ती छुटेका दिनहरू

हेमन्त विवश

काठमाडौं
Breaknlinks
Breaknlinks

कुन्नि के छ त्यहाँ जहाँ दिनहुँ एक न एकपल्ट पुगिरहन्छ मन। पर्खिरहेझैं लाग्छ ती उकाली ओराली र चौतारीहरूले। उतै छन् जस्तो लाग्छ जीवनका बान्की मिलेका सुन्दर अक्षरहरू पनि। गाउँ–गाउँ मात्रै कहाँ थियो र। धेरै चिजको खानी थियो। जहाँ भेटिन्थे प्रश्न, उत्तर, माया, जीवन, वैभव जस्ता सारा कुराहरू। के भेटिदैनथ्यो र त्यहाँ ?

यतिखेर त्यही विगतको जिन्दगीका तिनै छाल सम्झेर बाँचिरहेको छ मन र समय। विगत त इतिहास बनिसकेकै थियो। गाउँ समेत एक इतिहास भैगएछ मेरा लागि। साक्षी छैनन् मसामु त्यो पलका कुनै मनहरू। सबै आआफ्नो व्यस्ततामा। सबै आआफ्नो कामको खोजिमा बसाइँ सारेर हिडिसके। को कता छन् को कता। नजिकमा छैन त्यो धर्ती। न त छ त्यो आकाश नै, चियाइरहँन्थ्यो जो बादलको घुम्टो आढेर मेरो बस्तीभरि। र, रचिरहन्थ्यो प्रेमको इतिहास। जुनेली रातमा निर्धक्कसँग पैतली मार्ने मनहरू पनि छैनन् यहाँ।

यो व्यस्त सहरमा बज्दैन जिन्दगीको मङ्गल धुन पनि। भेटिदैन निश्चल निश्कपट मायाको बिनेटो। यहाँ त वैभवका सपना उमार्छ मान्छे। फुर्तीफार्तीका मञ्च सजाउँछ मान्छे। अनि सानोमा गाउँघरतिर बालबालिकाले कतै प्वालबाट, झयलबाट, जङ्गलमा रुखको बीचबाट चियाएझैं चियाइरहन्छ राज्यको भडारमा। मौका खोजिरहन्छ घुस खाने उपायको। आफू मात्रै बन्दैन बेइमान बनाइदिन्छ समयलाई पनि बेइमानी।

जिन्दगीको, दसैंको, रमाइलोको सबैको आ–आफ्नै अर्थ होला तर मलाई खोजी गर्नु छैन कुनै अर्थको। खोजी गर्नु थियो गाउँबाट आउने बाडुलीको। मेरी आमाले पोत्ने त्यही सुन्दर घरको। म घर पुग्दा पहिले चाख्न दिइने न्वागीको। तर ती केही पनि छैनन् अब। बाडुलीको लय बिलायो आमासँगै। न्वागी बनाउने हात पनि बिलाए धुँवासँगै। धान फलाउने गराहरू सबै बाझै रहे। घर बिक्री भएपछि भत्किदै, एक्ला बनेर गए छन् अन्तै कतै ती निदाल पलेटा र धुरीबासा पनि। जसरी मेरा पाइला सरे पराइ सहरतिर उस्तै गरी सरे छन् ती पनि अर्कै गाउँतिर। यतिखेर सबै कुरा सम्झाउने याद छ अलिकति। अनि छ यो सम्झिने मन। आखिर मन छ र त बाँच्नुको पनि सार छ। रुनुको पनि अर्थ छ। जीन्दगी भन्नु जीउनलाई अपनाइने सोचहरूको भर्‍याङ न रहेछ। समग्रमा त्यो बाटो भविष्य निर्माणको बाटो हो जुन बाटोमा भेटिन्छन् जिन्दगीरुपि सोचका सिडीहरू, भर्‍याङहरू।

शुक्ल पक्षको समय होस् , पूर्ण चन्द्रको आवागमन होस्, एउटा फकिरले झै मस्ती गर्न पाइयोस्। त्यो मस्ती अवोध बालकको जस्तै होस्, निश्चल निस्कपट र निस्वार्थ होस्।  त्यो प्रकृति त्यो सुन्दरता त्यो आफ्नोपन सबैलाई हृदयमा बोकेर हिँड्न पाइयोस्। कसैसँग हात थाप्नु नपरोस्। स्वाभिमानी अनि कर्मठ बनेर प्रेमिल जिन्दगी बाँच्ने क्रममा नदुखोस् कहीं कतै मनको पाटो। त्यही नदुख्ने मन बोकेर हिँड्न पाए कति आनन्दको हुन्थ्यो जिन्दगी। सोचे जस्तो कहाँ हुन्छ र जिन्दगी। म जस्ताको मन पनि संवेदनाका छालहरू, भावनाका तरंगहरू, कल्पनाका लयहरू र विगतका सम्झनाहरूले तयार पारेको सोचाइले पोतिएको  क्यानभास जस्तै त रहेछ।

निकै शान्त शालिन र सम्य हुन्छन गाउँघरतिर यो समयमा हरेक साँझहरू। गर्मी कम हुँदै गइरहेको र जाडोले विस्तारै आफ्नो आगमनको तयारी गरिरहेको आभास पनि दिलाउँछ दसैंले। लाहुरेको आगमनको संकेत पनि दिलाउँछ र बिछ्याउन लगाउछ मनभरि आत्मीयता र प्रतीक्षाको कम्बल। केटाकटीहरूले नयाँ कुरा पाउने, मिठो खान पाउने र धेरै दिनसम्म मनाइने चाड हो दसैं। श्राद्ध पक्षमा पितृहरूको सम्झना, केटाकेटीले खान पाउने श्राद्धको भातको रौनक सकिएपछि सुरु भइहाल्छन् नवरात्रीका दिनहरू। एकाएक बदलिदिन्छ मौसम। शब्दमा व्यक्त गर्न निकै कठिन छ शरदीय यामको शोभा र सुन्दरतालाई। जसरी डोलीबाट ओर्लेर विस्तार बिस्तारै सिडी टेक्छन् नव दुलहीका पाइलाले उस्तै गरी भैरहेको हुन्छ शरदीय यामको पनि आगमन।

टन्टलापुर घाम लागिरहँदा खोलामा एकाएक बाढी उर्ले जस्तो। एक्कासी बादलुले धेरेर दिउँसै अँध्यारो भए जस्तो। गड्याङगुडुङ गरेर मेघ गर्जिदा एक्लै ढोका थुनेर घरभित्र काँपिरहेको बालक जस्तो।  कोठा उज्यालो पारिरहेको बिजुलीको चिम फ्यूज हुँदा रात आफैमा रोए जस्तो। बाँच्छीले आई गरेर बोलाउँदा बोलाउँदै कसैले बाहिरैबाट गाईलाई अन्तै लगिदिएजस्तो। कान्लाबाट तल घाँसको भारी बोकेर पाइला चाल्ने गोरेटोतिर दृष्टि पुर्‍याउँदै गर्दा पछाडीबाट कसैले धकेलेर लडाइदिए जस्तो। ३५ वर्ष पछि पुनः उम्रिएको छ छातीभरि पीडाको बन्सो। सोचिरहन्छु निधारसम्म पुगेर अक्षता लगाइदिने बाआमाका औँला। आमाले निकै मेहनत गरेर पकाएको भोजन। सरदीय याम सुरु नहुँदै आमाले पठाउने गरेको बाडुलीको लय। परालमा लपेटेर खाडलमा राखी तलबाट धानको भुस्सा जलाएर धुवाको सहायताले पाक्ने गरेको केरा। गाउँभरि कमेरो र राता माटाले छिपेर टलक्क टल्किरहेका घरहरू।  उकालोको टुप्पामा धानको भारी बिसाएर तमाखु सल्काइरहेका मनहरू।

बाटाभरी चियाइरहन्थे लाखौ ताराहरू। टिल्पिलाइरहेका हुन्थे एदाकदा जुनकीरीहरू। नाचिरहेका हुन्थे उकालोको टुप्पामा बटुवाको प्रतीक्षामा सधैभर दृष्टि बिछाइरहने बरपीपलका पातहरू। बिस्तारै छोएर जान्थ्यो सिरसिरे बतासले पनि। अतित जति प्रिय कहाँ हुन्थ्यो र वर्तमान। अतितको सम्झना नगरिकन मान्दैन मन पनि। त्यो त्यही अतित हो जसले चाहिने भन्दा बढी संवेदनशील बनायो। कतै रुवायो, कतै बीचबाटोमा जङ्गलको रुखझैं चुपचाप अडिन सिकायो। सरद ऋतुको आगमनसँगै पलाउन थाले यादका मुनाहरू। उब्जाइदिए तिनले छातीमा भक्कानो। बढाइरहे सम्झनाको जरो। यतिबेलासम्म आमाले पठाइसक्नु हुन्थ्यो बाडुली। बिज्ञानले छुट्टै ढंगले अथ्र्याउला बाडुलीलाई। धेरैले सजिलैसँग भनिदिन्छन् –ती रुढीवादी कुरा हुन्। कहिलेकाही केही कुराहरू यसरी आइदिन्छन् जसको तर्क गर्न मन लाग्दैन। सधै तर्कले मात्रै पनि चल्दो रहेनछ जिन्दगी। वर्षौ आइपुग्थ्यो यति बेला बाडुली। काटिसकेको हुन्थेँ घरजानलाई  गाडीको टिकट पनि। पूर्णभावमा रमाइरहन्थ्यो यो मन। आमा बा हुनुहुन्थ्यो र दसैंको महत्व थियो। खोजिदैन थियो बाडुलीको वैज्ञानिक कारण। मनले ठान्थ्यो, आमाले सम्झिन। विगतको यादले, संवेदनाका धर्साले र पुराना मूल्यमान्यताले सिकाउँदारहेछन् धेरै कुराहरू। पढाउँदा रहेछन् जिन्दगीको पाठ। दर्साउँदारहेछन् बेलाको महत्व। आज अँध्यारो रात ओढेर सम्झिरहेको छु– आमा अनि दसैं नआउँदै आमाले पठाउने गरेको बाडुलीको लय। दसैंको भोलिपल्ट पारि डाँडामा सुनिएका ढोलक, दमाहा र जुनेली रातमा चालिएको पैतलीको चाल। जो जिन्दगीका प्रतीक थिए।

स्नेह, ममता र आफ्नोपनको रैवार पनि हो बाडुली। मनमा संवेदना र भावुकता पैदा गराउने तरङ्ग पनि हो। आज विगत सम्झिदै एकान्तमा सोचिरहेछु –जिन्दगी त उतै छोडेर आइएछ जहाँ ठेस लागेर नङ नै उछिट्टिएको नाङ्गो खुट्टाले गृष्मको धुलौटे गोरेटोमा निशानी छोडेको थियो। वर्षातको समय जङ्गलमा बर्सादी ओढेर कानमा औंला घुसार्दै ठाडी भाका सुसेलेको थिएँ। अनि हिउँदमा बटन हराएको कमिजका दुबै पाटालाई दुई हातले च्याप्दै मूर्तिझैं उभिएर नीलो आकाश हेरेको थिएँ। सम्राटै सम्राटले भरिएको सहरमा त मैले केवल जिज्ञाशु पाइला मात्र बिछाएको हुँ।

प्रकाशित मिति: : 2021-10-16 22:31:00

प्रतिकृया दिनुहोस्