तिमी छेउ नगइरहन पनि सक्दिनँ, बसिरहन पनि सक्दिनँ। तिमीबाट टाढा हुँदा पनि पोल्छ मन। छेउ हुँदा त झन् ग्लानिले भतभती पोल्छ।
ढक्ढक् ढक्ढक्...।
यो आवाज कमजोर मुटुको कि,
आल्मुनियमको ढोकाको?
ढक्ढक् ढक्ढक्...।
बजिरहेको ढोका कि मेरो मन?
भर्खर रातको दुई बज्यो। को आयो यति राति? ढक्ढक् ढक्ढक् ...।
बजिरहेको ढोका नै हो।
रातको दुई बजे आउने मेरा मान्छे त कोही छैनन्। शिखरको मान्छे पनि रातमा आउँदैनन्। ती त झन् अघि फोन गरेर मात्रै आउँछन्।
ढक्ढक् ढक्ढक् ...।
भाडामा बस्ने नानीकी आमा पो हो कि? उनको लोग्ने विदेशतिर छ रे। राति नानीलाई बिसन्चो भएको वेला उनी त्यसरी नै ढोका बजाउँछिन्।
ढक्ढक् ढक्ढक्...।
‘को होला यति राति? ढोकामा को रहेछ हेर त शिखर।’
हत्तेरिका ! किन नउठेको यो शिखर? कानै खाने गरी ढोका बजेको सुनेको छैन?
‘उठ न शिखर। नानीको आमालाई आपत् पर्यो होला। जाऊ बाइकमा राखेर नानीलाई अस्पताल लैजान सहयोग गरिदेऊ।’
शिखर चालचुल गर्दैन। उसको रिस पनि हात्तीभन्दा ठूलो छ। सुत्ने वेलाको कुरा लिएर अझैसम्म रिसाइरहेको होला नि !
‘आएँ आएँ। ढोका कति बजाइराखेको? अहिले घरबेटी आमाले सुनिन् भने कराउँछिन्।’
घर्याक्क उघार्छु।