बर्सेनि आउने दशैं सधैं उस्तै हुँदैन। बाल्यकालको जस्तो दशैं जिम्मेवारी बढेपछि हुँदैन। तर भोगेको दशैंको याद भने उस्तै रहन्छ। धमिलो होला तर सधैं अर्थपूर्ण रहिरहन्छ।
काठमाडौं शहरको वाहिरी वृत्तमा बस्नेहरूको दशैं भोगाइ अलिक फरक हुन्थ्यो। दशैंको छेको उपत्यका छोडेर जाने सुविधा नपाएका र शहरको सुविधाबाट पर रहेकाहरूको दशैं भोगाइ केही भिन्न नै हुन्थ्यो।
काठमाडौंलाई प्रतिकात्मक रूपमा जोडिरहँदा, समस्याहरूसँग जोडिरहँदा कतै आफू हुर्केको काँठ हराएजस्तो लाग्छ। अवमूल्यन भएको हो कि जस्तो लाग्छ। यसका पृथक कुराहरू खोज्न मन लाग्छ। समानता र भिन्नतामा खेल्न मन लाग्छ। आफैंले भोगेको दशैं हिजो र आज, काँठको दशैं हिजो र आज, केही अक्षरहरूमा अभिव्यक्त गर्न मन लाग्छ।