरै छन्। मेला बजार भर्ने, मन परेका परिकारहरु किनेर खाने, खेल्ने र सन्थाल नृत्य हेर्दा निक्कै रमाईलो हुन्थियो, साथी भाईसँग पनि भेट हुन्थियो, मोरङ उर्लाबारी—९ का राजकुमार योञ्जन भन्छन्,– अहिले त मेला पनि लागेन,सन्थाल नृत्य पनि देख्न सकिएन्।

उर्लाबारीकै दुर्गापुरी,आम्बारी र माहाराजस्थानमा हरेक वर्ष सन्थालहरु आएर नाँच्ने गर्थे। तर, यसपाली सन्थालहरु आएनन्। कारण के हो त ? नआउनुको भन्ने जिज्ञाषामा योञ्जनले भने, 'टिम–टिम बनाएर आएका सन्थालहरु नाँचेपछि पुरस्कार पनि दिनुपर्छ। यसपालि कोरोना कहर त सेलाएको हो। तर, कार्यक्रम गर्न चासो कसैले देखाएन्।  विगतमा पुरस्कार थोर भएर सायद मन दुखाएका हुन सक्छन्।'

नेपाल सन्थाल आदिवासी उत्थान संघका सचिव बुद्धिलाल सोरेनका अनुसार युवा पुस्ता विदेश पलायन हुँदा सन्थाल नृत्य लोपउन्मुख अवस्थामा पुगेको छ। ज्याला मजदुरी गरेर जिविकोपार्जन गरिहेका सन्थालहरु एकछाक काटेर संस्कृति संरक्षणमा जुट्न हम्मे परेको उनको भनाई छ। दिनभरी नाच्दाभन्दा कसैको खेतीपातीको काममा वा मजदुरी गर्न गयो भने घरको छाक टर्छ भन्ने सोचले पनि दशैंमा नाँचिने सन्थाल नृत्य लोप हुन पुगेको हो। राज्यले पनि सन्थाल जातिको कलासंस्कृति संरक्षण खासै चासो नदेखाएको संन्थाल अगुवाहरु बताउछन्।

धिमाल, राजवंशी, ताजपुरिया जस्तै सन्थाल जाति पनि फरक भेष र फरक संस्कृतिका कारण चिनिन सक्ने जाति मानिन्छ। तर, सधैं अर्काको घर खेतीमा कृषिजन्य काम गरेर जीविकोपार्जन गर्दै आएका अति लोपोन्मुख अवस्थामा पुगेको सन्थाल जाति पहिचान र संस्कृति जोगाउन एक छाक खाएर बाँचिरहेको बताउँछन।

सन्थाल अगुवा दसैँको बेलामा नाचिने नृत्य भएकाले नै यो नाचको नाम दासाई भएको बताउँछन्। तर, दसैँ र दासाई नाच बीचको सम्बन्धका बारेमा कुनै जानकारी नभएको नेपाल सन्थाल आदिवासी उत्थान संघका सचिव बुद्धिलाल सोरेनको भनाइ छ। दसैँ र तिहारको समयमा गाउँ–गाउँमा लाग्ने मेलामा सन्थाल युवाको दासाई नाच प्रमुख आकर्षण हुने गरेको छ।

उनीहरूको यो नृत्य प्रचलन दसैँको मूल टीकाको दिनसम्म जारी रहन्छ। जब दसैंको एकादशी सुरु हुन्छ, त्यस दिनदेखि पूर्णिमासम्म भव्यरूपमा सामूहिक तवरले विभिन्न स्थानमा दसैँ मेलामा उनीहरूले परम्परागत नृत्य प्रस्तुत गर्दछन्।

मोरङ उर्लाबारी– ८ स्थानीय गोरे हेमरनले दासाई नाचले सन्थाल जातिको जातीय एवम सांस्कृतिक पहिचान जोगाइराखेको बताउँछन्। उनले भने–'दासाई नृत्यमा लगाउने पोसाकमा समेत एकरुपता ल्याउन सकेका छैनौँ।' धिमाल, राजवंशी, ताजपुरिया जस्तै सन्थाल जाति पनि फरक भेष र फरक संस्कृतिका कारण चिनिन सक्ने जाति मानिन्छ।

कसरी नाँचिन्छ सन्थाल नृत्य ?

सन्थाल नृत्य आफ्नै जातीय भाषा, गाईजात्रे पहिरन, रङ्गीचङ्गी भावभङ्गीमा, रङ्गीन कमिज, पञ्ची, धोती जस्तो कपडा, शिरमा मयूरको प्वाँख र ऐना तथा झुम्काले बनाएको फेटा लगाई, जीउमा कल्ली बाँधेर बाजागाजाको साथ एउटै ताल, सुरमा सामूहिकरूपमा छुट्टाछुट्टै समूहमा प्रस्तुत गरिन्छ। यस नृत्यमा नाच्नेहरू सबै पुरुष सन्थाल हुन्छन, भने उनीहरूलाई आकर्षित गर्न जोस थप्न महिला पनि उत्तिकै सक्रिय हुन्छन्।

नृत्य मध्य अवस्थामा महिलाहरूले बेलाबेलामा भुजा फ्याँक्ने गर्दछन भने नाचिरहेका सन्थालहरू आफूलाई बहादुर सावित गर्न बिनाहात जमीनमाथि उडेका भुजा मुखैले खाने प्रयास गर्दछन्। तर, यसवर्ष दसैँमा मेला नलागेकाले यस खाले कुनै गतिविधि देख्न पाइएन।

दसैँमा देवीपीठमा नृत्य प्रस्तुत गर्न प्रत्येक सन्थाल गाउँबाट मूलीको नेतृत्वमा सन्थालहरू भंगी पहिरनमा अपरान्ह जम्मा भई लठ्ठी बजार्दै, ढोल ठोक्दै, बाँस माथिको मयूरको लिंगो बोकेर छुट्टाछुट्टै समूहमा मेलामा प्रवेश गरी भगवती पीठ परिक्रमा गर्दछन। अनि एक निश्चित ठाउँमा लिंगो गाडी त्यसैलाई केन्द्र मानेर आफ्नो नृत्यकला प्रदर्शन गर्दछन। विशेषतः उनीहरू बढी मात्रामा हात र खुट्टाको चाललाई प्रयोग गर्दछन। साथै केही समूहले गाइजात्राको प्रतिनिधित्व गर्दछन, भने कोही कालीको शक्ति आफूमा चडेको देखाउन कोर्रा, लठ्ठीको सहजरूपमा सामना गर्दछन।

मट्टितेल मुखमा हाली आगोको लप्का निकाल्ने, माटोमा टाउको गाड्ने, मान्छेमाथि मान्छे चढ्दै दुई, तीन तहको घेरा बनाई नृत्य गर्ने, सयौं कोर्रा सहने आदि यस जातिगत नृत्यका केही डरलाग्दा रोमाञ्चक, आश्चर्यजनक दृश्यहरू हुन। त्यस समयमा आफूहरूलाई कालीको शक्ति चढेको हुनाले खासै असर नहुने जेठा सन्थालले बताए। अरू जातिको भन्दा पृथक शैली, प्रस्तुती र आश्चर्यजनक दृश्य भएकोले नै यस नृत्य मनमोहक र मनोरञ्जनपूर्ण हुने गर्दछ।

खासगरी मोरङ जिल्लाको रङ्गेली, रामचौक, दोमना, आमतोला, लक्ष्मीपुर, कर्सिया, खोरकाटा, विसनपुर र लक्ष्मुनिया, राजघाट, होक्लाबारी, बयरवन, शनिश्चरे र केरौनमा सन्थालको बसोवास छ। त्यस्तै झापाको गरामुनी, सैनिकमोड, गौरीगञ्ज, टाघनडुब्बा, फुलवारी, महाभारा, लालपानी, शरणामती, झापाबजार, लखनपुरमा पनि सन्थालहरू उल्लेख्य बसोवास रहेको सन्थाल जातिका अगुवाहरू बताउँछन। झापा र मोरङका प्रायशः सबै गाउँहरूमा सन्थालहरूले आफ्नो मौलिक सांस्कृतिक नृत्यहरु प्रर्दशन गर्ने गरेका थिए।

झापा मोरङ र सुनसरीमा बसोबास गर्ने सन्थाल समुदायका मानिसहरुको संख्या करीब ५२ हजार रहेको बताइन्छ। 

खासमा सन्थाल जातिको मौलिक नृत्य संरक्षण गर्नुपर्ने प्रमुख दाहित्य उनीहरुकै हो, यद्यपि, विहान, बेलुका के खायाैँ र काहाँ मजुदुरी गरेर जिविकोपार्जन गरौं भन्ने चिन्तामा रहेका सन्थालहरुको संस्कृति जर्गेनामा राज्यले पनि उचित सहयोग र ध्यान दिन नसक्ने हो भने यो नृत्य एकादेशको कथा बन्ने निश्चित प्रायः छ।

प्रकाशित मिति: : 2021-10-16 22:25:00

प्रतिकृया दिनुहोस्