बाह्रखरीको मेरो पाठशाला

हिमाल खबर

वसन्त थापा

धरानको सबैभन्दा पुरानो पब्लिक हाई स्कूलमा केटा मात्रै पढ्थे भने शारदा बालिका विद्यालयमा केटी। तर, हाम्रो स्कूलमा भने शुरूदेखि नै केटाकेटी दुवै पढ्थे। धरानमा यस्तो सह-शिक्षाको थालनी गर्नेमा अग्रणी थियो, हाम्रो श्री भगवती मिडिल स्कूल।

यसो त मैले धरान पब्लिक हाई स्कूलबाट एसएलसी परीक्षा दिएको हुँ, त्यहाँ नौ र दश कक्षा पढेपछि। तर, मेरो शुरूको स्कूल भने श्री भगवती मिडिल स्कूल थियो जो संवत् २०१० मा स्थापित भएर अहिलेको लक्ष्मी चोक नजिक दीनानाथ बास्तोलाको घरको भुइँतलामा सञ्चालित थियो। काठ र टीनको एउटा ससानो घर बनाएर त्यही लक्ष्मी चोकमा बस्न पुगेका थियौं हामी पनि। स्कूल खुलेको दोस्रो वर्षमा हुनुपर्छ, म मिडिल स्कूलमा भर्ना भएको।

शायद आमाले पुर्‍याउनुभयो जस्तो लाग्छ स्कूलमा भर्ना गर्नलाई, अरू मेरा दामलका केटाकेटीहरूका साथमा। बा त यस्तो अवसरमा कहिल्यै उपस्थित भएको याद छैन, एक त पेशाले र अर्को उहाँले समातेको राजनीतिको कारणले।

एउटी निरक्षर र अनपढ नारीलाई आफ्नो छोरालाई स्कूलमा भर्ना गराउन के कुराले अभिप्रेरित गर्‍यो होला, त्यो म भन्न सक्तिनँ। तर, म भर्ना भएँ एक कक्षामा। जस्तो स्कूल त्यस्तै विद्यार्थी वा भनौं, जस्तो विद्यार्थी त्यस्तै स्कूल।

प्रकाशित मिति: : 2021-10-13 22:22:00

प्रतिकृया दिनुहोस्